डेरी उद्योगबाट दूधको परिकार उत्पादन गरी बिक्री गर्दै सहकारी

भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी नगरपालिका-४ स्थित शुक्ला कृषि पर्यटन सहकारी संस्थाले दूधबाट विभिन्न परिकार उत्पादनको तयारी थालेको छ । सहकारीले दूध प्रशोधन गरेर विभिन्न परिकार उत्पादनको तयारी थालेको हो । यसका लागि सहकारीले कृषि तथा पशुपक्षी विकास मन्त्रालय नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना अन्तर्गत विकेन्द्रित आयोजना सहयोग एकाई पोखरासँग सम्झौता गरेको छ ।

आयोजना मार्फत दुलेगौडा बजारमा डेरी उद्योग स्थापना गरी दूधबाट परिकार उत्पादनको अन्तिम चरणमा पुगेको सहकारी संस्थाका अध्यक्ष मुक्ति सिग्देलले जानकारी दिनुभयो । दूध प्रशोधन गरी घ्यू, पनिर, दही लगायतका परिकार उत्पादनका लागि रु ९९ लाख २९ हजार तीन सयको योजना लागत सहभागितामा सञ्चालन गरिने सिग्देलले बताउनुभयो ।

त्यसमध्ये रु ४९ लाख ६४ हजार छ सय ५० अनुदान प्राप्त हुनेछ, भने बाँकी रकम सहकारीले साझेदारी गर्नेछ । “दूध प्रशोधन गरी आवश्यक परिकार उत्पादनका लागि उपकरण आइसकेका छन्, छिट्टै नै उत्पादनको चरणमा जान्छौ”, उहाँले भन्नुभयो ।

पाँच वर्षअगाडि स्थापना भएको सहकारीले यस क्षेत्रका किसानले उत्पादन गरेका दूध बिक्री वितरण गर्दै आएको छ । सहकारी मार्फ् दैनिक एक हजार लिटर दूध बिक्री हुने गरेको छ । सहकारीले किसानलाई भैंसीको दूधको रु एक सय र गाईको दूधको रु ९० प्रतिलिटर उपलब्ध गराउँदै आएको छ ।

“किसानको दूध बिक्री वितरणका लागि सहकारीले नै गाडी पठाएर संकलन गर्दै आएको छ, त्यसका लागि छ ठाउँमा संकलन केन्द्र स्थापना गरेका छौं”, उहाँले भन्नुभयो, “दूध बिक्रीका लागि बजारको समस्या छैन । स्थानीय बजारमै दूध खपत हुन्छ ।”

सहकारीले किसानबाट दैनिक एक हजार दुइ सय लिटर दूध संकलन गर्दै आएको छ । डेरी उद्योग स्थापनाका लागि रु तीन करोड लगानी भएको छ । सहकारीले डेरी स्थापनाका लागि रु एक करोड ९० लाखमा जग्गा खरिद गरेको छ।

“भैँसीको दूध बजारीकरणमा समस्या छैन, गाईको दूधबाट परिकार उत्पादन गरी बिक्री गर्ने तयारीमा लागिरहेका छौ”, अध्यक्ष सिग्देलले भन्नुभयो, “सहकारीबाट दूध मात्रै बिक्री हुने गरेकामा अब प्याकेटिङ गरेर दूधजन्य परिकार बिक्रीवितरण गर्र्छौ ।” दुइ हजार पाँच सय शेयर सदस्य आवद्ध सहकारीबाट एक सय किसानले दूध बिक्री वितरण गर्दै आएका छन् । दूध बिक्री गरेर किसानले मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् ।

उत्पादन र उपभोग गर्ने लक्ष्यसहित सहकारी संस्थाले डेरी उद्योग स्थापना गरिएको बताइएको छ । सहकारीमा एक हजार दुइ सय सात पुरुष र एक हजार दुइ सय ६८ महिला आवद्ध छन् । सहकारीको रु ११ करोड शेयर पुँजी रहेको छ । विसं २०७५ वैशाखदेखि सञ्चालनमा आएको सहकारीले कृषि र उत्पादनमा जोड दिँदै लगानी गर्दै आएको छ ।

सहकारीमार्फ स्थापित डेरी उद्योगबाट उत्पादित परिकार बजारीकरणमा सहयोग पुगोस् भन्नका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट सहयोग गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिनुभयो । जिल्लामा पशुपालनतर्फ किसानको आकर्षण बढेसँगै तनहुँ जिल्ला दूधमा आत्मनिर्भर बनेको उहाँले बताउनुभयो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker