तनहुँका सिग्देलद्वारा एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
भञ्ज्याङ न्यूज

नेकपा एमालेका नेता टुकराज सिग्देलले १०औं महाधिवशेनमा केन्द्रीय सदस्यको उम्मेदबारी घोषणा गरेका छन् । सिग्देलले आफु महाधिवेशनमा भुगोल तर्फको केन्द्रीय सदस्यको उम्मेदबार बन्ने बताए । केन्द्रीय सल्लाहाकार परिषदका सदस्य रहेका सिग्देल सोही कमिटीबाट महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।
२०५६ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद सिग्देल २०७० सालको संविधान सभा निर्वाचनमा पनि तनहुँ क्षेत्र नम्बर ३ बाट निवार्चित भई संविधान निर्माणमा सक्रिय थिए ।
नेकपा एमाले भित्र सादगी, इमान र निष्ठाको राजनीति गर्ने, बर्गीय चेत भएको तथा नैतिक मुल्य र मान्यताको पक्षपाती नेताको रुपमा सिग्देललाई लिईन्छ । उनको नेतृत्वमा तनहुँ क्षेत्र नम्बर ३ मा विकास निर्माणको कामले तिब्रता पाएको थियो ।
२०४३ सालमा कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरेका सिग्देल नेकपा माले तनहुँको संस्थापक मध्येका एक हुन् । त्यसअघि २०३३ देखि २०४० सालसम्म पोखराको पृथ्वीनारयण क्याम्पसमा अनेरास्ववियुको राजनीति गरेका सिग्देल २०४१ देखि २०४५ सम्म किहुँको सिर्द्धार्थ माविमा शिक्षण समेत गरेका थिए । पार्टीले पूर्णकालिन हुनु पर्ने निर्देशन दिएपछि उनी शिक्षण पेशा छोडी पूर्णकालिन राजनीतिमा होमिएका थिए । त्यसपछि सिग्देलले २०४६ सालको जनआन्दोलनमा बाममोर्चाको सचिवको रुपमा तनहुँको आन्दोलनको अगुवाई गरेका थिए ।
निरंकुश पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनमा लाग्दा सिग्देल २०४२ सालमा राजकाज अपराध सम्बन्धी मुद्दामा नौ महिना दमौली जेलमा समेत बसेका थिए । उनी २०५० देखि २०५६ सम्म दुइ कार्यकाल नेकपा एमाले तनहुँको र्सवसम्मत सचिव -पार्टी प्रमुख) बनेका थिए । नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको बैकल्पिक सदस्यमा निर्वाचित भएका सिग्देल नवौं महाधिवेशनमा भने थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएका थिए ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा चितवनमा आयोजित महाधिवेशनमा केन्द्रीय सदस्य बनेर तनहुँको पार्टीको कामको अगुवाई गर्ने इच्छा रहेको सिग्देलले बताएका छन् । पार्टीका नेताहरुसँगको छलफलमा पनि यस पटक भुगोलको नेतृत्व गरेर केन्द्रीय कमिटीमा जानेबारेमा नेताहरु सकारात्मक रहेको सिग्देलले बताए ।










