‘एक स्थानीय तह-एक औद्योगिक ग्राम’ : आँवुखैरेनीको औद्योगिक ग्राममा बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु

तनहुँ : सरकारले ६ वर्षयता देशका १२० पालिकामा औद्योगिक ग्राम निर्माण घोषणा गरे पनि हालसम्म चारवटा मात्रै सञ्चालनमा आएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका, गुल्मीको मदाने गाउँपालिका, स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका र अछामको मेल्लेख गाउँपालिकामा मात्रै औद्योगिक ग्राम सञ्चालनमा आएको छ ।
सरकारले आर्थिक वर्ष २०७६/०७७ देखि ‘एक स्थानीय तह : एक औद्योगिक ग्राम’ नीतिअनुसार १२० वटा औद्योगिक ग्राम घोषणा गरिसकेको छ । यसरी घोषित औद्योगिक ग्रामलाई हालसम्म १ अर्ब ५१ करोड १७ लाख रुपैयाँ पठाइसकिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सरकारको उक्त नीतिअनुसार सञ्चालनमा आएको तनहुँको आँबुखैरेनी गाउँपालिकाको औद्योगिक ग्रामबाट बाँस तथा फलामजन्य सामग्री उत्पादन सुरु भएको छ । आँबुखैरेनी–२ मार्कीचोकमा स्थापना गरिएको औद्योगिक ग्रामबाट विभिन्न प्रकारका सामग्री उत्पादन सुरु भएको हो ।
स्थानीय जनशक्ति, स्थानीय सीप, स्थानीय स्रोत साधन र आधुनिक उपकरणको प्रयोग गरी सामग्री उत्पादन हुन थालेको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए । उनका अनुसार बाँसबाट बनेका सोफासेट, झोलुङ्गा, डाइनिङ सेट, मुडा, नाङ्लोलगायतका सामग्री बिक्रीका लागि तयार भएका छन् ।
त्यस्तै फलामजन्य व्यायमका सामग्री, ठेलागाडा, पिङ लगायतका सामग्री उत्पादन भएका छन् । गरिबी निवारणका लागि गाउँपालिका र बाँस तथा कृषि औजारसम्बन्धी उद्योग स्थापना गरेको हो । मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत गाउँपालिकाले बाँस र कृषि औजारका सामग्री उत्पादनका लागि उद्योग स्थापना गरेको चुमानले बताए ।
उनले भने, ‘नवीनतम् ज्ञान, सीप, सोच र सिर्जनशीलता प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाले उद्योग स्थापना गरेको हो, उद्योग स्थापनाका लागि प्रदेश सरकारले आर्थिक सहयोग गरेको छ ।’ उद्योगबाट बाँसजन्य सामग्री सोफा, कुर्ची, टेबल निर्माण गरिनेछ ।
गाउँपालिकाभित्र रहेका विपन्न समुदायलाई घरेलु सीप सिकाएर आयआर्जनसँग जोड्ने लक्ष्य रहेको चुमानको भनाइ छ । उद्योगबाट फलामजन्य सामग्री पनि उत्पादन गरिनेछ। विशेषगरी यहाँबाट कृषि औजार उत्पादन गरिनेछ । चुमानका अनुसार कृषि उत्पादनका लागि सहयोगी बन्ने खालका आधुनिक यन्त्र उत्पादन गरिनेछ ।
त्यस्तै सामुदायिक विद्यालयका लागि आवश्यक डेस्क, बेञ्चलगायत सिकाइ सामग्री उद्योगबाट स्थापना गरिनेछ । गाउँपालिका सामुदायिक विद्यालयमा सुधारमा लागिरहेको र सामुदायिक विद्यालयका लागि आवश्यक सामग्री उद्योगबाटै निर्माण हुने चुमानको भनाइ छ । उद्योगलाई दिगोरूपमा सञ्चालनका लागि कम्पनीको रूपमा विकास गर्ने योजना छ । त्यसका लागि गाउँपालिकाभित्रका वित्तीय संस्था एवं समूहसँग साझेदारी गरिने चुमानले बताए ।
