व्यास नगर चौथो अल्ट्रा म्याराथन नेपाल आर्मीका महतराले जिते (फोटोफिचर सहित)
- भञ्ज्याङ समाचारदाता (दमौली)
जिल्लाको व्यास नगरपालिकाले शुक्रबार शहिद दिवसको अवसरमा आयोजना गरेको चौथो व्यास नगर अल्ट्रा म्याराथन-२०७७ को उपाधी नेपाल आर्मीका देवराज महतराले जितेका छन् । कालिकोटका महतराले व्यास-५ स्थित मानहुँकोटदेखि व्यास-८ स्थित शहिद गाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दुरी ३ घण्टा ३ मिनेट ५१ सेकेन्डमा पार गरी प्रथम भएका हुन् ।
‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको म्याराथनमा एक सय ८० जना धावकहरुको सहभागीता रहेको थियो । उक्त म्याराथनमा सोलुखुम्बुका सुमन कुलङ द्वितीया र नेपाल आर्मीमा आवद्ध रामेछापका बेदबहादुर सुनुवार तृतीया भएका छन् ।

कुलुङले ३ घण्टा ८ मिनेट १ सेकेन्ड र सुनुवारले ३ घण्टा १० मिनेट ५ सेकेन्डमा उक्त दुरी पार गरेका हुन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः ८५ हजार ७७, ६५ हजार ७७, ५५ हजार ७७ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । गत वर्ष म्याराथन कुलुङले जितेका थिए । उनले ४४ किमिदूरी २ घण्टा ५९ मिनेटमा पार गरेका थिए भने प्रतियोगितामा महतरा द्वितीय र भोजपुरका तीर्थ तामाङ तृतीय भएका थिए ।

तनहुँको व्यास नगरपालिकाले आयोजना गरेको व्यास नगर अल्ट्रा म्याराथनमा तृतीया भएका बेदबहादुर सुनुवार । तस्विर : भञ्ज्याङ
खेलकुदको माध्यमबाट पर्यटनको विकास गर्ने उद्देश्यका सहित नगरपालिकाले म्याराथनको आयोजना गरेको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । यस्तै, धावकले नियम पालना गरे नगरेको जाँच गर्नका लागि आठ ठाउँमा चेकविन्दु स्थापना गरिएको थियो । व्यास-४ ब्यास रेन्ज पोष्ट, व्यास-१० पिजनहिल खहरे, व्यास-७ पाथ्रा मन्दिर, व्यास-७ पातल सत्रसय, व्यास-८ रिस्ती सोतीबेशी, व्यास-८ सुनपोखरी, व्यास-८ गाडापानी र व्यास-८ पुलिमराङमा चेकविन्दु स्थापना गरिएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

मानहुँबाट सुरु हुने म्याराथन पुलिमराङसम्म ४४ किमी दूरीको रहनेछ । म्याराथन मानहुँकोट सिद्ध मार्ग हुँदै अलैचे-चापाघाट-अनसन चौतारी-सफासडक-भोर्लेटार चोक-बैरेनी-दुम्सी-कलेस्ती-पाथ्रा-सत्रसय-बानियाँ डिही-बर्लाची-सोतीवेशी-बगुवा रिस्ती-बाहुन पोखरा हुँदै पुलिमराङमा पुलिमराङमा पुगेर टुंगिएको छ ।










