म्याग्दे-२ मा साढे दुइ करोडको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न
भञ्ज्याङ समाचारदाता/म्याग्दे
तनहुँको म्याग्दे गाउँपालिका-२ (साविक जामुने-८)मा करिब साढे दुइ करोड रुपैयाँका लागतमा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण सम्पन्न गरिएको छ । संघीय सरकारको १ करोड ४६ लाख ४९ हजार ५४९ रुपैयाँ, गण्डकी प्रदेश सरकारले सोलार खरिदका लागि उपलब्ध गराएको ४० लाख ८७ हजार ५६ रुपैयाँ, सोलार क्षेत्र तारबारको लागि ३ लाख ४२ हजार १६८ रुपैयाँ र स्थानीय उपभोक्ताको लागत सहभागिता ६० लाख २५ हजार ६०६ रुपैयाँ गरी कूल २ करोड ५१ लाख २४ हजार ३३२ रुपैयाँको लागतमा उक्त आयोजना निर्माण सम्पन्न गरिएको हो ।
खानेपानीको सहज उपलब्धता नहुँदा कष्टकर दैनिक गुजार्दै आएका यहाँका १३९ घरपरिवार प्रत्यक्ष लाभाविन्त भएको लिफ्ट झ्यालगैह्रा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष मानबहादुर थापाले बताए । उनले भने, ‘सहज रुपमा खानेपानी उपलब्ध नहुँदा स्थानीले धेरै सास्ति झेल्नुपरेको थियो । अब यो दुःखका दिन हट्ने छन् ।’
यस्तै, उक्त खानेपानी आयोजनाको शनिबार उद्घाटन गर्दै गण्डकी प्रदेशका वन वातावरण तथा भू-संरक्षण मन्त्री दीपक थापाले एक घर, एक धारा प्रदेश सरकारको अभियान रहेको बताए । बिश्वमा पानीमा दोस्रो देशका नागरिकहरु पानी नपाएर काकाकूल बन्नुपर्ने अवस्था आउन नदिन प्रदेश सरकारले नीति नै बनाएर अघि बढेको बताउँदै उनले भोलीका दिनमा हामी रहुँला नरहुँला तर हामीले बनाएका नीति अनुरुप निरन्तर काम गर्न मिल्ने व्यवस्था मिलाइएको जानकारी गराए ।
हिजाका दिनमा एमाले, माओवादी केन्द्रको बामगठबन्धन हुँदाको समयमा पर्यटन, उर्जा, कृषि, भौतिक संरचना निर्माण, सामाजिक न्याय लगायतका क्षेत्रलाई प्राथामिकतामा राखेर नीति बनाइएको बताउँदै उनले भने, ‘सोलारका माध्यमबाट पानी लिफ्ट गर्दै आएकोले घाम नलागेको समयमा पानीको चर्को समस्या भोग्नुपरेको उपभोक्ताको माग प्रति ध्यानाकर्षण भएको छ ।’
कार्यक्रममा नेकपा एमाले तनहुँका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले वडास्तरीय सबै राजनीतिक दल, उपभोक्ताबासीहरुको सक्रिय भूमिका रहेका कारण आयोजना समयमै सम्पन्न गर्न सहयोग मिलेको बताए ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शम्भु अधिकारीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनासंगै बिकास निर्माणका कार्यले गति लिएको चर्चा गरेका थिए । नेकपा माओवादी केन्द्र उपत्यका बिशेष सदस्य सोमबहादुर थापाले खानेपानीको मुल दर्तादेखि संघीय सरकार, प्रदेश सरकारमा ठुलो कसरत गर्नुपरेको बताए ।
उपभोक्ता समितिका अध्यक्ष मनबहादुर थापाको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा वडाध्यक्ष चन्द्र बहादुर राना, खानेपानी उपभोक्ता समितिका सचिव इश्वरराज काफ्ले लगायतका वक्ताहरुले विकास निर्माणका कार्यमा कसैले पनि राजनीतिक हस्ताक्षेप नगरी आफ्नो गाउँ, टोल समाज समृद्ध बनाउन तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।










