शाश्वत धाम पर्यटन र देवचुली डाँडा
के.बी. मसाल

अहिले फुर्सदको समयमा घुमफिरको लागि धेरै मानिसहरु यात्रामा निस्कने गर्दछन । फुर्सदको समय र रुचि अनुसार आफ्नो घुमफिर गर्ने स्थलको तय गर्दछन । पर्यटकहरु घुमफिरमा जादा तीर्थाटन, प्राकृतिक, सांस्कृतिक ऐतिहासिक र पुरातत्विक स्थलको खोजिमा हुन्छन । यस किसिमका सम्पदा पर्यटकीय क्षेत्रमा कहिलै पुराना हुँदैनन् । तर ती सम्पदाहरुको संरक्षण हुनु पर्दछ । गण्डकी प्रदेश नवलपुरको देवचुली नगरपालिका दुम्कौलीमा रहेको शाश्वत धाममा आजभोली पर्यटकहरुको घुइचो हुने गर्दछ । शाश्वत धामको परिसर प्रवेश गर्न नपाउदै पर्यटकहरुले हातहातै भएको क्यामेरासहितको मोवाइल फोन खिचिक्क, खिचिक्क, खिचिक्क ! हुन थाल्छ । मोवाइल मात्र हैन, ठूला क्यामेराको ‘सटरस्पिड’ दबाउने पर्यटकहरुको संख्या पनि कमिहुँदैन ।
शाश्वत धाम पुगेपछि शान्त वातावरणले मन आनन्दित तुल्याउँछ । निजी सवारी साधन प्रयोगकर्ता मात्र होइन बसबाट यात्रा गर्ने अधिकांश मानिसहरु शाश्वत धाम प्रवेश गर्दछन । शाश्वतको अर्थ हो कहिले पनि नाश नहुने, सधैभरि रहिरहने, चिरस्थायी, नित्य, सनातन र चिरन्तर हुन्छ । नारायणघाट भन्दा पश्चिम २३ किलोमिटरको दुरीमा पूर्वपश्चिम राजमार्गसंग जोडिएको चौधरी उद्योग ग्रामसँगै रहेको शाश्वत धाम पर्यटनको गन्तब्य बनेको छ । शाश्वत धामको निर्माण उद्योगपति विनोद चौधरीले गरेका हुन् । सनातन धर्मको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण भएको शाश्वत धाममा आजभोली दैनिक ५ हजार भन्दा धेरै पर्यटकहरुले तीर्थाटन र अवलोकन गर्ने गरेका छन् । शाश्वत धामको महत्व बुझन र तीर्थाटन गर्न नेपालका मात्र होइन भारत लगायत विभिन्न देशका पर्यटकहरु पुग्ने गरेका छन। भारतको काञ्चि मठका पिठाधिश शंकराचार्य जयन्द्र सरस्वतीले उद्योगपति विनोद चौधरीका पिता स्व. लुनकरण चौधरीलाई मानिसहरुमा सकारात्मक धाराणाको विकास गराउन उद्योग परिसरमा शाश्वत धाम निर्माण गर्न आशिर्वाद दिएका थिए । पिताले प्राप्त गर्नु भएको आशिर्वादलाई मुर्तरुप दिनको लागि छोरा विनोद चौधरीले शाश्वत धाम निर्माण गरेका हुन ।
शाश्वत धाम चौधरी उद्योग ग्रामसँगको ८० बिघा जमिन भित्रको परिसरमा करिव सात विगाह क्षेत्रफलमा फैलिएको छ । शाश्वत धामको मध्य भागमा दक्षिण भारतमा प्रसिद्धि कमाएको खजुरावान शैलीमा बनेको बुट्टादार तथा अत्यन्तै मनमोहक श्री काञ्ची शंकरा सदाशिवलिंगको मन्दिर रहेको छ । पाटनको कृष्ण मन्दिर जस्तै देखिने सदाशिवलिंगका मन्दिरलाई चारैतिरबाट तालले घेरेको छ । यसरी निर्माण भएको तालमा बद्री, केदार, हरिद्वार, मुक्तिनाथ, पशुपतिनाथ जस्ता प्रसिद्ध धार्मिक तीर्थस्थलबाट ल्याइएको जल मिसाइएकोले ताललाई सर्वातीर्थ सरोवर नामाकरण गरिएको छ । शाश्वत धाममा गुरुकुल विद्याश्रम, अखण्ड अग्नि कुण्ड, शक्ति घाट, धर्मशाला, यज्ञ कुण्ड, हनुमान मन्दिर, धार्मिक प्रदर्शनी स्थल, धार्मिक संग्राहलय, डिजिटल धार्मिक पुस्तकालय, हेरिटेज बिल्डिंग हल, गौशाला, अर्गानिक फार्म, ४५ जनाको लागि आवासीय सुविधा भएको योगा तथा ध्यान केन्द्र, चमेना तथा भोजनालय, धार्मिक तथा प्राचिन दुर्लभ वस्तु पाइने उपहार घर स्थल, विश्राम स्थल लगायत वैदिक सनातन धर्मसंग जोडिएका अन्य महत्वपूर्ण स्थलहरु रहेका छन् ।
शाश्वत धाम खजुरवानको शैलीमा निर्माण भएको छ । खजुरवान शैली दक्षिण भारतमा प्रचलित शैली हो । धाम मध्य भारतिय प्राचिन सम्भयतामा आधारित खजुरावान शैलीमा बनेको एकम्बरेश्वर मन्दिर हो । शाश्वत धामको निर्माण गर्दा दक्षिण भारतिय शैलीमा पश्चिमेली शैली र नेपाली शैली पनि मिसाउने प्रयास भएको छ । शाश्वत धाम निर्माण गर्न मुस्लिम कालिगढहरुले पनि काम गरेका थिए । शाश्वत धाम मन्दिरमा शंकरचार्य मठका कालिगढले बनाएको शिवलिंग पनि छ । मन्दिरभित्र विभिन्न १६ देवी देवताका मूर्तीहरु छन्। चारैतिर ढुंगाले खोपेर बनाइएका साना स्पिकरबाट त्यहाँ पुग्ने पर्यटकहरुले मधुर आवाजमा भजन सुन्न पाउँछन अहिले धेरै मानिसमा निरासा हुने गरेको छ । सबै मानिसले आत्मशान्ति खोजिरहेका छन । शान्तिपूर्ण र उर्जायुक्त वातावरणमा मानसिक र आत्मिय शान्तिको अनुभवका लागि तीर्थाटनका पर्यटकहरु शाश्वत धाम पुग्ने गरेका छन ।
शाश्वत धाम परिसरमा निर्माण गरिएका संरचना काठको बुट्टा जस्तो देखिएपनि सिमेण्टबाट बनाइएको हो । धामभित्र १२ राशी र २७ नक्षत्रअनुसारका रुख बिरुवाहरु समेत रोपिएका छन् । तीर्थाटन पर्यटकीय स्थलको रुपमा विकास भएको शाश्वत धाम परिसरमा पशुपतिनाथ मुक्तिनाथ, स्वर्गद्वारी, गोर्साईकुण्ड, बद्रीनाथ, केदारनाथ, हरिद्धारा लगायतका धार्मिक स्थलहरुको डिजिटल प्रविधिद्वारा दृष्यवलोकन गर्न समेत पर्यटकहरुले पाउछन । मन्दिर भित्र विभिन्न १६ देवी देउताको आकर्षक मुर्तीहरु समेत राखिएको छ । मन्दिरको तल धार्मिक संग्राहालय बनाइएको छ । जसले गर्दा तीर्थाटनका पर्यटकहरुलाई थप अध्ययनको सुविधा समेत भएको छ । संस्कार विश्वविद्यालयको रुपमा लैजाने उद्देश्यले धाम भित्र निर्माण गरिएको गुरुकुल विद्याश्रममा विद्यार्थीहरु अध्ययनरत छन् । यी विद्यार्थीहरुलाई कक्षा आठसम्मको धार्मिक शिक्षा प्रदान गरिदै आइएको छ । शाश्वत धाममा विशेष पुजा, ब्रतबन्ध, लगायत कर्मकाण्ड गर्न समेत मानिसहरु जाने गर्दछन ।
शास्वत धाममा श्रीलंकाबाट भगवान गौतम बुद्धको अस्तु ल्याइएको छ । अस्तु शाश्वत धाममा निर्माण गर्न लागिएको बुद्धिष्ट सेन्टरमा राखिएको छ। अस्तु दर्शनका लागि अहिले बौद्ध र हिन्दु धर्माबलम्बी पर्यटकहरुको भीड लाग्ने गर्दछ । शास्वत धाममा राखिएको अस्तुलाई श्रीलंकाबाट आएका भिक्षुहरुको टोलीले विधिपूर्वक दैनिक पुजा अर्चना गरिरहेका छन् । श्रीलंकाको राजधानी कोलम्बो नजिकैको २६ सय वर्ष पूरानो राजमाया बिहारवाट भगवान गौतम बुद्धका अस्तु शाश्वत धाममा ल्याइएको हो । बौद्ध भिक्षु खेम्पो पेमा सम्बा लामाले भगवान बुद्धको अस्तुलाई प्राणीको उद्धार गर्नका लागि साक्षात भगवान मानिने भएकाले बुद्ध धर्ममा यसको सबैभन्दा उच्च महत्व रहेको छ । तत्कालिन सम्राट अशोकले ति आठ पबित्र स्थल चैत्य मन्दिरमा रहेको अस्तुलाई उत्खनन् गरी आफ्ना ८४ हजार भिक्षुहरुलाई बितरण गरेको भनाई छ । त्यतिबेला बितरित अस्तुलाई संसारका ८४ हजारभन्दा बढि स्थलका चैत्यहरुमा राखिएको विज्ञहरु बताउछन् । सनातम धर्मको प्रवर्धनका गर्न शाश्वत धाम नेपाल र अन्य मुलुकका तीर्थाटन पर्यटकहरुका लागि प्रख्यात धार्मिकस्थलका रुपमा स्थापित भएको छ ।
