लापरवाहीका कारण तनहुँमा कोरोना संक्रमण दर दैनिक बढ्दो
भञ्ज्याङ समाचारदाता/दमौली
तनहुँमा नयाँ भेरियन्ट सहितका कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । जिल्लाको व्यास र शुक्लागण्डकी नगरपालिकामा संक्रमितको संख्या बढ्दै गएका छन् । कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपनि सर्वसाधारणबाट बढ्दो लापरवाहीका कारण दैनिक संक्रमितको संख्य बढ्दै गएको हो।
नागरिकस्तरबाटै भएको लापरवाहीका कारण पछिल्लो समय शुक्लागण्डकी नगरपालिकाको वडा नं. ८ क्षेत्र कोरोनाको हटस्पटका रुपमा देखिन थालेको छ । यहाँ दैनिक जसो संक्रमितको संख्या बढ्दै गएको छ । वडाका बासिन्दामा कोरोनासंग मिल्दाजुल्दा विरामी भेटिन थालेपछि स्वास्थ्य कार्यालय तनहुँले वडामै पुगेर एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गरेको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा कोरोना नियन्त्रण तथा व्यवस्थापनका लागि वडाका ६७ जनाको स्वाब नमुना संकलन गरी एन्टिजेन प्रविधिबाट गरिएको परीक्षणमा ६ पुरुष र १२ महिला गरी १८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै, कोरोना संक्रमण देखिएमा समाजमा अपहेलित हुने त्रासले सर्वसाधारण परीक्षणको दायारामा नआउँदा पनि अहिले तनहुँमा कोरोना संक्रमण दर बढ्दै गएको पाइएको छ । पीसीआर परीक्षणको रिपोर्ट पनि ढिला आउने र कोरोनासंग मिल्दा जुल्दा लक्षण देखिएका व्यक्ति पनि परीक्षणको दायारामा नआउँदा संक्रमण फैलन मद्दत पुगेको देखिन्छ ।
कोरोना संक्रमण देखिएमा समाजले गर्ने व्यवहार अझैपनि सहज बनेको छैन । संक्रमण निको भएर घर फर्किएका व्यक्तिलाई समेत समाजमा अलगै व्यवहार गर्दा संक्रमित व्यक्तिले थप पीडा झेल्नुपर्ने अवस्था सृजना भएको व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने बताउँछन् । उनले संक्रमित भएका तथा संक्रमण मुक्त भएका व्यक्तिलाई सम्मानजन व्यवहार गर्न आग्रह गरेका छन् ।
रुघा, खोकी, ज्वारो लगायतका कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएपनि समयमै परीक्षणको दायरामा नआउदा तीनै व्यक्तिका कारण समुदायस्तरमा कोरोना संक्रमणको दर हत्तै बढेको छ । अहिले यहि समस्यबाटै शुक्लागण्डकी-८ गुज्रिएको छ । नगरपालिकाले कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरुको निःशुल्क रुपमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएपनि नगरिकहरु परीक्षणको दायरामा आउन नमानेको वडा-८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मी बताउँछन् ।
‘कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका वडाबासीहरु अन्य औषधी सेवन गर्ने र भित्रभित्रै लुकाउन खोज्दा समाजमा संक्रणको दर बढ्दै आएको छ’, उनले भने, ‘पीसीआर परीक्षण गरेर पोजेटिभ आए घरपरिवार र समाजबाट हेपिनुपर्छ भन्ने मानसिकताका कारण पनि उनीहरुलाई परीक्षणको दायरामा ल्याउन सकिएको छैन । समाजबाट हेपिनुभन्दा म आफै अन्य औषधी सेवन गरेर निको हुन्छु भनि समाजमा संक्रमितहरु लुकेका छन् र उनीहरुले नै अन्य व्यक्तिलाई संक्रमण गरेका छन् ।’
अहिले वडाका घरघरमा संक्रमित भेटिएपछि र एकै वडाका ६ जना कोरोना संक्रमितको मृत्यु भएपछि स्वास्थ्य कार्यालय तनहुँ, स्वास्थ्य निर्देशनलाय गण्डकी प्रदेश सहितको टोलीले बिहीबार शुक्लागण्डकी-८ को आधारभूत स्वास्थ्य केन्द्रमा वडाबासीको एन्टिजेनबाट परीक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए । उनले भने, ‘बजार क्षेत्रबाट नजिक रहेको यो वडाका बासिन्दाहरु बिनाकाममा पनि हिड्डुल गर्ने बजार आउने र गाउँमा गएर जमघट गर्ने गर्दा यहाँको समुदायमा संक्रमण फैलिएको देखिन्छ ।’
‘लक्षण देखिएका व्यक्ति परीक्षणको दायरामा आई संक्रमित भए उपचारसेवा लिए समुदायमा फैलिने थिएन’, उनले भने, ‘परीक्षण गर्नै नआउँदा समस्य भएको छ । अहिले वडास्तरमै जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौ र जतिसक्दो चाडै वडाका सम्पुर्ण बासिन्दालाई परीक्षणको दायरामा ल्याउने प्रयास गरेका छौं ।’ हाल वडामा ६५ जना संक्रिय संक्रमित रहेको वडा कार्यालयले जनाएको छ ।
यस्तै जिल्लामा संक्रमणको दर बढेसंगै रेडजोन क्षेत्रका अन्य नागरिकहरु परीक्षणको दायरामा आउन नखोज्दा सम्बन्धित क्षेत्रमै गएर परीक्षण गर्ने तयारी भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए । ‘कतिपय लक्षण नै नदेखिएकामा पनि संक्रमण पुष्टि भएको छ’, उनले भने, ‘हामीले रेडजोनमा राखेका क्षेत्रमा लक्षण देखिएका र नदेखिएका सबै नागरिकको ऐन्टिजेन किटबाट कोरोना परीक्षण गर्ने तयारी गरेका छौं ।’
कार्यलयले अबको २/३ दिनभित्र घिरिङ गाउँपालिका र बन्दिपुर गाउँपालिकाका नागरिकहरुको एन्टिजेन किटबाट कोरोना परीक्षण गर्ने तयारी गरेको छ । जिल्लामा ६७६ जनाको एन्टिजेनबाट कोरोना परीक्षण गरिएको र ३ हजार २३३ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएकोमा २ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । बैशाख महिना यता जिल्लामा कोरोना संक्रमणका कारण ५६ जनाको मृत्यु भएको छ ।










