घुम्न जाउँ है बन्दीपुर : “पर्यटक बोलाउन शहर छिरे बन्दीपुर”

भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न ‘घुम्न जाउँ है बन्दीपुर’ कार्यक्रम अगाडि ल्याइएको छ । कोभिड महामारी अगाडिको जस्तै आन्तरिक पर्यटकको संख्या बढाउन बन्दीपुर गाउँपालिकाले यो अभियान सुरु गरेको हो ।
बन्दीपुर गाउँपालिकाको नेतृत्वमा पालिकाका होटल व्यवसायी, पर्यटन व्यवसायी, उद्योगीहरुसहितको टोली बन्दीपुरमा आन्तरिक पर्यटकलाई निम्तो बाँड्ने अभियान लिएर मुख्य शहरी क्षेत्रमा पुगेका छन् ।
गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाका अनुसार ठूला शहरबाट आन्तरिक पर्यटकलाई बन्दीपुर भित्र्याउन जाऔं हैं बन्दीपुर अभियान देशका प्रमुख शहरमा केन्द्रित गरिएको अध्यक्ष थापाले बताए । सो टोली चितवन हुँदै रूपन्देहीको बुटवल भैरहवाबाट अभियान सुरु गर्न हिँडेको पालिका अध्यक्ष थापाले बताए ।
‘बन्दीपुरमा कोभिड महामारी अघिसम्म वर्षमा डेढ लाख जनासम्म पर्यटक आउँथे, कोभिड पछि त्यो क्रम घटेर ५० हजारमा झर्‍यो, अहिले फेरि पुरानै अवस्थामा फर्काउन पालिकाको अगुवाइमा अभियान चलाएका छौं’ अध्यक्ष थापाले भने, ‘देशका प्रमुख शहर काठमाडौं, पोखरा, चितवन, बुटवल, भैरहवा, नेपालगञ्ज, वीरगञ्ज, विराटनगर लगायतका मुख्य शहरमा प्रचारप्रसार र अन्तरक्रिया छलफल गर्दै हिँड्छौं ।’
यो बर्षभरि नै देशका प्रमुख शहरमा पुगेर बन्दीपुरका बारेमा प्रचारप्रसार गर्ने, विभिन्न अभियान चलाउने योजना गाउँपालिकाले बनाएको छ । अभियान लिएर शहर पसेको सो टोलीले बिहीबार बुटबलमा पर्यटन व्यवसायी, उद्योगी, होटल व्यवसायी तथा सरोकारवालासँग अन्तरक्रिया गर्ने जनाएको छ । बुटवलबाट पाल्पा हुँदै पोखरासम्म पुगेर पहिलो चरणको भेटघाट तथा अन्तरक्रिया गर्नुका साथै बन्दीपुर घुम्न निम्तो दिइने पालिका अध्यक्ष थापाले बताए ।
पोखरा, चितवन तथा काठमाडौंको बीच भागमा रहेको पर्यटकीय प्रमुख गन्तब्य बन्दीपुरलाई पहाडकी रानीको उपमा दिने गरिएको छ । पृथ्वी राजमार्गको डुम्रे बजारबाट ९ किलोमिटर उकालो बाटो गएपछि पुग्न सकिने बन्दीपुरबाट ४५ किलोमिटर लामो हिमालयको सुन्दर रेन्ज देखिने बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले बताए ।
‘तराइका जिल्लामा उखरमउलो गर्मी हुँदा शितल चिसो हावा चल्ने र जाडोमा तराइमा हुस्सु कुहिरो लाग्दा विहानै पहारिलो घाम लाग्ने बन्दीपुर आफैंमा अनुपम छ’, प्रधानले भने, ‘स्थानीय खाना, जातीय संस्कृतिको संगमका लागि पनि बन्दीपुर उत्तिकै महत्वपूर्ण छ ।’
विगतमा ठोरी हुँदै भारतदेखि तिब्बतसम्म हुने व्यापारको प्रमुख केन्द्रका रूपमा रहेको बन्दीपुरमा भक्तपुरे प्राचीनकला संस्कृति देख्न सकिने प्रधानले बताए । आउने नेपाली नयाँ बर्षका अवसरमा बन्दीपुरमा वृहत सांस्कृतिक कार्यक्रम गरी नयाँ बर्ष मनाउन यसपटक बन्दीपुर जाने भन्ने अभियानलाई तीब्र पारिने गाउँपालिका अध्यक्ष थापाले बताए । उनले महानगरका बैठकहरु बन्दीपुरमा गर्नका लागि अनुरोध गरिने बताए ।
बन्दीपुरका पर्यटन व्यवसायी बयस गुरूङले मुग्लिन डुम्रेको सडक अबको एक महिनाभित्र मर्मत सकिने भन्दै बन्दीपुर आउने पर्यटकलाई सहज हुने बताए । जाऔं है बन्दीपुर अभियानलाई लक्षित गरेर होटल लगायतका क्षेत्रमा विषेश अफर र प्याकेजहरु घोषणा गरिने उनले बताए ।
गाउँपालिकाले बर्षभरि नै चलाउने यो अभियानबाट १ लाखभन्दा बढी पर्यटकलाई बन्दीपुर भित्र्याउने योजना छ । गाउँपालिकाले विभिन्न पर्यटकीय केन्द्रहरुको जानकारी दिन डिजिटल क्यूआर बोर्डको समेत व्यवस्था गरेको छ । ती पर्यटकीय केन्द्रमा पुगेर क्यूआर स्क्यान गर्दा त्यसका बारेमा पूर्ण विवरणसहितको जानकारी पर्यटकलाई हुने पालिका अध्यक्ष थापाले बताए ।
बन्दीपुरमा साना ठूला गरेर ६६ वटा होटल छन् । एक पाँच तारे होटल र केवलकार निर्माणको अन्तिम चरणमा छ । बन्दीपुर क्षेत्रीय होटल संघ बन्दीपुर इकाइ अध्यक्ष संगीता प्रधानले बन्दीपुरमा एक रातमा होटलमा ५ सय, होमस्टेमा ४ सय जना बस्न सक्ने क्षमता रहेको बताइन् ।

पाहुनालाई ‘क्यू आर कोड’ मायाको चिनो

यस्तै, पहाडकी रानी बन्दीपुरमा आउने पाहुनालाई मायाको चिनो स्वरुप क्यू आर कोड प्रदान गरिएको छ । बन्दीपुर गाउँपालिका अन्तर्गत रहेका १७ वटा पर्यटकीयस्थल समेटिएको ‘क्यू आर कोड’ प्रदान गरिएको हो ।
बन्दीपुर गाउँपालिका अध्यक्ष थापाले आइतबार बन्दीपुरमा आयोजित मर्स्याङदी करिडोर अन्तरपालिका समन्वय बैठकमा सहभागि पाहुनालाई उक्त चिनो प्रदान गरेका हुन् । मर्स्याङदी करिडोरका अध्यक्ष भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीको सभापतित्वमा सम्पन्न बैठकले बिविध बिषयमा छलफल गरी निर्णय गरेको छ ।
उक्त बैठकले करिडोरभित्र रहेका पर्यटकीय स्थलहरू जोडने सर्किट निर्माण गरी दीर्घकालिन पर्यटनको विकास र प्रवर्द्धन गर्न तीन सदस्यीय पर्यटन उपसमिति गठन गरेको छ । उपसमितिमा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी संयोजक, राइनास नगरपालिकाका प्रमुख खडगबहादुर गुरुङ र बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापा सदस्य रहेका छन् ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker