अपाङ्गता भएका व्यक्तिहरूलाई आयआर्जनमा सहयोग
भञ्ज्याङ समाचारदाता/भानु

भानु नगरपालिकाका १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई स्वरोजगार बनि आयआर्यजनमा सुधार ल्याउने लक्ष्यका साथ सीप तथा साना उद्यम विकासका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ ।
रिसेड तनहुँले आयोजना गरेको उक्त अभिमुखिकरण कार्यक्रममा भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले अपाङ्गता भएका व्यक्तिको आयआर्जन बढाउन पालिकासंगै अन्य सरोकारवाला संघसंस्थाहरुको हातेमालो खाँचो रहेको बताए। नगरपालिकाले अपांगता सम्बन्धी विशेष कार्यक्रमहरुको योजना गरी उनीहरुको विकास गर्ने उनले बताए ।
सामाजिक विकास कार्यालय, तनहुँको सहयोगमा १३ जना अपाङ्गता भएका व्यक्तिहरुलाई पशुपालन, पसल व्यावस्थापन तथा तरकारीखेतीका विषयमा भानु नगरपालिकाका कृषि अधिकृत हरीराज खनालले सहजिकरण गरेका थिए । सहयोग पाउने व्यक्तिहरुको स्थलगत निरीक्षणपछि स्थानीय जनप्रतिनिधिको रोहबरमा सहयोग हस्तान्तरण गर्ने योजना रहेको रिसेडका अध्यक्ष पदम बहादुर परियारले बताए । कार्यक्रममा उपप्रमुख उमा गोतामेले अपाङ्गता भएका व्यक्तिहरुलाई एकजुट बनाएर सहकार्य गर्न आग्रह गरिन ।
उक्त कार्यक्रममा स्थानीय भीम बहादुर कुमालको अध्यक्षतामा १५ सदस्यीय भानु अपाङ्गता स्वाबलम्बन संस्था पनि अनौपचारिक रुपमा गठन गरेको छ । संस्थाले नगरपालिका तथा अन्य सामाजिक संस्थाहरुसँग मिलेर अपाङ्गता अधिकार तथा सशक्तिकरणमा काम गर्ने संस्थाका सचिव शिव ढकालले बताए । कार्यक्रममा सामाजिक विकास शाखाका अधिकृत भगवति शर्मा, स्थानीय अपाङ्गता अगुवा दशरथ राना र उपाध्यक्ष इश्वर बाँस्तोलाले अपाङ्गता भएका व्यक्तिका विषयमा आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