शाश्वात धाम पुग्ने पर्यटकहरु आफ्नो घुमफिरको समय लम्बाउन चाहनेहरुको लागि हाइकिङ अर्थात पैदलयात्रा पनि गर्न सक्दछन । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझ्दा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल यात्रा गर्ने भन्ने अर्थ लाग्दछ । शाश्वात धाम पुगेपछि पर्यटकहरुलाई हाइकिङ गर्ने स्थलहरु धेरै छन । पर्यटकहरु स्वभाबैले नयाँ ठाउँ र नयाँ बस्तु हेर्न लालायित हुन्छन । नयाँ ठाउँको प्राकृतिक सौन्दर्य, जैविक विविधता, ऐतिहासिक तथा साँस्कृतिक सम्पदा पर्यटकहरुका लागि आकर्षणको गन्तव्य हुन्छ । नवलपुर क्षेत्रमा पर्ने महाभारत पर्वत श्रृखलाको सबैभन्दा अग्लो चुचुरो देवचुली हो । देवचुली थारु र मगर समुदायको आस्थाको धरोहर पनि हो । थारुहरुले यसलाई कुमारवर्ती माईको रुपमा पुज्ने गर्दछन् भने मगरहरुले तीन कन्या माईको रुपमा । शाश्वात धाम पुग्ने पर्यटकहरु मध्य धेरै जना देवचुली पुग्न खोज्दछन ।
राजमार्गको दलदले बजारदेखि २५ किलोमिटर उत्तरमा देवचुली डाँडा पर्दछ । अर्को तर्फ कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीको यात्रामा देवचुली डाँडा पुग्न सकिन्छ । देवचुली डाँडा र आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्व तथा तीन कन्यामाईको मन्दिर संरक्षण हुन थालेपछि देवचुली डाँडामा पुग्ने पर्यटकहरुको सख्या बढन थालेको छ । देवचुली डाडाँमा परापूर्वकालदेखि तीन कन्यामाईको पूजा हुदै आएको छ । जुन कारणले देवचुली डाडाँको महत्व पर्यटन इोत्रमा बढदै गएको छ । देवचुलीको डाडा एक हजार नौ सय ३६ मिटर उचाइमा पर्दछ । देवचुलीको अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य र दक्षिणतर्फका मनमोहक खेतीयोग्य फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न सुन्दर बस्तीहरुको दृश्यावलोकन पर्यटकहरुले गर्न सक्दछन । देवचुलीको नजिकै द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको गुफा पर्दछ । पर्यटनका लागि गुफाको छुट्टै महत्व छ । गुफाभित्र मानिस र बिभिन्न जनवारका आकृति मात्र होइन सारङ्गीको धुन निस्कने ढुङ्गाका कारणले पर्यटकहरु दंग पर्दछन ।
देवचुली डाडाँमा पदयात्रामा जाने पर्यटकहरु चुलीबोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरु पनि धेरै हुन्छन । बुलिङटार गाउँपालिका वडा नं ४ मा चुलीबोझा सामुदायिक मगर होमस्टे पर्दछ । चुलीबोझामा रहेको होमस्टेबाट देवचुली र वरचुली डाँडा, उत्तरतर्फ धौलागिरी, माछापुछ्र्े र अन्नपूर्ण हिमालको मनोरम दृष्य, धौवादीको फलामखानीको डाँडा समेत अवलोकन गर्न सकिन्छ । होमस्टेमा पर्यटकहरुका लागि स्थानीय खाना ढिँडो, लोकल कुखुराको मासुसहित स्थानीय खाना खुवाउने गर्दछन । बोझा पोखरी होमस्टेमा मगर समुदायको कौरा, झयाउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाचले पर्यटकहरु रमाउँछन। पर्यटकहरुको लागि देवचुलीको चचुरोमा भ्यूटावर, ठाउँ ठाउँमा बिसौनी, पश्चिम तर्फरुद्रपुर गढी नजिकै गोलपोखरी र शान्ति पार्क निर्माण भएका छन् ।
