विकासको पर्खाइमा देवघाट, झोलुङ्गे पुलको भरमा आउँजाउँ
भञ्ज्याङ समाचारदाता/तनहुँ

त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटधाम पवित्र तीर्थस्थलका रुपमा प्रसिद्ध छ । देवघाटधाम ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपमा महत्वपूर्ण मानिन्छ । यही महत्वपूर्ण धामबाट नै नामकरण गरिएको छ पालिकाको नाम देवघाट । ठूला नदीको बीच भागमा रहेका पालिका विकास निर्माणमा पछाडि परेको छ ।
यस देवघाट क्षेत्र झोलुङ्गे पुलको सङ्गम भन्न सकिने अवस्थामा छ । संघीयता कार्यान्वयन भए पनि यहाँको विकासमा भने खासै परिवर्तन हुन सकेको छैन । लामो समयदेखि देवघाट क्षेत्र झोलुङ्गे पुलको भरमा नै रहेको छ । तीन ठूला नदीले घेरिएको देवघाट गाउँपालिकाको क्षेत्र झोलुङ्गे पुलले जोडेको छ । देवघाटबाट सदरमुकाम दमौली कामकै लागि आउनुपर्ने भएमा बागमती प्रदेश पार गर्नुपर्छ । मोटरेवल पुल नहुँदा यहाँका स्थानीय बागमती प्रदेश पार गरी सदरमुकाम आउनुपर्ने अवस्था छ । केही सहज हुने स्थानका पालिकाबासी झोलुङ्गे पुलबाट मादीसेती नदी पार गरी सदरमुकाम पुग्ने गर्दछन् । पुलको अभावले सामग्री ढुवानीमा समेत सकस हुने गरेको स्थानीय बताउँछन्।
देवघाटसँग जोडिनका लागि हालसम्म १७ झोलुङ्गे पुलले घेरिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँपालिका झोलुङ्गे पुलकै भरमा चलेको छ । यसलाई मोटरेवल पुल बनाउनका लागि समन्वय गरिरहेका छौँ । तर अझैसम्म हुन सकेको छैन ।”
ग्रामीण क्षेत्रलाई सहज बनाउने उद्देश्यले पालिकाले समन्वय गरिरहेका अध्यक्ष थापाले बताउनुभयो । झोलुङ्गे पुलरहित बनाउन भने नसकिएको उहाँको भनाइ छ । केही स्थानमा मोटरेवल पुल निर्माण हुने भइसकेको अवस्थामा तनहुँ हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माणाधीन रहेको तनहुँ जलविद्युत् आयोजनाले गर्दा ढिला भएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देवघाट-३ र बन्दीपुर-६ स्थित मादीसेती नदीमाथि नाल्दीघाटमा मोटरेवल पुल निर्माण भइसक्थ्यो। तर तल्लो सेती जलविद्युत् आयोजना बन्ने भएपछि समय फेरिँदा झोलुङ्गे पुलबाट नै आवतजावत गर्नुपर्ने अवस्था छ ।”
देवघाट-२ र ३ वडासँग जोडिने आँबुखैरेनी, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा जोडिएको बुद्धसिं मार्गसँग जोड्ने मोटरेवल पुल निर्माण गर्न सकिएमा यस क्षेत्र झोलुङ्गे पुलरहित बन्ने उहाँले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष भुवनसिं गुरुङले भन्नुभयो, “हालसम्म हाम्रै जिल्लातर्फमोटरेवल पुल बन्न सकेको छैन । तर, पहल भने गरिरहेका छौं । चितवनतर्फबाट आवतजावत हुने गरी भने तीन स्थानमा मोटरेवल पुल रहेका छन् ।” तनहुँतर्फ देवघाट-३ र बन्दीपुर गाउँपालिका-६ स्थित वाटरखोलामा मोटरेवल पुल निर्माणका लागि सरकारबाट स्वीकृत भएर आएको उहाँले बताउनुभयो ।
तनहुँको देवघाट-५ र चितवनको भरतपुर-२९ दासढुङ्गामा मोटरेवल पुल, देवघाट र नवलपुर जोडिने मोटरेवल पुल र चितवनतर्फकै ठिमुरामा मोटरेवल पुल निर्माण भएको छ । तर ठिमुराको मोटरेवल पुलले भने अझैसम्म पनि पूर्णरुपमा निर्माण भएको छैन । यहाँका ग्रामीण क्षेत्रलाई सहज रुपमा पालिकासम्म पुग्ने र फर्किने अवस्था बनाउन मोटरेवल पुल निर्माण गर्नुपर्ने स्थानीय नवराज गुरुङले बताउनुभयो । सुन्तला व्यवसायीसमेत रहनुभएका उहाँले भन्नुभयो, “पालिकामै पुगेर काम गर्नुपर्ने भएमा थोरैमा तीन दिन खर्चनुपर्ने अवस्था रहेको छ । यसको अन्त्यका लागि मोटरेवल पुल नै मुख्य रहेको छ ।”
सरकारले गाउँ गाउँमा सिंहदरबारको आभास हुने गरी पुल निर्माण भइदिए यहाँका स्थानीयले राहत पाउने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यहाँ उत्पादित वस्तु बजार लैजान पनि समस्या छ । आवश्यक खाद्यान्न बजारबाट ल्याउन पनि झोलुङ्गे पुल तारेर ल्याउनुपर्ने अवस्था रहेको छ । यसको अन्त्य होस् यही नै हाम्रो माग हो ।” यहाँको आयस्तर वृद्धिका लागि पनि ग्रामीण क्षेत्रसँग जोड्ने गरी मोटरेवल पुल निर्माण हुनुपर्ने गरी समन्वय गरिरहेका देवघाट-२ का वडाध्यक्ष मीनबहादुर राना मगरले बताउनुभयो ।
यस पालिकाको ग्रामीण क्षेत्रमा पुग्नका लागि झोलुङ्गे पुलबाहेक सवारीसाधन आवतजावत गर्न समस्या रहेको छ । पाँच स्थानमा मोटरेवल पुल निर्माण गर्न सकिएमा देवघाटबाट सहज रुपमा सदरमुकाम आवतजावत गर्न सकिनेछ । आठवटा ठूला नदीको मिश्रण हुँदै आएका र हिमालबाट आएको कालीगण्डकी नदीमा विश्वमा प्रसिद्ध मानिने शालिग्राम भेटिने भएकाले यस क्षेत्रमा माघेसंक्रान्तिमा देवताहरुको ठूलो बैठक बस्ने स्थानलाई देवघाटधाम भनिएको किंवदन्ती छ ।










