आजबाट शुक्लागण्डकीको बेलचौतरामा चौथो शुक्लागण्डकी महोत्सव–२०८१

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको चौथो शुक्लागण्डकी महोत्सव आजबाट वेलचौतरामा सञ्चालन गरिदै छ । आयोजकले महोत्सवाका लागि आवश्यक तयारी पुरा गरेको छ ।
आजबाट शुरु हुने महोत्सवको तयारी पूरा भएको बिहीबार महोत्सव स्थलमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । उक्त महोत्सवको पूर्व मन्त्री एवं तनहुँ क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य शंकर भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सवका मुल संयोजक समुन्द्रराम श्रेष्ठले महोत्सवको तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार उद्घाटन पूर्व दुलेगौंडा र खैरेनीटारस्थित मिलडाँडाबाट साँस्कृतिक झाँकीसहितको ¥याली प्रदर्शन गरिने र उत्कृष्ट झाँकीहरुलाई पुरस्कृत गरिने छ ।
वडा नं. ५ का अध्यक्ष दीर्घ बहादुर थापाले महोत्सवले विभिन्न पाटोलाई समावेश गरेको र सफल बनाउन स्थानीय सरकारले सहयोग गर्ने बताए ।
नगर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले महोत्सवको आवश्यक तयारी पुरा भएको र भव्य र सभ्य रुपमा महोत्सवलाई सफल बनाउन आयोजकले कुनै कसर बाँकी नराख्ने बताए ।
फागुन २० गतेसम्म सञ्चालन हुने महोत्सव भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन हुँदै छ । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १७५ स्टल रहने छ । साथै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ ।
यस्तै, महोत्सवमा पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्र्धनमा महोत्सव आयोजना गरिएको छ ।
महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाँको आर्थिक कारोवार गर्ने आयोजकको लक्ष्य रहेको छ ।










