चार्टर्ड उडानले पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ । आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो । यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन् ।

बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताउनुभयो । विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेका अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताउनुभयो ।

“आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौँ”, उहाँले भन्नुभयो, “यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ ।”

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण सुरुआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउनुहुन्छ ।

“चार्टर्ड उडानमार्फत अन्तराष्ट्रिय उडान हुनु आफैँमा महत्वपूर्ण छ”, उहाँले भन्नुभयो । नेपाल आउने चिनियाँँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रने गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । विशेषतः साहसिक पर्यटन चिनियाँँ पर्यटकको रोजाइ हुने उहाँले बताउनुभयो ।

“चिनियाँ पर्यटकको पोखराको मुख्य रोजाई प्याराग्लाइडिङ हो, उनीहरू छोटो दूरीको पदयात्राका लागि पनि उत्तिकै रुचि राख्छन्”, सुवेदीले भन्नुभयो । पोखरामा चिनियाँँ पर्यटकका लागि चाइनिज खाना खुवाउने होटेल तथा रेष्टुराँ पर्याप्त रहेको उल्लेख गर्दै उहाँले चिनियाँँ पर्यटकको आवश्यकताअनुसारका पर्यटक गाइड तथा सहयोगी पनि उपलब्ध रहेको बताउनुभयो ।

सन् २०१९ अघि पोखरामा ठूलै सङ्ख्यामा चिनियाँ पर्यटक आए पनि कोरोना महामारीलगायत कारणले पछिल्लो समय आगमन प्रभावित बनेको थियो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको पोखरा विमानस्थलको निर्माणको जिम्मा चिनियाँँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको थियो । चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बको लागतमा विमानस्थल निर्माण गरिएको हो ।

विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २०, बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिन्छ । धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन् । अन्तर्राष्ट्रिय उडानले विभिन्न देशका सहरसित पोखराको सीधा सम्पर्क हुनेछ । पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान पोखरामात्र नभई समग्र देशको पर्यटकीय विकासका लागि कोसेढुङ्गा सावित हुने पर्यटन व्यवसायी बताउँछन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker