जफत गरिएको ढुंगा गिटी र बालुवा बिक्रीबाट बन्दिपुरले २१ लाख आम्दानी गर्यो
भञ्ज्याङ न्यूज

मापदण्ड विपरीत नदी उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा बिक्री गरी तनहुँको बन्दिपुर गाउँपालिकाले २१ लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाको वडा नं. ५ याम्पाघाट स्थित मर्स्याङदी नदी किनारमा मापदण्ड विपरीत उत्खन्न गरी राखिएको ढुङ्गा गिट्टी र बालुवा गत भदौ २६ गते गाउँपालिकाले सिल गरेको थियो ।
सिल गरी राखिएको उक्त नदीजन्य सामाग्री बिक्री गरी कर सहित २१ लाख रुपैयाँ आम्दानी भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए ।
आर्थिक बर्ष २०७८/०७९ का लागि गाउँपालिकाले करिव ३ हजार १ सय घनमिटर उत्खन्नका लागि ठेक्का आव्हन गरेको थियो। तर कम्पनीले मापदण्ड विपरीत एक्साभेटर टिप्पर प्रयोग गरी करिव १२ हजार १ सय घनमिटर ढुङ्गा गिट्टी र बालुवा उत्खन्न गरेको पाइएको थियो ।
गाउँपालिकाले राजश्वको दायरामा आउन आग्रह गर्दा कम्पनीले चासो नदेखाएको र पटकपटक बोलपत्र आव्हन गर्दा पनि टेण्डर नपरेपछि उक्त सामान बैधानिक रुपमै पृथ्वीराजमार्ग विस्तारका लागि काम गर्दै आएको चाइना कम्युनिकेशन कन्सट्रक्सन कम्पनीलाई बिक्री गरिएको गाउँपालिका इन्जिनियर सन्तोष थापाले बताए ।
गाउँपालिकाको वडा नं. ६ स्थित साराङघाटमा रहेको क्रसर उद्योग पनि अनुगमन गरी सिल गरेको छ ।










