माओवादी केन्द्र शुक्लागण्डकी नगरकमिटी अधिवेशन : देशले यो सरकार धान्न सक्दैन – उपाध्यक्ष श्रेष्ठ

दुलेगौंडा : नेकपा माओबादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले यो देश चलाउन नसक्ने बताएका छन् । नेकपा माओबादी केन्द्र शुक्लागण्डकीको दोस्रो नगर सम्मेलन तथा खबरदारी सभालाई सम्बोधन गर्दै उनले सरकार भ्रष्टचार गर्न र त्यस्ता गतिविधीलाई संरक्षण गर्न बनेको दाबी गरे । उनले भने, ‘यो सरकार देश चलाउन अयोग्य छ ।’
उपाध्यक्ष श्रेष्ठले माओबादी नेतृत्वको सरकारले जनताको पक्षमा काम गर्नुका साथै भ्रष्टचार विरोधी अभियान चलाउँदा सत्ता साझेदार दलहरुलाई असैह्य भएकाले नयाँ गठबन्धन गरेर बर्तमान सरकार बनेको दाबी गर्दै उनले भने, ‘सरकारले भ्रष्टचार प्रमाणित ब्यक्तिहरुको संरक्षण गर्ने, त्यस्ता ब्यक्तिबाट अनुचित लाभ लिने, कारवाही गर्न नदिने गरेर देशको सुशासनलाई खल्वलाउन खोजेको हुँदा देशले यो सरकार धान्न सक्ने अवस्था समेत छैन ।’
माओबादीको आन्दोलन र यस अघिको सरकारले गरेको कामको प्रचार गर्न देशभर खबरदारी सभा गर्ने अभियान स्वरुप पालिको अधिवेशन भईरहेको जानकारी दिदै उपाध्यक्ष श्रेष्ठले सहकारी रकम अपचलनमा पक्राउ परेको पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा आफ्ना धारणा व्यक्त गरे ।
काँग्रेस एमालेको सरकार आफ्ना पार्टीमा आवद्ध भ्रष्टचार प्रमाणित नेताहरुलाई संरक्षण गरेर लामिछानेलाई मात्र कारवाही गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘गलत काम र प्रबृत्तिको विरुद्ध माओबादी नेतृत्वका सरकारले जस्तै आफ्नो र पराई नभनि कारवाही गर्नुपर्छ ।’
यस्तै, नेकपा माओबादी केन्द्र शुक्लागण्डकीले मंगलबार शुक्लागण्डकी नगरपालिका अघिबाट शक्ति प्रदर्शन गर्दै खबरदारी सभा गरेको थियो । दुलेगौडा बजार क्षेत्रमा शक्ति प्रदर्शन गरेको माओबादी केन्द्रले नेवार समाजको भवनमा आयोजना गरेको सम्मेलन मार्फत नेताहरुले आगामी निर्वाचनसम्म माओबादीको संगठनलाई पहिलो शक्ति बनाउने उद्घोष गरेका छन् ।
सम्मेलनलाई सम्बोधन गर्दै नगर कमिटीका अध्यक्ष मनराज गुरुङले आगामी निर्वाचनमा माओबादी एक्लै चुनाव लडेर स्थानीय तहमा एकल नेतृत्व गर्ने तयारी लाग्ने दावि गरे । उनले अधिवेशनले स्पष्ट कार्यदिशा तय गर्ने बताउँदै माओबादी आन्दोलन बलियो नेता कार्यकर्तालाई आग्रह गरे ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख समेत रहेका पार्टीका गण्डकी प्रदेश सदस्य खुमबहादुर विकले माओबादी आन्दोलनमा योगदान दिएका ब्यक्तिहरु पुनः एकताबद्ध भएको सन्देश नगर सम्मेलनले दिएको बताए । उनले २०६४ मा जत्तिकै शक्तिशाली बन्ने संकेत नगर सम्मेलनले देखाएको दावि गर्दै माओबादी आन्दोलनलाई जनताले साथ दिएको दावि गरे ।
कार्यक्रममा लुम्विनी प्रदेश सभाका पूर्व सदस्य दिपा विक, गण्डकी प्रदेश कमिटीका सदस्य दिनेश गौतम विश्वजित लगायतका बक्ताहरुले माओबादीको सान फर्काउन आन्दोलनमा साथ दिएर निस्क्रिय बनेको योेगदानकर्ताहरुको खोजी अभियान सञ्चालन गर्न आवश्यक रहेकोमा जोड दिए ।
सम्मेलन मार्फत मंगलबार शुक्लागण्डकी नगर कमिटीले माओबादी जनआन्दोलन सफल बनाउन भूमिका खेलेका यस क्षेत्रमा नेता, कार्यकर्ता, शहिद तथा बेपत्ताका परिवार र योगदानकर्ताहरुलाई सम्मान पत्र सहित सम्मान गरेको नगर कमिटीका उपाध्यक्ष रामचन्द्र भण्डारीले जानकारी गराए ।
शुक्लागण्डकी नगर कमिटीको अध्यक्षमा सापकोटा
यस्तै, मंगलबार सम्पन्न शुक्लागण्डकी नगर कमिटीको दोस्रो अधिवेशनले शरण सापकोटाको नेतृत्मा नयाँ कार्यसमिति चयन गरेको छ ।
नगर कमिटीको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र भण्डारी, उपाध्यक्षमा सुमन आले, दीपक सापकोटा, सचिवमा सरोज पौडेल, सहसचिवमा अनिष ढकाल, कोषाध्यक्षमा हिमकुमारी पौडेलसहित ५५ सदस्यीय नगर कमिटी चयन गरिएको छ ।










