तनहुँको छाब्दीबाराही मन्दिरमा दुई सय परिवारलाई रोजगारी

तनहुँ : जिल्लाको चर्चित छाब्दीबाराही मन्दिरमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ दैनिक भक्तजनको घुइँचो बढ्न थालेको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहरका रुपमा परिचित यस मन्दिर परिसरमा करिब दुई सय परिवारले स्वरोजगारी अपनाउँदै आएका छन् ।
गत शनिबार मात्र करिब पाँच हजारको सङ्ख्यामा भक्तजन आउने विश्वास गरिएको यस मन्दिरमा अन्य दिन पाँच/सात सय भक्तजन आउने गरेका छाब्दीबाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा फूल, पूजाका सामग्री, खाजालगायत व्यापारबाट करिब दुई सय परिवारले रोजगारी पाएका छन् ।
मन्दिर परिसरमा फूलप्रसाद, खाजा र खाना बेचेर आफूहरुको जीविकोपार्जन भइरहेको मन्दिर नजिक व्यापार गर्दै आउनुभएकी व्यास नगरपालिका–१२ की २९ वर्षीया सीता सापकोटाले बताउनुभयो । “शनिबार बिदाको दिन भक्तजनको घुइँचो बढी हुन्छ । प्रायः शनिबार बिहान ३ बजेदेखि दिउँसो १ बजेसम्म व्यापारमा खटिनुपर्छ”, उहाँले भन्नुभयो, “मन्दिर परिसरमा सञ्चालित व्यापारबाट दैनिक रु एक हजारदेखि रु एक हजार दुई सयसम्म कमाउन सकिएको छ ।”
श्रीमान् रोजगारीको क्रममा कतारमा भएकाले आफूले फूल र प्रसादको मात्रै व्यापार गर्दै आएको सीताले सुनाउनुभयो । श्रीमान्लाई स्वदेश बोलाएर फूलप्रसादका साथै खाजा र खानाकोसमेत व्यापार गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
मन्दिरमा आउने भक्तजनको कारण आफूहरुको होटल नियमित सञ्चालन भइरहेको स्थानीय होटल व्यवसायी जानकी कँडेलले बताउनुभयो । पूजा गर्न आउने भक्तजनको घुइँचोले गर्दा आफू र श्रीमान् दैनिक खटिने गरेको उहाँको भनाइ छ ।
“मन्दिरप्रतिको आस्थाको कारण भक्तजनको सङ्ख्या बढ्दै गएकाले आम्दानी पनि प्रशस्र्तै हुन थालेको छ”, कँडेलले भन्नुभयो, “शनिबार बिदा पर्ने भएकाले बाहिरी जिल्लाबाट पनि भक्तजन आउनुहुन्छ । दिउँसो १ बजेसम्म ग्राहकको घुइँचोले बोल्ने फुर्सदसमेत हुँदैन ।”
अन्य दिन रु तीन/चार हजारको र शनिबार रु १५/१७ हजारको व्यापार हुने गरेको होटल व्यवसायी कँडेलले जानकारी दिनुभयो । यहाँ विन्दु सेढाइँ, देवी थापा, कृष्णबहादुर आले, प्रेम आले, पुष्पा कँडेल, शोभा पन्त, विन्दी आले, बद्री पन्थ, धनबहादुर गुरुङ, सरिता पुलामीलगायत दुई सय जनाले फूल, प्रसाद, खाजा र खानाको व्यापार गर्दै आएका छन् ।
मन्दिर दर्शन गर्न आउने भक्तजनलाई लक्षित गरी होटल सञ्चालन गरेपछि व्यापार पनि सन्तोषजनक रहेको छाब्दीबाराही विकास कोषकी उपाध्यक्षसमेत रहनुभएकी सुनिता पन्थले बताउनुभयो । आफूले होटल सञ्चालन गर्ने र श्रीमान्ले हलुका सवारीसाधनबाट भक्तजनलाई सेवा दिँदै आउनुभएको उहाँले बताउनुभयो । “भक्तजनको सेवामा हामी दुवै जना दैनिक खटिँदै आएका छौंँ”, पन्थले भन्नुभयो, “खटाइ अनुसारको दुई चार पैसा आम्दानी पनि भइरहेको छ ।”
छाब्दीबाराही मन्दिरको पर्याप्त प्रचारप्रसार हुन नसक्दा देशका विभिन्न क्षेत्रमा रहेका भक्तजनलाई आकर्षित गर्न नसकिएको मन्दिर विकास कोषका अध्यक्ष थापाले बताउनुभयो । पुरातात्विक सम्पदा संरक्षण हुने गरी मन्दिरको गुरुयोजना बनाउन सके हिन्दू धर्मावलम्बी बढ्ने र स्थानीयको व्यापारको दायरासमेत फराकिलो हुँदै जाने उहाँले उल्लेख गर्नुभयो ।
व्यापारमा संलग्न हुनेहरु करिब ७० प्रतिशत महिला रहेका विकास कोषले जनाएको छ । “मन्दिरको पर्याप्त प्रचारप्रसार गर्न सके यहाँका स्थानीयको आयआर्जनको स्रोत बढ्दै जानुका साथै स्वरोजगारका अवसर थप सिर्जना हुँदै जाने थियो”, कोषका अध्यक्ष थापाले भन्नुभयो, “अहिले पनि परम्परागत प्रणालीमा यस क्षेत्रका करिब दुई सय परिवार व्यवसायमा लाग्नुलाई उपलब्धिका रुपमा लिएका छौँ ।”
विसं १८०० सयदेखि पूजा गर्न सुरु गरिएको यस मन्दिरमा मनले चिताएको पुग्ने विश्वासका साथ तनहुँका साथै छिमेकी जिल्ला लमजुङ, गोरखा, कास्की र चितवनबाट भक्तजनको घुइँचो लाग्ने गरेको मन्दिर विकास कोषले जनाएको छ ।
“किंबदन्ती अनुसार विसं १८०० जेठ ८ गते राति छाब्दी परिसरको गोठमा सुस्ताउँदै गरेका कुलुङ गाउँका जहरसिंह आलेमगर अघिल्तिर एक बालिका आएर आफूलाई बास बस्न र खान दिन आग्रह गरिन् । आफ्नो घर करिब एक घण्टाको दूरीमा कुलुङमा रहेको र गाईभैँसी चराउन आएको आफू गोठमा बसेकाले अन्नपात केही नभएको, बास बस्न दिन नसक्ने भएकाले अन्तै जान बालिकालाई जहरसिंहले आग्रह गरेलगत्तै आफू छाब्दीबाराही देवी भएकाले तल कुण्ड नजिकै शीला भएर बस्ने र आफ्नो दैनिक पूजा गरे मनले चिताएको पूरा हुने बताउँदै ती बालिका अलप भइन् । जहरसिंहले बिहान कुण्ड नजिकै गएर हेरे । नभन्दै त्यहाँ अलौकिक स्वरुपमा शिला देखे र त्यसै दिनदेखि सानो खरको छाप्रो बनाइ दैनिक पूजा सुरु गरेका भन्ने जनविश्वास छ”, कोषका अध्यक्ष थापाले भन्नुभयो ।
विसं १९३१ मा छाब्दीबाराही दर्शनमा आएका तल्कालीन राजा सुरेन्द्रविक्रम शाहले मन्दिरको नाममा ६१ रोपनी जग्गा दिनुभएको इतिहासकारको भनाइ रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । रासस
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker