म्याग्देका टोलटोलमा एकीकृत घुम्ति शिविर सञ्चालन
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिकाले टोलटोलमा एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ । पालिका भित्रका ७ वटै वडाका टोलस्तरसम्मै पुगेर नगरपालिकाको सेवा सहज रुपमा प्रवाह गर्ने गरी सोमबारबाट घुम्ति शिविर सुरु गरेको हो ।
गाउँपालिकाले चैत्र ८ गतेसम्म सञ्चालन गर्ने शिविरको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शुभारम्भ गर्दै पालिका जनताको सेवामा सदैभ क्रियाशिल रहने बताए । ‘जनताका विकास निर्माण र आवश्यकताको विषयमा यसअघि पनि पहिलो चरणको घुम्ति शिविर संचालन गरेर हजारौ जनतालाई सेवा दिईसकेका छौ’, अध्यक्ष श्रेष्ठले भने, ‘गाउँपालिकाले मृगौलाको परीक्षण, पाठेघरको परीक्षण लगायतका स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएको छ ।’
यस्तै, पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरेले जनताको सेवा भन्दा ठुलो अन्य केही नभएको हुँदा जनजिविकाको विषयमा पालिका सधै गम्भिर भएको बताए । सबैको साथ र सहयोगले मात्र पालिका अगाडी वढ्ने हुँदा विकास निर्माण र आवश्यकतामा साथ दिन आग्रह गरे ।
शिविर शुभारम्भका अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पालिकाको एकमात्र अभिष्ट भनेको जनतासँगको साक्षात्कार भएको बताए । जनताको स्वास्थ्य सेवामा पालिकाको विशेष ध्यान दिएको हुँदा यसअघि पनि मृगौला परीक्षण, ३ दिने क्यान्सर परिक्षण शिविर, एकीकृत घुम्ति शिविर सञ्चालन गरिसकेको उनले बताए ।

पालिकाले दिने एकीकृत सेवा वडाको टोलटोलमा दिईएको हुँदा सबैलाई शिविरमा सहभागी भएर सेवा लिन समेत पालिकाले आग्रह गरेको छ । वडाको टोल स्तरमा सञ्चालन हुने घुम्ति शिविर फागुन २१ र २२ गते वडा नं ३ मा, २३ र २४ गते वडा नं ४ मा, २७ र २९ गते वडा नं ५ मा, फागुण ३० र चैत्र १ गते वडा नं ६ मा, चैत्र २ र ४ गते वडा नं ७ मा, चैत्र ५ र ६ गते वडा नं १ मा र चैत्र ७ र ८ गते वडा नं २ मा एकीकृत घुम्ति शिविर संचालन गरिने भएको छ।
शिविरमा स्वास्थ्य परीक्षण, वीउ विजन तथा पशु बन्ध्याकरण, पशुको चेकजाँच तथा औषधी वितरण, पञ्जिकरण शाखा अर्न्तर्गतका जन्मदर्ता, मृत्यृ दर्ता, अपाङ्गता परिचय पत्र, वृद्धवृद्धालाई परिचयपत्र, योजना सम्झौता, उद्योग दर्ता, आयुर्वेद औषधी वितरण लगायतका सेवा प्रदान गरिने भएको छ ।
बीमाको प्रचारप्रसार
यस्तै, गाउँपालिकाको एकीकृत घुम्ती शिविरमार्फत् बीमाको प्रचारप्रसार गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाले कृषकलाई बीमाको महत्व बुझाउने उद्धेश्यसहित घुम्ती शिविरबाट यसको प्रचारप्रसार गरेको हो ।
आकस्मिक रोगको क्षति न्यूनिकरण गर्न पशु वस्तुको बीमा गर्न कृषकलाई प्रोत्साहन गरिने पशु सेवा शाखा प्रमुख डा. विनय शाहले जानकारी दिए । पशुवस्तुको बीमाका लागि कृषकले बुझाउने रकम गाउँपालिकाको पशु सेवा शाखामार्फत् पुनः कृषकलाई प्रदान गरिने कार्यक्रम चालु आर्थिक वर्षा रहेको उनको भनाइ छ । उनले भने, “पशु बीमा गरेपछि पशुको क्षति भएमा कृषकलाई राहत पुग्नेछ, बीमा निःशुल्क भएकाले यसको प्रचारप्रसारमा जोड दिएका छौ ।”
पशु सेवा शाखाले घाँसमा आधारित पशुपालनलाई समेत जोड दिएको छ । पशुपालनको ७० प्रतिशत लागत आहारामा खर्च हुने हुँदा मौसम अनुसारको जै, सुपर नेपियर, मकेचरी वर्षिम लगायतका घाँस खेती गरी घाँसमा आधारित पशु पालनबाट उत्पादन लागत घटाउँदै आम्दानी बढाउन कृषकलाई अनुरोध गरिएको शाहले बताए ।
उनका अनुसार घुम्ती शिविरमा आकस्मिक तथा महामारीजन्य रोग रोकथाम तथा न्यूनिकरणका लागि खोरेत, भ्यागुते, चरचरे, पिपिआर, स्वाइन फिबर र कुकुर बिरालोमा रेबिज विरुद्धको खोप लगाइनेछ । उनले भने, “रेबिज रोग नियन्त्रणका लागि चालु आर्थिक वर्ष २०८०/८१ भरी नै कुकुर बिरालोमा रेबिज विरुद्धको खोप निःशुल्क पशु सेवा शाखाबाट प्रदान हुँदै आएको छ ।”