देवचुली र बरचुली चुचुरालाई पदयात्रा गर्दा मौलाकालिका मन्दिर देखि हात्तिगौडा हुँदै बरचुली देवचुली, रुद्रपुरगढी भएर घोरल पाइने क्षेत्र हुँदै पूर्वी पाल्पा जिल्लाको झिरुवाससम्म पुग्न सकिन्छ । मगरजातीको मौलिक संस्कृतिमा रमाउँदै पदयात्रा गर्दा पर्यटकले छुट्टै आनन्दको महसुस गर्दछन । देवचुली डाडामा बाइसे-चौबिसे राजा रुद्र सेनको दरबार रहेको ऐतिहासिक सम्पदा रहेको छ । १६औं शताब्दीमा यो क्षेत्रको महाभारत पर्वत पाल्पा राज्यमा थियो । राजा मुकुन्दसेन राज्य विस्तार गर्ने क्रममा महाभारत पर्वतको बाटो हुँदै देवघाट, मौलाकाली हुँदै पाल्पासम्म पुगेका थिए । राजा मणिमुकुन्द सेनले आफ्नो सुरक्षाका निम्ति सेनाको ब्यारेक, दरवार मन्दिरहरु निर्माण गरेका थिए। गैडाकोटको मौलाकालीको मन्दिर र दाउन्नेको देवीको मन्दिर पनि मुकुन्द सेनसंग जोडिएको छ ।
देवचुली डाँडामा पदयात्रामा पुग्ने पर्यटकहरु फर्कने बेलामा कालिगण्डकी करिडोरको सडक प्रयोग गरी बुलिङटार पुग्न सक्दछन । नवलपुरको बुलिङटार पर्यटनका लागि रमणियस्थल मानिन्छ । बिचमा कालिगण्डकी र बुलिङटारदेखि पाल्पा, तनहुँ र स्याङजाको भूगोलले बुलिङटार क्षेत्र उपत्यका बनेको छ । बुलिङटार पुगेपछि घुमाउरीघाट र केलादीघाट भने पुग्नै पर्दछ । यी दुबैघाट कालिगण्डकी किनारमा पर्दछन । समय बढाउन सके पर्यटकहरुले पाल्पाको रामपुर र स्याङजाको चापाकोट बजारको समेत घुमफिर गर्न सक्दछन । बुलिङटारदेखि तनहुँको घिरिङ हुँदै अथवा पाल्पाको रामपुर र स्याङजाको चापाकोटबाट पनि भिमाद हुँदै तनहुँको खैरेनीटार निस्कन सकिन्छ । फुर्सदको समयमा घुमफिरले बिभिन्न गाउँ ठाउको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहनको अध्ययन हुन्छ । कालिगण्डकी उपत्यकामा पर्यटकहरुको लागि घुमफिर गर्ने धेरै स्थलहरु छन । तर अधिकाशं स्थलहरुमा पुग्न सडक यातायातको सुविधा छैन । कतिपय स्थानका भएका सडक पनि वर्षायाममा बन्द हुन्छन । पछिल्लो समय बिकासका लागि बनेका पूर्वाधार, आस्थाको लागि निर्माण भएका मठ मन्दिरहरु पनि पर्यटनको लागि गन्तब्य बन्दै गएका छन । पर्यटन विकासको लागि यो राम्रो पक्ष हो ।
पर्यटकहरु देवचुली डाँडाको पदयात्रामा नगएर होमस्टेमा रमाउन चाहने पर्यटकहरुलाई कावासोतीको अमलटाँरीमा होमस्टे संचालनमा छन्। समुदायले सञ्चालन गरेको होमस्टेमा पर्यटकका लागि थारु, बोटे, मुसहर संस्कृति प्रदर्शनी, जंगल सफारी, जिप सफारी, हात्ती शयर, नारायणी नदीमा डुंगा शयर, गोरुगाडामा शयर, पंछी अवलोकन, हात्ती स्नान थारु गाउँ भ्रमण, टावर नाईट स्टे र प्राकृतीक मनोरम दृष्यहरुको अवलोकन पनि गराइन्छ । होमस्टेमा स्थानीय परिकार नै पाक्ने गर्छन । थारु समुदायले खाने चिचर र घोगी अमलटाँरीमा मुख्य खाजाको रुपमा पर्यटकहरुलाई दिने गरिन्छ । तर गाउँमा आउने पर्यटकको चाहना अनुसार अन्य खाना पनि खान पाइन्छ। थारु र बोटे समुदायको संस्कृतिबारे पर्यटकलाई जानकारी र मनोरञ्जन दिन बेलुका ८ बजेबाट १० बजेसम्म साँस्कृतिक भवनमा झुमरा नाच, लाठी नाच, बोटे नाच लगाएत स्थानीय संस्कृति देखाइन्छ ।










