पारकोट राज्य एक सिंहावलोकन
देव बस्न्यात

विषय प्रवेश
नेपालकाे गण्डकी प्रदेशमा पारकोट राज्य थियो भन्ने सुनिन्छ । बाइसे चौविसे राज्यको गणनामा नदेखिएको ऐतिहासिक पारकोट राज्यकुन थियो चासाेकाे विषय बनेको छ । खासमा पारकोट राज्य गण्डकी प्रश्रवण क्षेत्रको निश्चित कुन ठाउँमा थियो अहिले सम्म एकिन भन्न नसकी रहेको अवस्था भने हो । पारकोट नाम कसरी रहन गयो सो बारे पनि अध्ययन गर्न जरुरी छ । हाम्रा चलन चल्तीमा पारकोट धेरै कारणले निर्माण हुन सक्दछन् । जस्लाई यहाँ सिलसिलावश मिलाउने प्रयत्न गरिएको छ । पारकोट नाम कसरी रहृयो भन्ने विषयमा निम्न तर्कहरुलाई अघि र्सार्न सकिन्छ ।
क) परको कोटबाट पारकोट
नेपाली शब्दकोश अनुसार परको शाब्दिक अर्थ पराइ टाढा र भिन्न भन्ने जनाउँछ । यसैले आफु भन्दा दुरदराजकोलाई परको भन्ने गरिन्छ । टाढाका दूर्ग तथा कोटलाई हाम्रो बोलचालको भाषामा परको कोट भन्न थालियो । कालन्तरमा परको शब्दमा अन्त्यको “को” अक्षर लोप हुन गइ “प” अक्षरमा आकार सृजित हुन जाँदा पारकोट शब्द सृजित हुन गएको मान्न सकिन्छ ।
ख) पारीकोकोट बाट पारकोट
सर्वप्रथम पार शब्दले नदी वा समुन्द्रको पल्लो किनारीलाई पार भनिन्छ । त्यही पार शब्दबाट पार शब्दमा इ प्रत्यय लागेर पारी बनेको हो। यही हिसाबले आफु बसेको नदीको किनारलाई वारी र नदी तरेर जानु पर्ने ठाउँलाई नेपाली भाषमा पारी भन्ने गरिन्छ । नेपालको बाइसी तथा चौबिसी राज्यको शक्तिशाली पाल्पा राज्यका राजा मणिमुकुन्द सेनको पाल्पा राज्यको कालिगण्डकी पारी कोटदरवार रहेको छ । त्यही कोटदरवार नजिकै समाल वंशीय शाहा राजाको दरवार रहेको घिरिङ र साभुङहटिया नजिकमा रहेको एउटा कोटलाई माझकोट र अर्को कोटलाई पूर्कोट भन्ने गरिन्छ । यस्तै गरी गोरखा लमजुङको राइनासटार तथा गरमवेसी भन्दा पश्चिम तर्फ एउटा पूर्कोट भेटिन्छ । पाल्पाका जनताले कालीपारीको उक्त कोटलाई पारीको कोट भने झैं लमजुङ र गोरखाका राजाहरुले पनि मर्स्याङदी पारीको कोटलाई पारीको कोट भन्थे होलान कालन्तरमा त्यही पारीको शब्दको मध्येको अक्षर “री” को इकार लोप र “को” पछि ट अक्षर सृजित हुन गइ पारीको शब्द अपभ्रंश भई पारकोट भएको हुन सक्दछ ।
ग) पार राजा र प्राचीन चेकित ऋषिको संयुक्त नामबाट पारकोटलाई पारचे मात्र भनिएको होला ।
पूर्वीय साहित्य दर्शनको श्रीमद्भागवत पुराण अनुसार पार हस्तिनापुरका राजा रुचिराश्वको छोरा थिए । उनी महान ज्ञानी थिए । उनी हस्तिनापुरका राजा हस्तिका आठौं पुस्ताका सन्तान मानिन्छन् । पारकोटका म्लेच्छहरुको सर्वनाश गरेर पारले पारकोट राज्यको श्री गणेश गरेका थिए भनेर श्रीमद्भागवत पुराणले बताउँछ । उनै पार राजाले राज्य गरेको क्षेत्र हुनाले यो देशको नाम पारकोट रहन गएको हो भनिन्छ ।
हस्तिनापुरका राजा हस्तीका आठौं पुस्ताका सुचिराश्व (रुचिराश्व)का छोरा पारले गण्डकी क्षेत्रमा आफ्नो बाहुवलले पारकोट राज्यको स्थापना गरेका थिए । पार राजाले गण्डकी प्रशवण क्षेत्रको राज्यस्थापना गरेका उनको नामबाटै राज्यको नाम पनि पारकोट राखिएको पाईन्छ । पारका छोरा नीप हुन भन्ने विषयमा समेत गण्डकी माहात्म्य लेख्दछ ।
सोम वंशोदभव भवो राज सुचिरास्व महावल।
सुचिरास्व सुतः पारस्तपुत्र नीप एव च ।
परःपुरध्वंसी हिमशैले समागतः ।
हत्वाम्लेछान् विकरर्मर्र्थिचकार देशमुत्तमम् ।
हालको बन्दिपुर गाउँपालिकामा पारचे भन्ने स्थान भेटिन्छ । पारचे संगै मणिभञ्ज्याङ रहेको छ । ऋषिमुनीहरुको तपोभूमि क्षेत्रलाई मणि शब्दले सुशोभित गर्ने हाम्रो परम्परा हो । पहिले यही स्थानमा चेकित भन्ने एक प्राचीन ऋषिले तपस्या गर्दथे । चेकित ऋषि महानज्ञानी थिए। पार राजा र महानज्ञानी चेकित ऋषिको नामबाट यस स्थानलाई पारचेकित भनी सम्वोधन गरियो । पछि बोलचालको भाषामा जनजिब्राेले पारचेकित उच्चारण गर्न अप्ठयारो महसुस गरेकाले चेकितका पछिका दुइ अक्षरहरु “कित”को उच्चारण लोप गराइ पारचे मात्र भन्न सिकायो । अन्ततः पारचेकित शब्द अपभ्रंश भइ पारचे उच्चारण हुन गएको स्वाभाविक देखिन्छ। कालन्तरमा महान ज्ञानी राजा पारको राजधानी पारकोट शब्दमा महानज्ञानी चेकित समेत सम्बोधन हुने गरी पारकोटलाई पारचे भनेर उच्चारण गर्न थालिएको हुन सक्दछ ।
पारकोट बारे गण्डकी महात्म्यम् के भन्छ ?
काशीराम सुरी रचित गण्डकी महात्म्यमले पारकोट राज्यको पूर्वी सिमाना भन्नाले त्रिशुली नदीको जलाधार क्षेत्र र पश्चिममा कालीनदीको जलाधार क्षेत्रलाई बुझाउँछ भनेर । काशीराम सुरीले गण्डकी माहात्म्यम्मा पारकोट बारे यसरी उल्लेख गरेको पाउँदछौं ।
अन्तराले महानद्योः गडकीशुल गण्डयोः।
पारकोटाभिध्ययस्तस्याद्दे र्सवत्र विश्रुतः।।
(भावार्थ कालीगण्डकीको र त्रिशुली गण्डकीको प्रसवणक्षेत्रको बीचमा पारकोट नाम गरेको राज्य छ जुन संसारभरी प्रसिद्ध छ ।)
वर्तमानको परिवेशलाई हर्ने हो भने पनि नेपालका ७७ जिल्लाहरु मध्येमा गण्डकी प्रसवण क्षेत्रमा चितवन, धादिङ्ग, नुवाकोट, रसुवा, गोरखा, तनहुँ, लमजुङ्ग, कास्की, स्याङ्गजा, पर्वत, नवलपरासी, पाल्पा, गुल्मी, म्याग्दी र मुस्ताङ्ग जिल्लाहरु पर्दछन । आज भन्दा ५०० वर्षपहिले नै काशीराम सुरी रचित गण्डकी महात्म्यममा पार नाम गरेका राजाको पारकोट राज्य रहेको र सो राज्यको सिमाना पश्चिममा कालिगण्डकी र पूर्वमा त्रिशुली गण्डकी रहेको बताइएको छ । यदी गण्डकी प्रसवण क्षेत्रलाई आधार मान्ने हो भने पारकोट राज्य भानु नगरपालिकामा रहेको पूर्कोट वा भिमाद नगरपालिकाको साभुङ देउराली निकटको पूर्कोट हुन सक्ने सम्भावना बढि देखिन्छ । तत्कालीन परिवेशमा भानु नगरपालिका-४ पूर्कोट गण्डकी प्रदेशको बीचमा पर्ने भएता पनि कश्मिरका राजा जया पिड र पाल्पाका राजा मुकुन्दसेनसंगको सुखानी दुःखानी कहानी भिमाद स्थित पुरकोट नै हो भन्न पर्ने हुन आउँछ । पारकोटको सबै चन्दा पूण्यदायक शंकरतीर्थ मादीसेती नदीको संगम दमौलीमा पर्छ भन्ने विषयमा गण्डकी माहात्म्यम् यसरी बोलेको छ ।
पारकोटन्य तीर्थ च वर्तते पूण्यदायकम ।
माद्रिका शुल्क गण्डक्यो सङ्गमे शंकराभिदम् ।।५४।।
त्यसैगरी पराशर ऋषीले तपस्या गरेको शंकरतीर्थको गुफा अति नै शिद्धिदायक छ भनिएको छ ।
तपश्चकार तत्रैव पराशर महामुनि ।
पराशर गुहातत्र तपशिद्वि प्रदायिनी ।।५५।।
पारकोट राज्यमा मादी सेती नदीको संगमको पूण्यदायक तीर्थ नजिक पराशर गुफा रहेको छ । जहाँ पराशर ऋषि र मत्स्यगन्धावाट वेदशास्त्रका प्रवर्तक श्री कृष्ण द्वैपायन वेदव्यासको जन्म भयो ।
जज्ञे मत्स्योदरी पुत्रस्तत्र द्वीपे पराशरात ।
पुराण संहिताकर्ता वेद शास्त्र प्रवर्तक ।।५६।।
पारकोटको भूगोल कहाँ पर्दछ ?
पारकोट राज्यको भूगोल कुन हो र यस्को राजधानी कहाँ पर्दछ भन्ने विषय अहिले गौण बनेको छ । हुनत १५७५ मा पाल्पाका राजगद्दीमा आरोहण गरेका राजा मणिमुकुन्द सेनले पारकोटे राजाकी छोरी सुवर्णमालासंग वैवाहिक सम्बन्ध जोडेका थिए । पाल्पाली राजाहरुको सेन वंशावलीमा पारकोटे राजाका भानिज रुपनारायण इत्यादि महाराजधिराज विश्वाम्भर सेनदेव भनेर उल्लेख गरिएको छ । यसैले पनि पारकोटलाई राजा मुकुन्दसेनको ससुराली राज्य भनेर चिनाइने गरिएको छ । मुकुन्दसेनको ससुराली भनिएको पारकोट राज्य कहाँ पर्दछ भन्ने कुरालाई गण्डकी महात्म्यमले कालीगण्डकीदेखि त्रिशुलीनदीको प्रश्रवण क्षेत्रलाई मानेको छ ।
त्यसैगरी ज्ञानमणी नेपालले नेपाल निरुक्तमा उल्लेख गरे अनुसार पारकोट त्रिशुलीदेखि कालीगण्डकीसम्म मानेका छन् भे योगी नरहरिनाथ र नेपाल महर्षि जगमान गुरुङले पनि त्रिशुली, बूढीगण्डकी, मर्स्याङ्दी, दरौंदी (धर्मावती) चेपे, मात्स्येन्द्री (मादी), सेती, काली समेतको शप्तगण्डकी प्रदेशलाई पारकोट क्षेत्र मानेका छन् । वर्तमान स्थानका नाम परिवेश मिलाउँदा वर्तमान म्याग्दी बागलुङ, गुल्मी, पर्वत अर्घाखाँची पाल्पा, स्याङजा, तनहुँ कास्की, लमजुङ, गोरखा, धादिङ, नुवाकोट र मकवानपुर जिल्लाहरु पर्दछन् । भवदत्तले तयार पारेको सेन वंशावली अनुसार सन् १८०२ मा तुथारायले प्रयागबाट रिब्दीकोट आएर स्वतन्त्र राज्य स्थापना गरेका हुनाले तत्क्षणमा पाल्पाको सेन राज्यकालमा यति विशाल पारकोट राज्य कहिं कतै भेटिदैन ।
नेपालको ७७ जिल्लामा मगरहरुको बसोबास रहेता पनि मगरहरुको मुख्य थलोको रुपमा रोल्पा, डोल्पा, रुकुम, गुल्मी प्यूठान सल्यान, दैलेख, सुर्खेत, पाल्पा, स्याङजा, तनहुँ, पर्वत, गोरखा, रामेछाप, मकवानपुर नै पर्दछन् । हुनत मगरहरुको पूर्ख्यौली थलो डोल्पा तिर बसोबास गर्ने मगरहरुलाई काइके मगर, निशीभूजि पश्चिम निवासी मगरहरुलाई अठार मगराते र निशीभूजि पूर्व बसोबास गर्ने मगरहरुलाई बाह्र मगराते भन्ने गर्दछन् । बाह्रथरी मगरका बाह्रभान्सा भन्ने कारण पनि यही हो । अहिलेसम्म नेपालदेशस्य राजाअरीमुडी, छबिसकोट रोल्पामा जीतुमगर, बल्ढेंगगढीका राजा बलिहाँग रानामगर, पाल्पाका राजा मणिमुकुन्दसेन, मकवानपुर गढीका राजा गजलक्ष्मन सिंह, नुवाकोटका राजा भिञ्चाखान, भीरकोटका राजा खाञ्चाखान, लिगलिगकोटका राजा दल्सुर घलेमगर, गोरखाका राजा मानसिंह खड्का, म्याग्दी पाखापानीका राजा टुलुपिजा मगर नेपालका विभिन्न भूभागमा राजा भएको इतिहास पाइन्छ । पारकोट पनि मगर राज्य नै थियो ।
यसैले नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति नेपाली ऋषि डा जगमान गुरुङका अनुसार पनि कालिगण्डकी र त्रिशुली बीच क्षेत्रमा पारकोट राज्य रहेको स्वीकारेका छन् । यसै गरी नेपालीका महर्षि योगि नरहरिनाथका अनुसार काली गण्डकी तटमा मगरहरुको पारकोट राज्य गण्डक क्षेत्रमा रहेको व्याख्या गरेका छन् । कसैकसैले वर्तमान सत्यवतीताल, गुल्मीको चन्द्रकोट र कालिगण्डकी हुनसक्ने अनुमान गरेका छन् । तर वास्तवम पारकोट क्षेत्र तनहुँमा नै थियो भन्ने कुरा ५०० वर्ष अगाडि लेखिएको गण्डकी माहात्मयम् र वर्तमान भूगोल परिवेशले पनि त्यही बताउँछ । यसरी तत्कालीन समयका सिमा रहित राज्यहरु आपसमा झगडा र मारकाट गरी रहन्थे । ठूलामाछाले साना माछा खान्छ भने झै ठूला राज्यहरुले साना राज्यहरुको अस्तित्व समाप्त पार्ने गर्दथे । यस्तै यस्तै कारणले विशाल नेपाल मण्डल, विशा खसान राज्य विखण्डन र विशाल पाल्पा राज्यलाई भाइअंशमा बाँड्दा बाँड्दा बाइसी र चौबिसी राज्यहरुको सुत्रपात हुन पुगेको थियो ।
पारकोट राज्य कहाँ थियो यस बारेमा स्पष्ट हुनु जरुरी नै देखिन्छ । त्रिशुली र कालिगण्डकीको बीचमा स्याङ्गजा जिल्लाको पारकुट स्थल र तनहुँ जिल्लामा पुर्कोट भन्ने ठाउँहरु रहेका पाइन्छन् । त्यही पारकोट शब्द अप्रभंस हुँदै पारकुटी र पूर्कोट हुन गएको सान्दर्भिक देखिन आउँदछन । पारकोट सम्वन्धमा योगी नरहरिनाथले देवदेशो हिमालयमा लेख्नु भएको टिपोट जस्ताका तस्तै उद्धरण गरिएकोछ ।
“साङ्गजा-मण्डले भाति पारकुट-स्थली शुभा । भारद्वाजा भूमिभुजः पारकोटीय वंशजा ।
खञ्चा-मिञ्चा-कुलेजाता अष्टौ टीका गरीयसी ।
कनीयसी स्थायिनी च जाता कुलिश-देशिकात् ।।”
इसी गण्डकी अञ्चलकी स्याङ्गजा नुवाकोट जिलेमे कालिगण्डकीके पूर्व तट पर लसर्घाकि पास पारकुट या पारकोट शुभस्थल कालिका भैरव आदि देवताओंसे प्रतिष्ठित हैं । इसी पारकोटसे पारकोटीय या पारकोटे भारद्वाज गोत्री खाञ्चा मिञ्चा के वंशजोंकी आठ टिकाये प्रसीद्ध हैं । उनमेसें कनिष्ठ टीका कलिशदेशिकके कृपाकटाक्ष से स्थायीनी है ।”
राजा अरीमुडी र कश्मिरका राजा जयापिड
वास्तवमा पारकोट राज्य कहाँ पर्दथ्यो र पारकोटे राजा को थिए भन्ने विषयमा इतिहास मौन देखिन्छ । पारकोटका राजा अरमुडीको शासन कहिले थियो भनेर कल्पना गर्नुपर्दा कश्मिरका राजा जयापिडको शासनकाल वि.सं. ८३५ देखि ८६९ समयसम्म पुग्नै पर्दछ । विशाल खसान साम्राज्यको उपस्थिति हुनु २८१ वर्ष पहिला नै पारकोट राज्यको अस्तित्व थियो भनेर किटान गर्नु पर्दछ । वि.सं. ११५० देखि १४४८ सम्म विशाल खसान साम्राज्यको अस्तित्व रहेकोले त्योबेला पारकोट राज्यको स्थापना भएको सभंावना अत्यन्त क्षीण देखिन्छ । साँच्चै भन्ने हो भने खससाम्राज्यको पतन पश्चात नै पाल्पा राज्यको जग बसेको हो ।
वि.सं १२०५-१२०७ को अन्तरालमा कल्हणद्वारा लेखिएको राज तरंगिणीमा राजा जयापिड र राजा अरमुडीको युद्धको प्रसंग लेखिएको छ। युद्ध गर्न आएका जयापिडका सेना काली तर्न लाग्दा कस्मिरी सेनाको हात्ती घोडा सेना धन दौलत बगाएर लग्यो । जाेसमा हाेस गुमाएका राजा जयापिडलाइ पारकोटका राजा अरमुडीले नियन्त्रणमा लिइ बन्दी बनाएका थिए । कालकोठरीमा परेका राजा जयापिड मन्त्रीको चलाखीले उम्केर कश्मिर फर्किए र कहिले अरमुडीलाई फर्केर पनि हेरेनन् । पारकाेटकाे हविगत पनि खसान राज्यकाे जस्तै हुन गयाे ।
पाल्पाली राजा मणिमुकुन्द सेन र पारकोट राज्य
क) घिरिङकोट
पाल्पाका राजा मणिमुकुन्दसेन वि.सं. १५५५ मा पाल्पा दरवार जन्मेका थिए । उनी पाल्पाली राजा रुद्रसेनका जेष्ठ सुपुत्र पनि हुन् । रुद्रसेन पाल्पाका राज्यका संस्थापक राजा मानिन्छन् । आफ्नो राज्यलाई स्थायित्व दिन पनि राजा रुद्रसेनले शक्तिशाली राज्य पारकोटे राजाकी दिदी शकुनमालासंग विवाह गरेका थिए । राजा रुद्रसेनको मरणोपरान्त मणिमुकुन्द सेन पाल्पाका राजगद्दीमा बसे । २० वर्षको लोर्के उमेरमा वि.सं. १५७५ देखि १६१० सम्म पाल्पाको अधिपति भई राजाकाज गरेका थिए । यसैगरी पाल्पाका राजा मुकुन्दसेनले पारकोटका राजाका छोरी अंशुमालासंग विवाह गरी पाल्पा राज्यको पूर्वी विजय अभियानलाई मजबुत बनाएका थिए । तथापि तत्कालीन समयमा डोली प्रथा थियो । कन्या लिन टाढाटाढाका देशमा जाने प्रचलन थियो । वरियाँत जानेकाम राजाको लागि सजिलो थिएन । नाता सम्वन्ध जोर्ने नाममा पाल्पाका राजा पृथ्वीपालले आफ्नो ज्यान र राज्य गुमाएको इतिहास साक्षी छ । यसैले राजा मकुन्दसेनले पाल्पा रामपुर पारीको वा परको कोट पार्कोटका (घिरिङकोट ?) राजाका छोरीसंग विवहागरेका थिए । नाता सम्वन्धका कारण पनि मुकुन्दसेनले आफ्नो वृहत पाल्पा राज्यलाई सहज र सरल बनाएका थिए भनिन्छ ।
विशाल पाल्पा राज्यको निर्माण हुँदा पनि राजा मणिमुकुन्द सेनले ससुराली राज्यलाई कहीं कतै दखल गरेको पाईंदैन । मुकुन्दसेनले दखल नगरेको पूर्वका राज्यहरुमा तनहुँका ढोर र घिरिङ राज्यहरु पनि पर्दथे । हुनत बाइसे चौबिसे राज्यहरुको सिमाना परिवर्तन भइरहने कारणले साविक साभुङहटिया गाउँ विकास समितिको देउराली नजिकको पूर्कोट रिसिङ राज्यको सिमाना भित्र पर्न गएको हुन सक्दछ । पाल्पाका राजा मुकुन्दसेनले पारकोटकी राजकुमारी शुवर्णमालाका अतिरिक्त गुल्मीकी राजकुमारी पुष्पमाला, प्यूठानकी राजकुमारी महिमावती र स्थानीय कन्या मायावतीसंग पनि मागी विवाहगरेका थिए । (श्रोत- इतिहासका पार्कोटे मगर राजा : डा. मिन श्रीस मगर) पारकोटे राजाको सहयोगमा पाल्पाका राजा मुकुन्दसेनले पाल्पाको सिमाना पूर्वमा टिष्टा र पश्चिम काङ्गडासम्म पुर्याएका छन् भन्ने गरिएता पनि उनको पश्चिमा सिमाना कालिगण्डकीसम्म रहेको थियो ।
ख) पर्वत जिल्लाको अरमादी
अरमादी बडिगाड पूर्व र कालीगण्डकी पश्चिमको भूभाग अर्थात वर्तमान सत्यवती, चन्द्रकोट र कालिगण्डकी गाउँपालिका क्षेत्रमा सिमित रहेको बुझिन्छ । पर्वत जिल्लाको कुस्माबाट एक कोष पश्चिमोत्तर क्षेत्रमा अरमादी नामक बस्ती छ । यो क्षेत्र काठमाडौं-पोखरा-जुम्ला आवत जावत गर्ने मुख्य पहाडी हुलाकी मार्गमा पर्दछ । यो चलन चल्तीको प्रसिद्ध दूर्ग पनि हो ।
यसैगरी अर्कोतर्फ काली गण्डकी किनारमा गुल्मीको भेगमा अरबेनी नामक गाउँ रहेको छ । सायद राजा अरमुडीको राजधानी यही पनि हुन सक्दछ । पूर्वतर्फ बल्ढेङगढी खाची अर्घा पूर्व तर्फ गुल्मी बडिगाढकाली गण्डकी बीचको संगमस्थल रुद्रवेनी खण्डमा भार्से अर्कुल राज्य रहेको थियो । रुद्रवेनीदेखि उत्तरीखण्डमा गुल्मी (कालीपार) मगरराज्य हुन सक्दछ । बडिगाड पश्चिमका गुल्मीहरुलाई अहिले पनि पार गुल्मी भनिन्छ । वि.सं. १७९५ मा गुल्मीले पारकोटलाई पराधीन बनाएपछि मगरकुल बाहेक अर्कै कुलमा सत्ता हात पर्न गएको इतिहास बताउँछ । डा. विष्णु प्रसाद घिमिरेका अनुसार पारकोट राज्य पाल्पा राज्यको उत्तरमा रहेको थियो । पर्वतका राजा प्रतापि नारायण मल्लले राजा मुकुन्दसेनकी छोरी विश्रवासेनसंग विवाह गरेका थिए । राजकुमारीको विश्रवाको साथ साथै पर्वतका राजा नारायण मल्लले इष्टदेवी काली पनि संगसंगै लगेका थिए । पारकोट कहाँ पर्दछ भन्ने विषयमा अभियान्ताहरुको आ-आफ्नै डम्फु बजाउनमा व्यस्त छन् । कोही पारकोट कहाँ पर्छ भनेर मिल्दा जुल्दा प्रसंगहरु जाेड्न आइपुग्दछन् ।
पर्वतको कुश्माको पश्चिमोत्तर खण्डमा अरमाडी नामको एउटा गाउँ भेटिन्छ । गुल्मी जाने बाटोमा कालिगण्डकी किनारमा अरबेनी गाउँ भेटिन्छ । पूर्वी गुल्मीको रुद्रवेनीदेखि उत्तरमा पार गुल्मी भन्ने स्थान पनि रहेको छ । यसैगरी कार्की बाटुलेचौर भन्दा माथि अरमाल भन्ने गाउँ र तनहुँको बन्दिपुर गाउँपालिकामा पार्चे र पारकुना नाम गरेका स्थान भेटिएकाले सायद अरमुडीको नामको संयोग त्यतै त्यतै मिलेकोले पार्कोट राज्य पाल्पाको उत्तरमा थियो भन्ने सहयोग मिलेको छ । राजा अरमुडीले बसोबास गरेको हुनाले पनि सो स्थानको नाम आरमाडी नाम रहृयोकी भन्न सकिने स्थिति रहेको पाउँदछौं । हुनत कास्मिरी भाषामा अरमुडीको अर्थ भिक्षु मानिन्छ । पाल्पा, स्याङजा बडीगाड पश्चिमका मानिसहरुले पारीको कोट भन्दा पारकोट भएको हुन सक्ने बताए । अझै पनि बढीगाडका भार्सेलीहरुले अर्कुल दरवार भन्न थालेको लोककथन जीवन्त रहेको छ । बागलुङको निशीखोलाका भूजेलहरुमा सेन भूजेल र निस्याल भूजेल दुइ थर पाइन्छन् । अहिले उनीहरु गुल्मीको तम्घासमा पनि भेटिन्छन् । बास्तवमा तत्कालीन पर्वत राज्यको गृष्मकालीन राजधानी ढोरपाटन र शरदकालीन राजधानी म्याग्दीको वेनी भएको इतिहास पाउँदछौं ।
पारकोटका राजा अरमुडी र कश्मीरका राजा जयापिड
कल्हणका राजा तरंगिणीबाट नेपालका राजा अरमुडीसंगको लडाइले पनि केही जानकारी दिने विश्वास गरिन्छ अरमुडीबाटै अनामुनी भएको हो की भन्ने अनुमान गर्न सकिन्छ । महाकवि कल्याणले आफ्नो राजतरंगिणीमा एक पटक कस्मिरका राजा जयपिडले अरमुडीको सेना माथि आक्रमण गरेको कहानी उल्लेख गरेकाछन् । अरमुडी जयापिडसंग युद्ध नलडी पछि हट्दै हटदै कालिगण्डकी सम्म आए । आफ्ना सेनाहरुलाई कालीको पानी थुन्न लगाए । कस्मिरी राजा जयापिडको सेना काली तर्न लाग्दा थुनेको कालीको पानी खोलेर जयापिड सहित सयौ कस्मिरीहरुलाई कालीमा बगाइदिए र जयापिडलाई बन्दी बनाइ थुनी रहे । केही समय पछि जयापिडका मन्त्रीले राजालाई बन्दी गराएको कुरा थाहा पाई आफ्नो जीवनको उर्त्र्सग गरी राजा जयापिडलाई भगाएको ऐतिहासिक सत्यता राजा अरीमूडीसंग जोडिन आउँछ ।
अरमुडी संस्कृत शब्द हो । अरिको अर्थ शत्रु र मुडीको अर्थ मर्दन हुने गर्दछ । बाह्रमगरातमा शासन गर्ने अरमुडी मगर वंशजका थिए भन्न सकिन्छ । कालिगण्डकी क्षेत्र हिन्दु धर्मका अनुसार आठसिद्धिमा अणिमा, अहिमा, महिमा, गरिमा, लाधिमा, प्राप्ति, प्राम्य, इत्वि र जशीत्व रहेका छन् । अणिमा सिद्धि प्राप्त गर्ने जाति अनामणि या अरमुडी हुन सक्दछन् । (श्रोत-अनामणि बारे केही जिज्ञासाहरु (३ चैत्र २०७५ खोज अनलाइन – नेवारहरुको एक जाति अनामणि नवौं शताब्दीका राजा अरमुडी)
अन्त्यमा
तनहुँ जिल्लाको बन्दिपुर बजारको पश्चिममा रहेको मुच्चोक डाँडामा काखमा रहेका पारकुना, बन्दिपुरको रेसम खेती कार्यालय भन्दा केही तल थरुवास सो भन्दा केही तलको पारचे डाँडाले पार राजाको राजधानी बन्दिपुर थियो भन्ने संकेत गर्दछ । सुचिरास्वका छोरा पारले म्लेचछहरुलाई बसमा पारी पारकोट राज्यको स्थापना गरेको र पारको छोरा निपले नेपाल राज्य निर्माण गरेको कुरा गण्डकी महात्म्यमले बताउँछ । निप राजाको रजस्थल व्यास-१२ पोखरीभञ्ज्याङको बगलमै रहेको नीपस्वाँराले अहिले पनि दिइरहेको छ । जसलाई अहिले निबुवा स्वाँरा भनेर चिन्ने गरिन्छ ।
पारस्यो तनयो नीपः शिवभक्तो महामतिः।
समाराध्य शिवं तत्र नेपालस्तेन निर्मितः।।
पारका छोरा नीप शिवभक्त र बुद्धिमान हुनुहुन्छ जस्ले शिवको आरधना गरेर नेपाल राज्यको रचना गरेका थिए । बाह्रौ शताब्दिका राजा नागराज, सोह्रौं शताब्दीका राजा मुकुन्दसेन, सत्रौं शताब्दीका राजा प्रताप मल्ल र रामशाह र अठारौं शताब्दीका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको प्रयत्न गरेका हुन् । अरु राजा भन्दा पृथ्वीनारायण शाह बढी महत्वकाँक्षी र रणनीतिक भएकाले समग्र नेपाल एकीकरण अभियानलाई मूर्तरुप दिन सफल देखिएका हुन् । राजा पारले रचेको पारकोट र नीप राजाले रचेको बाइसी तथा चौविसी राज्य, मल्लहरुको नेवा राज्य, राइ तथा लिम्वुहरुको किराँत राज्य र सिमरौनगढ लगायतमा विभाजित झिनामसिना राज्यहरुलाई एकीकरण गर्ने सामर्थ्य र एकीकरण गरेको राज्यलाई धान्न सक्ने सामरिक सामरिक क्षमता, राजनीति र प्रशासकीय सबै क्षमताहरु आज पर्यन्त पृथ्वीनारायण शाहमा विद्यामान देखिएका छन् ।










