हाम्रो शरीर, आत्मा र मनमन्दिर

देव बस्न्यात

विषय प्रवेश

मानिसको यस भौतिक शरिरमा शरिर, मन र आत्मा सहित तीन खण्डहरु रहेका हुन्छन । मानव जीवन हरदम चुनौतीमय छन् । चुनौतीमय जीवनमा हरपल असुरक्षका बादलहरु मडारिन्छन् । यसैले मानिस सुरक्षित रुपले रहन र बस्न चाहन्छ । बाघ भालु लगायत हिंस्रक जनावरबाट आफू बच्न र आफनो परिवारलाई बचाउन उस्लाई सुरक्षको महसुस हुने गर्दछ । त्यसैले उस्को आफ्नो र परिवारको सुरक्षाको लागि घर चाहिन्छ । घर भनेको मानिसको बासस्थल हो । जस्लाई रामझुपडी, घर, महल, दरबार र यस्तै अन्य शब्दले पनि उच्चारण गर्न सकिन्छ । जसरी मानिसको भौतिक शरीर बस्ने घरको जरुरत पर्छ त्यसै गरी मानिसको आत्मा बस्ने घर पनि चाहिन्छ । मानवीय शरीर मानिसको आत्मा बस्ने बाहिरी आवरण हो। मानिसको शरीर, मन र आत्मा बस्ने रगत र हाडमासुले बनेको एक लौकिक दिव्य महल हो । मानिसको बाहिरी आवरणको सुन्दरताले भित्री आवरणको उजागर गर्न सक्दैन। भित्री आवरणको उजागर थाहा पाउन उस्को व्यवहार र शिलस्वभाव नियाल्नै पर्दछ ।

शरीर भनेको के हो ?

शरीर जीवित ब्यक्ति तथा पशुहरुको भौतिक संरचना हो । मानवीय शरीरमा नाक, कान, आँखा, मुख, हात, टाउको, पेट, कम्मर, खुट्टा लगायतका अङ्गहरु रहन्छन् । यसैलाई हामी भौतिक शरीर भन्दछौं । भौतिक शरीर र शुक्ष्म शरीर समेत दुइ किसिमका शरीरहरु हुन्छन । आठवटा चक्र र नौवटा प्रवेश द्वार भएको रगत, हाड र मासु रुपि दिव्य महल नै मानवीय शरीर हो । पृथ्वीमा उत्पादन भएका अन्न सागपात, पानी लगायतका खाद्य पदार्थको प्रयोग र वायुको ग्रहणले हाम्रो शरीरले बल, उर्जा एवं शक्ति प्राप्त गरेको छ । यसको साथ साथै हाम्रो शरीरले बुद्धि, विवेक, कल्पना र सिर्जनशिलतामा पनि रुपान्तरण गर्न हरसम्भव प्रयत्न गरेको देखेका छौं । हाम्रा ऋषि मुनि तथा बैज्ञानिकहरुको अथक प्रयास, अभ्यास, प्रयोग र खोज अध्ययनबाट आज हामीले हाम्रो शरीरको अथाह शक्ति जान्ने सुअवसर प्राप्त गर्दै गइरहेका छौं । पृथ्वीमा व्याप्त जल, वायु, अग्नि, पृथ्वी तथा आकाश लगायतका तत्वहरुले हाम्रो शरीरको निर्माण भएको छ । यही मानव शरीरमा जलको शितलता, वायुको गति, अग्निको तेज र पृथ्वीको गुरुत्वाकर्षा फेला पार्दछौं । यही पञ्चतत्वले बनेको मानिसको शरीर भित्र विराजमान रहने अनन्त शक्तिलाई हामी आत्मा भन्ने गर्दछौं ।

आत्मा भनेको के हो ?

हाम्रा पूर्वीय तथा पाश्चात्य धर्मशास्त्र अनुसार आत्मा जीवको एक महत्पूर्ण अङ्ग हो जुन अलौकिक छ । आत्मा जीवित प्राणीको निराकार तत्व र उर्जाको एक रुप पनि हो । आत्मा र परमात्मा पूर्णज्ञानको समयमा मात्र देख्न सकिन्छ । आत्मालाई त्यही व्यक्तिले मात्र देख्न सक्दछ जुन मानिसमा दृष्टि शक्ति सुक्ष्म रुपमा रहेको हुन्छ । आत्मा अविनाशी हुनाले यसमाथि कुनै पनि प्राकृतिक असर रहँदैन । जबसम्म आत्मा परमात्मासंग लीन हुँदैन तबसम्म आत्माले नयाँ/नयाँ चोला ग्रहण गर्दै यो शरीर बाट त्यो शरीरमा परिवर्तन गर्दै हिंडने गर्दछ । वास्तवमा आत्मा पूर्ण सफेद देखिंदा बैजनी रङ्गको देखिने गर्दछ । आत्मामा समाउने, रमाउने, सहनगर्ने, समेट्ने, पर्खने, निर्णयगर्ने र सहयोग गर्ने शक्ति सदैव जीवन्त रहने गर्द छ । हामी जस्लाई आत्मा भन्छौं वास्तवमा त्यो कुनै शरीरको कुनै इकाइ मात्र नभएर सर्वश्व मानिन्छ । पशुपंक्षीले झैं खानु र लाउनु मात्र मानव जीवनको मूल ध्येय होइन । मानव जीवनको प्रमुख उद्देश्य भनेको प्रभु परमात्मा प्राप्त गर्नु हो । वास्तवमा संसारमा एउटा मात्र परमात्मा छन् जस्लाई हामी ओमका नामको प्रणव अक्षरले पुकार्ने गर्दछौं । परमात्मा वन जंगल, पहाड, मठ, मन्दिर, मस्जिद र गिर्जाघरमा भन्दा रगत, हाड र मासुद्वारा निर्मित हाम्रै सजिववाला दिव्यशरीर भित्र रहेको आत्मायुक्त हरि मन्दिरमा विराजमान भएर रहने गर्दछन् । यसैले भन्ने गरिन्छ “मनको हरि चिन, बाहिर खोज्दै नहिन, बाहिर खोज्दै नहिन” ।

भगवान स्वयं एकमा अनेक र अनेकमा एक पनि हुनुहुन्छ । दुनियाँसंगको माया र मोहमा पार हुने असली हरि मन्दिर भनेकै मानिस स्वयंको शरीर मात्र हो । त्यही मन्दिररुपि मानवीय हर (शरीर) भित्र बजी रहेको मधुर धुननै हरिसंग मिलन हुने विन्दु हो । आफ्नो शरिर भित्र विराजमान इश्वरलाई बिर्सेर मानव निर्मित मन्दिरमा हरि खोज्ने प्रयत्न गर्नु मृग तृष्णा मात्र हो ।

मन भनेको के हो ?

मानिसको शरिरको दिमाग, शरीर, ज्ञानेन्द्रीयसंग प्रत्यक्ष सरोकार राख्नेवाला नै मन हो । यसैले मन भनेको हरेक व्यक्तिमा भेटिने खुसी, दया र माया सकरात्मक सोच धारणा र संवेगहरुसंग सरोकार राख्ने तत्वहरु हुन् जो मानिसका अन्तर शरीरबाटै उत्पादित भएको पाउँदछौं । दिमागको अलवा मनको कल्पना गर्न गाह्रो छ । मन ज्ञानेन्द्रीयहरु बीचको आपसी सहकार्यले सक्रिय हुने गर्दछ। मन प्रवाह हुने एक अदृष्य शक्ति हो । हुन पनि “वन डढेको सबैले देख्छन मन डढेको कसैलै देख्दैनन” भन्ने गरिन्छ । सही काममा सही तरिकाले मनको प्रयोग गरियो भने यसले मानिसको व्यक्तित्व विकासमा सहयोग पुर्‍याउँछ । यदि यसको गलत प्रयोग गर्न पुगियो भने मनिसलाई हानी पनि पुर्‍याउने गर्दछ । मन अवस्था र वातावरण अनुसार परिवर्तन भइरहने कृया हो । सकरात्मक उर्जा प्रवाह भइ रहँदा हरेक व्यक्तिमा नयाँ जोस उमङ्गहरु तरङगित हुने गर्दछन् तर जब विपरित हुन पुग्दछन् तब मनमा नराम्रा सोच विचार र भावनाहरु जागृत हुन गई हावी हुन सक्दछन् । हाम्रा गल्तीलाई निराकरण गर्न हृदय खोलेर कुरा गरेनौ भने फर्सि कुहे झै मनका विकारहरु विस्फोट हुन पुग्दछन् । मनले जे चाह्यो हामीले त्यही काम गर्न थाल्यौ भने सधैं राम्रा हुन सक्छन् भन्न सकिन्न । वास्तविक एवं अवास्तविक कुराहरुको लेखाजोखा गर्न जान्नु पर्दछ। नचाहिंदा कुराहरुको सोच मनमा आउन लागेमा राम्रा र सकरात्मक कुराहरुमा तर्फमनलाई मोडेर सम्झाउन सक्नु पर्दछ। हामीले हाम्रो क्षमता अनुसारको सोच राख्न सक्यौं भने त्यस्तै फलप्राप्त गर्न सक्दछौं ।

मन, मुटु र मष्तिष्क बीचको अन्तर सम्वन्ध

कसैले हामीलाई मिठो बोल्दा र कसैले नराम्रो समचार सुनाउँदा हाम्रो मनमा नयाँ तरङ्गहरु फैलिन्छ । राम्रो कुरा सुन्दा हाम्रो मन प्रफूल्ल हुन्छ भने नराम्रो कुरा सुनाउँदा मनमा च्वास बिझ्ने र मुटुको धडकन एक्कासी बढ्ने गर्दछ । यसैले हामीलाई लाग्ने भनेकै मन र मुटु भनेको एउटै हो तर मन र मुटुको सिधा सम्वन्ध भने प्रत्यक्ष कही भेटिंएको पाईदैन । मुटु चिरेर हेरियो भने, नाक, कान, आँखा जस्तै मन भन्ने स्थुल बस्तु हाम्रो शरीरमा भेटिंदैन। वास्तवमा मानिसको भावानात्मक स्थितिलाई मापन गर्ने शक्ति भनेको हामी भित्रको मस्तिष्क नै हो । मानव मस्तिष्क सुपरकम्पयुटर भन्दा ३० गुणा तीब्र रहेको पाउँदछौं । मन भनेर हामीले जुन चिजको महसुस गर्र्छौ त्यो नै मस्तिष्क हो । यसैले मानिसको भावना, विचार र सोचाइसंग मस्तिष्कको नजिकको सम्वन्ध रहन्छ भन्ने गरेका हौं । जस्को अर्थ मन भन्ने चिजलाई मस्तिष्कले मात्र महसुस गर्न सक्दछ भन्न खोजिएको हो ।

जन्ममृत्युको जीवनचक्र र मुक्तिमार्ग भनेको के हो ?

मानिस जन्मछ, हुर्कन्छ र बूढो हुँदै जान्छ । मानिसको शरीर क्रमशः किशोर, युवा, बूढो र जीर्ण हुँदै मृत्यु प्राप्त हुनु भनेको मानवीय जीवनचक्र हो । मानिस जीर्ण हुनु भनेको बूढो हुनु हो । शरीर बूढो हुनु काम गर्न नसक्नु शारीरिक अस्वास्थ्यता हो । तर कहिलेकाही कुरै कुरामा मानिसहरुको मन त कहाँ बूढो हुन्छ र ! भन्ने गर्दछन् । बन्दुकको गोलीले दुखेको घाउ भन्दा मानिसको बोलीले लागेको घाउ बढी दुख्छ भन्छन् । यसैले “पोहोर साल खुसी फाट्यो त्यसलाई पनि मनले टाले । यो साल त मनै फाट्यो के ले टाल्ने के ले सिउने हो ।”

जीर्ण घरमा बस्न नसक्ने भएपछि मानिसको शरीर भित्र विराजमान गरेको आत्माले नयाँ घर खोज्दछ । नयाँ घर प्रवेश गर्नु भनेको मानवीय जीवनले मृत्युवरण गर्नु हो । मृत्युपश्चात पुनःजीवन प्राप्त गर्नु हो अर्थात पुनःजन्म हुनु हो । ८४ लाख योनिमा जन्मने मर्ने वा ८४ पटक मानव योनीमा जन्म लिने जस्ता कुराहरु जे-जे गरेता पनि मानिस जन्मने र मर्ने चक्रमा घुम्न पर्दछ भन्ने जनाउँछ । तर हाम्रो समाजमा “शरीर मरे पनि मन मर्दैन भनिन्छ” । मन नमर्नु भनेको विचारको दिगो पन हो भन्दा फरक नपर्ला । हुन त मानिस इश्वरको सन्तान हो। जीवन चक्रको संघारमा कि मानिस आफै आफ्नै घर र्फकनु पर्दछ कि त भट्किएर यत्रतत्र भौतारिनु पर्दछ । मानिस आफ्नै घर र्फकने कि नर्फकने मार्ग आफै निर्माण गर्नु पर्दछ । जन्ममृत्युको चक्रबाट विश्राम लिइ पर्मेश्वरमा मिलन हुनु भनेको मुक्ति मार्ग हो । आफ्नो जीवन छदैमा सतमार्ग अवलम्वन गरेमा मुक्ति मार्गमा र कुमार्गमा लागेमा मृत्यु पश्चात मानिसले जन्ममृत्युको चक्रीय मार्गमा जानु पर्दछ । यसैले परमपिता शिवजीमा लीन हुन चाहने मानिसले मुक्तिमार्गको बाटो रोज्न जरुरी मानिन्छ ।

मन कहाँ र कति प्रकारका हुन्छन् ?

मन दुइ प्रकारका पाइन्छन् । जस्लाई सकरात्मक मन र नकरात्मक मन भनिन्छ । मन, खुसी मन र दुःखी मन पनि पाइन्छ । मन कहिलेकाही दोमन पनि हुने गर्छ । कहिले यो गरुँ, कहिले त्यो गरौं भन्ने विचलन नै दोमन हो । मन दोमन हुँदा अलमलिन्छ । मन सुखी र दुखी दुबै हुन्छ । मन कहाँ हुन्छ कसैलाई थाहा हुँदैन । कसैले मन शिरमा, कसैले मुटुमा, कसैले कलेजोमा र कसैले छातीमा, कसैले मस्तिष्कमा हुन्छ भन्छन् तर वास्तवमा मन शरीरको कुन भागमा कहाँ रहन्छ र कस्तो ठाउँमा रहन्छ भनेर कसैलाई सोध्यो भने कोही कसैबाट सही उत्तर पाउन गाह्रो नै हुने गर्दछ। हरेक मानिस हरेक एक मिनेटमा ३ हजार भन्दा बढी कुराहरु सोच्न, कल्पना गर्न र सम्झन सक्दछ भनिन्छ । वास्तवमा मन त्यस्तो बस्तु हो जो छिनमै विभिन्न देश प्रदेशका विभिन्न स्थानमा कल्पनामै घुम्न सक्दछ। संसारमा सबै भन्दा छिटो दौडने चिज भनेकै मन हो । कहिले काही मानिस आफ्नै मनबाट आजित हुन्छ भने अर्काको मन उस्ले कसरी बुझोस रु ठाउँ अनुसार पृथ्वीको तापमान फरक-फरक पाइछन् । पृथ्वीको भू-भागहरुमा कही अति तातो र कही अति चिसो पनि भेटिन्छन् । पृथ्वीमा कहिलेकाँही अत्यधिक गर्मी र कहिलेकाँही अत्यधिक जाडो पनि हुने गर्दछ । अर्को तर्फ तातो र चिसोबाट बच्न र लाजलाई ढाक्न मानिसले कपडाको प्रयोग गर्ने गरेको हो। हरेक तत्वहरुको आ-आफनै आवश्यकताहरु हुन्छन । माथिका यिनै तत्वहरु मानव जीवनको अभिन्न अङ्गहरु हुन् भन्नेमा विद्वानहरुमा पूर्ण विश्वास रहेको पाउँदछौं ।

अन्त्यमा

गाँस, बास, कपास मानवीय शरीरको मूल आवस्यकता हो । मानिस तन्दुरुस्तीका साथ बाँच्नको लागि आहार चाहिन्छ । आहार नै गाँस हो । प्राणीहरुको आहार जीवको प्रकृति अनुसार इश्वरले रचना गरिदिएका छन् । यस लोकमा जती सुकै प्राणी भएता पनि त्यस मध्ये यस धरतीमा माँसाहारी र शाकाहारी गरेर दुइ किसिमका प्राणीहरु मात्र पाइन्छन । माँसाहार प्राणीहरु जन्मको सुरुआतदेखि नै आँखा नखुल्ने, नङ्ग्रा लामा हुने, दाँत तिखा हुने र पानी पिउँदा चाट्ने प्रवृतिका हुन्छन् भने साकाहारी प्राणीहरु जन्मनासाथ आँखा खुल्ने, नङ्ग्रा नभइ नङ हुने, नङ लामा नहुने, तिखा दाँतहरु नहुने, पानी नचाटी घुटुघुटु पिउने स्वभाव रहेको पाउँदछौं । हरेक प्राणीलाई प्रकृतिले सोही बमोजिम आहारको व्यवस्था गरिदिएको छ । गहिरिएर अध्ययन गर्ने हो भने बाघ, भालु, स्याल, कुकुर, विराला आदि पशुहरु र काग, गिद्ध, बाज, चिल लगायतका पंक्षीहरु मांसाहारी र गाई, भैंसी, मानिस जस्ता शाकाहारी प्राणीहरु रहेछन् भन्ने आँकलन गर्न मद्दत पुर्‍याउँछ । माथि उल्लेखित प्रकृति अध्ययन गर्दा मानिस स्वयंमा साकाहारी प्राणी रहेछ भन्न सक्दछौं । तर प्रकृतिको नियम उल्लंघन गर्नेहरुको सूचिमा सर्वप्रथम मानिसको नाम नै अगाडि आउँदछ । मानिसले नदीको धार बदलेर अन्त पुर्‍याएता पनि एकदिन न एकदिन नदीले आफ्नो धार खोजेर साविककै स्थानमा आइपुग्दछ । अनि हामी भन्छौ मानव जाति माथि प्रकृतिले वज्रपात हान्यो र र्सवविनाश गर्‍यो। प्रकृति माथि हामीले अन्याय गर्दा प्रकृतिले आफ्नो न्याय खोजेको कुरा बिर्सन्छौ । अनि प्रकृति प्रति धिक्कार्र्छौ ।

के मानिसले कर्म अनुसारको फल भोग्नै पर्ने नै हो त ? यदि साँच्चै मानिसहरुले कर्म अनुसारको फल भोग्न पर्छ भन्ने महसुस गरे भने प्राणी हत्या गरेर मास भोजन त्याग्ने छन्। आज हामीले खसी-बोका, राँगा-पाडा, हाँस-कुखुरा सम्झेर काटेको कुनै पनि प्राणी ८४ जुनी मध्ये एक जुनी मानिसको अंश नै थियो भन्नु पर्दछ । ए मानिस तँ मलाइ किन काट्न तयार हुन्छस ? आज यदि तँ मेरो हत्या गर्छस भने तँलाई काटन म फेरी मानव जुनी लिएर जन्मनु पर्छ । तँ र म कति पटक काटकाटको अैंचोपैंचो गर्ने ? अब हामी काटाकाट गर्न छोडौ भनेर पशुले मानिसलाई सम्झाउँछ तर हामी मानवहरु हाँस, कुखुरा, खसी, बोका, रागा काटछौं राम्रो मिठो माछा मासु खायौं भन्छौ तर हामी पूर्वजकै अंशको मासु खाइरहेका छौ कि भन्ने किन सम्झदैनौ । मानिसले मानिसको हत्या गर्नु भनेको आफ्नै पूर्वज, आफ्नै सन्तान र आफ्नै सर्वनाश गर्नु हो । यसैले हाम्रो मन मन्दिरमा अब निमुखा प्राणीहरुको जीबबलि प्रथालाई विश्राम दिएर हामीमा भएका काम, क्रोध, लोभ, मोह र अहँकार त्यागौ । मानिसको शरीरमा मात्र होइन हरेक प्राणी भित्र हामीले पूज्ने ब्रहृमा, विष्णु, महेश्वर लगायत ३३ कोटी देवताहरुको साक्षत स्वरुप रहने भएकाले आजैका मितिदेखि हाम्रो मन मन्दिर भित्र हुने गरेका हत्या हिंसालाई तिलाञ्जली गर्न अग्रसर बनौं । हाम्रो समाजलाइ मांसाहर मुक्त बानाऔं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker