अपाङ्गता भएका व्यक्तिहरुको ३३औं अन्तर्राष्ट्रिय दिवस

अपाङ्गता भएका व्यक्तिहरुको ३३औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा तनहुँको व्यास नगरपालिका–३ दमौलीमा मंगलबार निकालिएको प्रभातफेरिमा सहभागिहरु । अपाङ्गता भएका व्यक्ति तथा यस क्षेत्रमा कामगर्ने संस्था र सरोकारवाला निकायहरुको सहभागितामा विविध कार्यक्रम गरी तनहुँका १० वटै पालिकामा दिवस मनाइएको छ । सन् १९९२ देखि विश्वभर यो दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसंघले यस वर्षको नारा ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने तय गरेको थियो भने नेपालमा पनि ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिहरूको प्रवल नेतृत्व यसको आधार’ भन्ने राष्ट्रिय नारासहित सरकारी तथा गैरसरकारी सरोकार भएका निकायले जनचेतनामूलक कार्यक्रम गरेका छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा कूल जनसंख्याको १६ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिहरूको तथ्याङ्कीय प्रतिवेदन अनुसार स्वास्थ्य क्षेत्रको नेतृत्वमा नगण्य पहुँच, शिक्षा तथा रोजगारबाट अपाङ्गता भएका व्यक्ति बञ्चित छन् । उक्त प्रतिवेदन अनुसार नेपालको कूल जनसंख्याको दुई दशमलव दुई प्रतिशत अर्थात् ४७ हजार ७४४ जना अपाङ्गता भएका व्यक्ति छन् । जनगणनाको प्रतिवदेन अनुसार कूल परिवारमध्ये तीन दशमलव एक प्रतिशत परिवारका मुली अपाङ्गता भएका व्यक्ति छन् । अपाङ्गता भएका व्यक्तिको साक्षरता दर भने ५० दशमलव एक प्रतिशत रहेको राष्ट्रिय जनगणनामा उल्लेख गरिएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरणको मुद्दामा समर्थन जुटाउन, अपाङ्गताका विषयमा जनचेतना अभिवृद्धि गर्न, सबैका लागि समावेशी र पहुँचयोग्य समाज निर्माणमा सरकार तथा सरोकार भएका निकायको ध्यानाकर्षण गराउन यो दिवस मनाइँदै आइएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले नेपालका विपद्सम्बन्धी कानुन र नीतिमा समावेश ‘अपाङ्गता समावेशी’ व्यवस्थालाई व्यावहारिक रूपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने माग गर्दै आएको छ । महासंघले विपद् व्यवस्थापन र मानवीय संकटको अवस्थामा काम गर्ने अन्तर्राष्ट्रिय निकाय र गैरसरकारी संस्थाका कामहरूलाई अपाङ्गता समावेशी बनाउन पैरवीको आवश्यकता औँल्याइएको छ ।