यस्तै, सरकारले कोशीका ११, मधेशका ११, बागमतीका १९, गण्डकीका २९, लुम्बिनीका २५, कर्णालीका ९ र सुदूरपश्चिमका १६ गरी १२० पालिकामा औद्योगिक ग्राम घोषणा गरेको थियो । त्यसमध्ये मधेशको कौडेना गाउँपालिका, गण्डकीको शुक्लागण्डकी नगरपालिका र सुदूरपश्चिमको पुनर्वास नगरपालिकालाई पहिलो किस्ताबापत ९२ लाख रुपैयाँसमेत निकासा हुन नसकेको मन्त्रालयले जनाएको छ ।
महालेखा परीक्षकको ६१औं प्रतिवेदनमा जग्गाको उपलब्धता, उपलब्ध जग्गामा औद्योगिक ग्राम विकासको सम्भावना, स्थानीय तहको प्राथमिकता र क्षमताको विश्लेषण नगरी सुरु भएको कार्यक्रमको कार्यान्वयन पक्षमा सुधार गरी तोकिएको लक्ष्य प्राप्त गर्नुपर्ने उल्लेख छ । संघले दिएको रकमबाट स्थानीय तहले गरेको कार्य प्रगतिको अभिलेखसमेत मन्त्रालयमा नभएको महालेखाको प्रतिवेदनमा छ ।
संघ, प्रदेश र स्थानीय तहको सहभागितामा १२० वटा पालिकामा औद्योगिक ग्राम बनिरहेका छन् । स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण गरिसकेपछि भौतिक पूर्वाधार बनाउन मात्रै संघीय सरकारले रकम दिन्छ । संघीय सरकारले प्रत्येक पालिकालाई पहिलो किस्ताबापत ९२ लाख रुपैयाँ बजेट दिने गरेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयले ‘औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५’ को पहिलो संशोधन खारेज गरी कार्यविधि २०८१ लागू गरेको छ । यही चैत ६ मा उद्योगमन्त्री दामोदर भण्डारीले स्वीकृत गरेको ‘औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०८१’ मा पालिकाले पाउने रकम बढाएका छन् ।
औद्योगिक ग्रामको कुल निर्माण लागतको ६० प्रतिशत वा चार करोडमध्ये जुन कम हुन्छ, उक्त रकम मन्त्रालयले पालिकालाई दिइने कार्यविधिमा उल्लेख छ । यसअघि औद्योगिक ग्रामको कुल निर्माण लागतको ४० प्रतिशत वा तीन करोडमध्ये जुन कम हुन्छ, उक्त रकम मन्त्रालयले पालिकालाई दिइने व्यवस्था थियो ।
कार्यविधिले संघीय सरकारसँगै प्रदेश र पालिकालाई पनि अधिकार दिएको उद्योग मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले बताए । सरकारले कार्यविधि परिमार्जन गरेको र यसले औद्योगिक ग्राम निर्माणमा केही सुधार हुने अनुमान गरेको उनले सुनाए ।
२०७६ सालमा ४५, २०७७ सालमा २९, २०७८ सालमा ३२, २०७९ सालमा ८ र २०८० सालमा ६ वटा औद्योगिक ग्राम घोषणा गरिएको मन्त्रालयले बताएको छ । ‘औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि, २०७५’ को पहिलो संशोधनअनुसार औद्योगिक ग्रामका लागि हिमाली र दुर्गम पहाडी क्षेत्रमा २५ रोपनी, पहाडी क्षेत्रमा ३५ रोपनी र तराई क्षेत्रमा ७ बिघा न्यूनतम क्षेत्रफल हुनुपर्छ । घना बस्तीबाट ५ सय मिटर दूरीमा र अन्तर्राष्ट्रिय सीमादेखि भने न्यूनतम २ किमि दूरीमा हुनुपर्ने मापदण्डमा उल्लेख छ ।
औद्योगिक ग्राम निर्माणका लागि संघले बजेट छुट्याए पनि मुख्य दायित्व पालिकाकै हुने भएकाले घोषणा भएअनुसार सञ्चालनमा आउन नसकेको मन्त्रालयका प्रवक्ता बस्नेतको भनाइ छ । ‘कतिपय औद्योगिक ग्रामको हकमा धेरै खर्च लाग्ने देखियो, जग्गा धेरै लाग्ने देखियो,’ उनले भने, ‘संघीय सरकारले पनि केही बजेट छुट्याएको छ । तर मुख्य दायित्व पालिका र प्रदेशको हो । यही विविध कारणले गर्दा थोरै मात्रामा निर्माण भए । कतिपय निर्माणाधीन अवस्थामै छन् ।’
औद्योगिक ग्रामभित्रका कुल जग्गाको ६० देखि ७० प्रतिशत उद्योग स्थापनाका लागि उपयोग गर्नुपर्नेसमेत मापदण्डमा छ । पालिकालाई संघ सरकारले उपलब्ध गराउने अनुदानबाट स्थानीय सरकारहरूले पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गर्नेछन् ।
त्यसअन्तर्गत सीमा पर्खाल, तारबार, पहुँचमार्ग, प्लट, ११ केभी विद्युत् प्रसारण, वैकल्पिक ऊर्जाको प्रयोग, गोदाम घर, पानीको आपूर्ति, फोहोर व्यवस्थापनजस्ता पूर्वाधार विकास गर्नुपर्ने मापदण्ड छ । जग्गाको उपलब्धता, उपलब्ध जग्गामा औद्योगिक ग्राम विकासको सम्भावना, पालिकाको प्राथमिकता र क्षमताको विश्लेषण नगरी सुरु भएको कार्यक्रम कार्यान्वयन पक्षमा सुधार गर्नुपर्ने महालेखा परीक्षकको ६०औं प्रतिवेदनले औंल्याइसकेको छ ।
औद्योगिक ग्राम घोषणा तथा सञ्चालनसम्बन्धी कार्यविधि २०८१ मा महिला उद्यमी विशेष औद्योगिक ग्राम र निजी क्षेत्रको लगानीमा समेत औद्योगिक ग्राम स्थापना गर्न सकिने उल्लेख छ । महिला उद्यमीलाई उद्योगतर्फ आकर्षित र प्रोत्साहन गर्न महिला उद्यमीले मात्र उद्योग स्थापना गर्न पाउने गरी महिला उद्यमी विशेष औद्योगिक ग्रामको पनि व्यवस्था गरिएको छ ।
स्थानीय तह वा निजी क्षेत्रका महिला उद्यमीसँग सहकार्य गरी सञ्चालन तथा व्यवस्थापन गर्न सक्ने उक्त कार्यविधिमा छ । महिला उद्यमी विशेष औद्योगिक ग्राम निर्माणको लागत ६० प्रतिशत वा ६ करोड जुन कम हुन्छ, त्यही रकम पालिकालाई उपलब्ध गराउनेसमेत कार्यविधिमा छ ।
मन्त्रालयले निजी क्षेत्रको लगानीमा समेत औद्योगिक ग्राम स्थापना गर्न सकिने व्यवस्था कार्यविधिमा छ । निजी क्षेत्रका लगानीकर्ता आफैंले जग्गाको व्यवस्था गरी विकास, निर्माण, सञ्चालन र व्यवस्थापनसमेत आफैं गर्ने गरी औद्योगिक ग्राम स्थापना गर्न चाहे सम्बन्धित पालिकामा निवेदन दिन सकिने कार्यविधिमा उल्लेख छ ।
पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन, औद्योगिक ग्रामको चार किल्ला खुलेको पत्रसहित नापी कार्यालयबाट प्रमाणित कागजात, जग्गा स्वामित्व तथा प्रकृति खुलेको सम्बन्धित मालपोत कार्यालयबाट प्रमाणित कागजात र कम्तीमा बीस वर्षको सञ्चालन निरन्तरताको सुनिश्चिततासहितको प्रतिबद्धता पत्र बुझाउनुपर्ने व्यवस्था कार्यविधिमा छ । प्राप्त कागजातको अध्ययन तथा विश्लेषण गरी औद्योगिक ग्रामको घोषणाका लागि उपयुक्त हुने देखेमा सम्बन्धित पालिकाले मन्त्रालयलाई सिफारिस गर्न सक्नेछ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker