यात्रास्मरण : उद्देश्वविनाको भ्रमण उपलब्धिबिहीन र खल्लो

प्राचीन हिन्दु संरचनाको उच्चतम नमुना : बाली

  • विष्णु गिरी ‘निश्चल’

हरेक घुमफिरले मानिसको जीवनलाई फरक दृष्टिकोण दिन सक्छ। नयाँ ठाउँ, नयाँ संस्कार र नयाँ अनुभवले सोच्ने तरिका नै बदल्न सक्छ। तर यसका लागि भ्रमण योजनाबद्ध र उद्देश्यपूर्ण हुनुपर्छ। उद्देश्यबिनाको भ्रमण रमाइलो त हुन सक्छ, तर उपलब्धिविहीन र खल्लो बन्ने सम्भावना पनि उत्तिकै हुन्छ।

पछिल्लो समय इन्डोनेसियाको बाली द्वीप नेपालीहरूको लोकप्रिय भ्रमण गन्तव्य बनेको छ। विशेषतः बिदा मनाउन, हनिमुनका लागि, परिवारसँग समय बिताउन तथा मनोरञ्जनका लागि धेरै नेपालीहरू बाली पुग्ने गरेका छन्।

कामको सिलसिलामा पर्वतमा रहेका बेला एकजना साथीले फोन गरेर पासपोर्टको प्रतिलिपि माग्नुभयो। कारण नबुझीकनै प्रतिलिपि पठाएँ। केही समयपछि मात्र थाहा भयो—हामी इन्डोनेसियाको बाली जाने तयारीमा रहेछौं। हाम्रो १० जनाको टोली बन्यो, तर एकजना साथी कामको कारण जान सक्नुभएन। हामी नौजना फागुन १ गते राति काठमाडौं बाट प्रस्थान गर्यौं र बैंकक हुँदै बाली पुग्यौं।

मैले यसअघि धेरै देशको भ्रमण गरिसकेकोले यात्रा त्यति नयाँ लागेन, तर टोलीका केही साथीहरू पहिलो पटक विदेश जाँदै हुनुहुन्थ्यो। उहाँहरूको उत्साह छुट्टै देखिन्थ्यो। बाली विमानस्थलमा पुग्दा अध्यागमन प्रक्रिया निकै प्रविधिमैत्री लाग्यो। मेसिनबाट पासपोर्ट स्क्यान गर्ने, फोटो खिच्ने र आफैं प्रक्रिया पूरा गर्ने व्यवस्था रहेछ।

हामीमध्ये धेरै साथी होटल तथा आतिथ्य क्षेत्रमा कार्यरत भएकाले रमाइलोसँगै केही सिक्ने उद्देश्य पनि थियो। विमानस्थलबाट सिधै होटल पुग्यौं। सुरुमा व्यवस्थापन देख्दा केही निराशा लागे पनि पछि होटलले अपेक्षाअनुसार सेवा प्रदान गर्‍यो।

विश्वकै सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको मुलुक इन्डोनेसिया हो। तर बाली हिन्दुबहुल क्षेत्र रहेछ। त्यहाँ हिन्दु परम्परा, संस्कार र सामाजिक व्यवहार अझै जीवित रहेको पाइयो।

शहरका चोकचोकमा हिन्दु धर्मग्रन्थका पात्रहरूका मूर्ति देखिन्छन्। कतै अर्जुन, कतै कृष्ण–अर्जुन संवादको दृश्य झल्काउने सालिकहरू देख्न पाइयो। महाभारत मा वर्णन गरिएका पात्रहरू यहाँ जीवित संस्कृतिका रूपमा भेटिन्छन्।

यात्राका क्रममा कुटा बीच सहित केही मन्दिरहरू अवलोकन गरियो। मन्दिर प्रवेश गर्दा शरीर ढाक्ने वस्त्र अनिवार्य रहेछ। हामीले त्यहाँ उपलब्ध लुंगी लगाएर मन्दिर परिसर अवलोकन गर्यौं। मन्दिरहरू प्यागोडा शैलीका भए पनि नेपालका मन्दिरभन्दा अग्ला र धेरै तलायुक्त देखिन्थे।

भ्रमण केवल मनोरञ्जनका लागि मात्र नभई सिक्ने र बुझ्ने अवसर पनि हो। तर अहिले धेरै मानिस भ्रमणलाई केवल रमाइलो र तस्बिर खिच्ने माध्यममा सीमित राख्ने गरेको देखिन्छ। भ्रमणपछि “बेकारमा गएछु” भन्ने भावना आउनु भनेको भ्रमणको उद्देश्य स्पष्ट नभएको संकेत हो।

इन्डोनेसियाका मानिसहरू मित्रैलो, धैर्यवान र अतिथि–सत्कारमा विश्वास गर्ने स्वभावका छन्। खानपानमा भात, मसलादार परिकार र फलफूलको प्रयोग बढी पाइन्छ। बालीका सडकहरू व्यवस्थित भएकाले यातायात सहज लाग्यो। जाम र अव्यवस्थाको चिन्ता कम भएकाले पर्यटकले समयको राम्रो सदुपयोग गर्न सक्छन्।

उलुवातु मन्दिर प्राचीन हिन्दु संरचनाको उत्कृष्ट नमुना मानिन्छ। चट्टानको टुप्पोमा रहेको यो मन्दिर धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ। बालीको समग्र वातावरण हेर्दा हिन्दु कला–संस्कृतिको जीवित संग्रहालयजस्तो अनुभव हुन्छ।

मन्दिरका सिँढीहरूमा हनुमान र सिंहका मूर्तिहरू राखिएका देखिन्छन्। कतिपय मूर्तिहरू कपडाले ढाकिएका थिए। मन्दिर संरचनामा सूक्ष्म कलात्मकता झल्किन्छ। केही मन्दिरका छानामा स्थानीय झिगटी प्रयोग गरिएको पाइयो भने घण्टा, ध्वजापताका र गजुर भने कम देखियो।

देवतालाई चढाइने पूजा सामग्री पनि फरक खालको लाग्यो। केराको पातमा धूप, फूल, अक्षता, बिस्कुट, चकलेट, भात, तरकारी र कहिलेकाहीँ चुरोटसमेत चढाइएको देखियो। घरको मूलढोकामा समेत पूजा गर्ने चलन रहेछ।

करिब २७ करोड जनसंख्या भएको इन्डोनेसियामा मुस्लिम समुदाय बहुसंख्यक भए पनि धार्मिक सहिष्णुता उल्लेखनीय देखिन्छ। ‘विविधतामा एकता’को भावना समाजमा स्पष्ट देखिन्छ।

भारतीय तथा हिन्दु संस्कृतिको प्रभावका कारण नेपालीहरूले बालीमा अपनत्व महसुस गर्न सक्छन्। समुद्र नछोएको देश नेपालका नागरिकका लागि बालीको समुद्री अनुभव विशेष लाग्छ।

बाली जंगल, ज्वालामुखी पहाड, समुद्री तट र कोरल चट्टानका लागि प्रसिद्ध छ। गरुड विष्णु केन्काना सांस्कृतिक पार्क, तनाह लट मन्दिर, बेसाकीह मन्दिरउबुद मंकी फरेस्ट जस्ता स्थानहरू प्रमुख आकर्षण हुन्।

आजभोलि नेपाली ट्राभल कम्पनीहरूले बाली, सिंगापुर, मलेसियाथाइल्याण्ड का प्याकेज टुर सञ्चालन गर्न थालेका छन्।

विदेश भ्रमण गर्दा सहयात्री छनोट पनि महत्वपूर्ण हुन्छ। उद्देश्य, रुचि, खर्च र विचार मिल्ने साथी भए भ्रमण अझै सुखद हुन्छ। मनोरञ्जन, अध्ययन वा व्यापार—भ्रमणको उद्देश्य स्पष्ट भए मात्र यात्रा उपलब्धिमूलक बन्न सक्छ।

यात्राले मानसिक शान्ति दिन्छ, दृष्टिकोण विस्तार गर्छ र जीवनलाई नयाँ ऊर्जा दिन्छ। त्यसैले भ्रमण केवल घुमफिर मात्र होइन—सिकाइ र अनुभूतिको यात्रा पनि हो।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker