स्वदेशी फूल प्रयोग गर्न आग्रह

रासस/मध्यविन्दु

नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष व्यावसायिक फूलखेती गर्नेको संख्या उल्लेख्य रहेको छ । जिल्लामा यस वर्ष करिब सातदेखि आठ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले जानकारी दिनुभयो । “लागत र बजार मूल्यका हिसाबले जिल्लामा उत्पादन हुने फूलको बजार मूल्य रु तीनदेखि चार करोडसम्मको रहेको छ”, उहाँले भन्नुभयो ।

यस वर्ष जिल्लाको गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी, हुप्सेकोट र बौदीकाली गाउँपालिकामा सामूहिक तथा व्यक्तिगतरूपमा फूलखेती गरिएको छ । जिल्लामा यस वर्ष तिहारका लागि पर्याप्त फूल उत्पादन भए पनि भारतबाट आउने फूलहरूले प्रभाव पर्ने हो कि भन्नेमा किसान चिन्तित छन् । भारतबाट आउने फूल नेपाली उत्पादनभन्दा सस्तो जनाइएको छ ।

गैँडाकोट नगरपालिकाको वडा नं ४ र ८ मा सामूहिकरूपमा फूलखेती गर्नुभएका राम काप्रीले अहिलेको प्रमुख समस्या भारतीय फूल नै रहेको बताउनुभयो । “स्थानीय उत्पादनको तुलनामा भारतीय फूलको लागत कम पर्ने भएकाले व्यापारीको रोजाइमा भारतीय फूल पर्ने गरेको छ”, उहाँले भन्नुभयो ।

मानव स्वास्थ्यलाई असर गर्ने रसायन प्रयोग गरिएको भारतीय फूलमा लागत कम पर्ने भएकाले व्यापारीले नेपाली फूललाई महत्व नदिने गरेको उहाँले गुनासो गर्नुभयो । “आफूहरूले स्थानीयस्तरमा उत्पादन गरेको फूल केही महँगो भए पनि स्वास्थ्यमा केही असर गर्दैन”, उहाँले भन्नुभयो । बौदीकाली गाउँपालिका-२ डेढगाउँमा सामूहिक सयपत्री खेती गरेको खहरे कृषि समूह पनि उत्पादन भएको फूलको बजारको सुनिश्चितता नहुँदा समस्यामा परेको डेढगाउँका यादव ओझाले बताउनुभयो। यो समूहले एक हजार बोट सयपत्री फूल तयार पारेको भए पनि बजारको सुनिश्चितता नभएको ओझाको भनाइ छ ।

“तिहार आइसक्यो हामी बजार खोज्दै छौँ, व्यापारीलाई पर्खदै छौँ”, उहाँले भन्नुभयो, “धेरै स्थानमा सयपत्री फूलको खेती बढेकाले बजारको समस्या रहेको छ ।” विगत केही वर्षदेखि फूल खेती गरिरहनुभएका कावासोती नगरपालिका-५ का भेषराज गाहा बजारभन्दा पनि मुख्य समस्या भारतीय फूल नै रहेको बताउनुहुन्छ । स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक फूलभन्दा रसायन प्रयोग गरिएको भारतीय फूल सस्तो हुनुले समस्या आएको उहाँले जानकारी दिनुभयो । “ग्राहकले गुणस्तरभन्दा पनि सस्तो फूल खोज्ने चलन छ, भारतबाट आउने फूल स्वास्थ्य प्रतिकूल छ भन्ने चेतना जनमानसमा पुगी नसकेकाले यस्तो समस्या आएको हो”, उहाँले भन्नुभयो ।

तिहार नजिकिएसँगै बजारमा सयपत्री फूलको माग बढ्न लागेको छ । सरकारले तिहारमा स्वदेशी उत्पादनले माग धान्नसक्ने भएकाले यही कात्तिक १ गतेदेखि भारतबाट आउने फूलको आयत अनुमतिपत्र सिफारिस जारी गर्न बन्द गरेको भए पनि बजारमा रसायन प्रयोग भएको भारतीय फूल भित्रिने आशङ्काले जिल्लाका किसान चिन्तित देखिएका हुन् । भारतीय व्यापारीले तिहार आउनभन्दा १५ दिन अगाडि नै बोटबाट टिपिएको फूल फर्मालिनको प्रयोग गरेर नेपालसम्म ल्याउने गर्दछन । फर्मालिनको प्रयोग गरेर राखिएको फूलको माला लगाउँदा ‘एलर्जी’ हुने तथा छालासम्बन्धी रोग लाग्नेसक्ने कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले बताउनुभयो ।

“भारतबाट यहाँ सम्म फूल ल्याउँदा व्यापारीले फर्मालिन नामको रसायनको प्रयोग गर्छन् जसले प्रत्यक्ष मानव स्वास्थ्यमा असर पार्छ, त्यसैले नेपालमै उत्पादन गरिएका फूलको प्रयोग मानव स्वास्थ्यका लागि पनि राम्रो हुन्छ”, उहाँले भन्नुभयो । फर्मालिनको प्रयोग गरिएको वस्तुको प्रयोगले छालाजन्य रोग लाग्ने खतरा हुने मध्यविन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा जीतेन्द्र कँडेलले बताउनुभयो । “फर्मालिन प्रयोग गरिएको फूलको माला लगाउँदा छालाको एलर्जी हुने, चिलाउने, रातो डाबर आउने तथा यसको गन्धले श्वासप्रश्वासमा पनि समस्या आउँछ”, उहाँले भन्नुभयो । सरकारले भारतीय फूल आयतमा पूर्ण प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको भए पनि यसको सुनुवाइ नहुँदा आगामी दिनमा भर्खरै सुरु भएको फूलखेतीबाट विस्थापित हुनपर्ने चिन्तामा किसान रहेका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker