बन्दिपुर अस्पतालमा दन्त उपचार सेवा सुरु
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको बन्दिपुर गाउँपालिकाको बन्दिपुर अस्पतालमा दन्त उपचार सेवा सञ्चालनमा ल्याइएको छ । लामो समयदेखि बन्द रहेको दन्त चिकित्सा विभाग सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा कर्मचारी अभावमा करिव तीन वर्षदेखि बन्द भएको दन्त उपचार सेवा मंगलबारबाट पुनः सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । उनका अनुसार गाउँपालिकाले दन्त सहायक भर्ना गरेसंगै सेवा सञ्चालनमा ल्याइएको हो ।
गाउँपालिका अध्यक्ष थापाले दन्त चिकित्सा सेवाको मंगलबार एक कार्यक्रमका बचि शुभारम्भ गराएका थिए । निजी क्लिनिकमा गएर उपचार गराउँदा महंगो हुने भएकाले अस्पतालमै दाँतको सेवा सुरुआत अध्यक्ष थापाले बताए ।
दाँतको सफाइ, दाँत भर्ने, जरादेखिको उपचार, नक्कली दाँत हाल्ने तथा तार बान्ने र सबै किसिमका दन्त सम्बन्धी समस्याहरुको नयाँ प्रविधिबाट उपचार सेवा प्रदान गरिने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराइले बताए ।
२०२२ सालमा १५ शैय्या क्षमता सहित स्थापना भएको बन्दिपुर अस्पतालमा हाल २ जना डाक्टरले सेवा प्रवाह गरिरहेका छन् । अस्पतालमा यसअघि नै आँखाको उपचार सेवा समेत सुरु भइसकेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षेखि भिडियो एक्स-रे सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।










