ऋषिङको मुख्य सडक खण्डको अजम्बरी भिरमा पहिरो, आवतजावतमा कठिनाई
भञ्ज्याङ समाचारदाता/ऋषिङ
मनसुनी वर्षासंगै आएको बाढीपहिरोले तनहुँमा ठूलोमात्रमा जनधनको क्षति पुगेको छ । बाढीपहिरोका कारण जिल्लामा अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने भौतिक तथा कृषि क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ । भौगोलिक भू-बनोटका हिसावले बाढी र पहिरोको उच्च जोखिममा छ तनहुँ । यस वर्षको मनसुनी वर्षाले पनि गत वर्षको जस्तै गरी ठूलो जनधनको क्षति पुर्याएको छ । तनहुँको बन्दिपुर, ऋषिङ गाउँपालिका क्षेत्र पहिरोको चपेटामा परे भने म्याग्दे, शुक्लागण्डकी लगायतका क्षेत्र बाढीको चपेटामा पर्दा धनजनको क्षति पुगेको छ । बाढीपहिरोले के कती क्षति पुग्यो त्यसको यथार्थ विवरण आउन सकेको छैन ।
गत हप्ता परेको अविरल झरीका कारण ऋषिङ गाउँपालिकामा ठुलो क्षति पुगेको छ । गत बिहीबार बिहान आएको पहिरोमा परी एकैगाउँका २ जनाको ज्यान गएको छ । एकै गाउँका दुइ जनाको पहिरोमा परी मृत्यु भएपछि अहिले गाउँ शोकमा डुबेको छ । अविरल झरीसंगै बाढी पहिरो आउँदा करिव ३ दर्जन घर पूर्णरुपमा क्षति भएका छन् । बाढी पहिरोले सडक, विद्युत, खानेपानी तथा कृषकको खेत बारीमा ठुलो क्षति पुर्याएको छ ।

यस्तै, ऋषिङ-८ स्थित अजम्बरी भिरमा गएको पहिरोका कारण गाउँपालिका क्षेत्रमा यातायात सेवा अवरुद्ध हुन पुगेको छ । पाँचदिनदेखि अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । अजम्बरी तीर्थस्थल नजिकै गत बिहीबार आएको पहिरोले करिव आधा किलोमिटर पक्कि सडक पहिरिएको छ । उक्त स्थानमा पहिरो जाँदा गाउँपालिकाको कार्यालय भवन तथा त्यस क्षेत्रबाट अन्यत्र आउजाउ गर्न पूर्ण रुपमा बन्द भएको ऋषिङ-७ कोटदरवारका इन्द्र आलेले बताए ।
‘पहिरोका कारण गाउँपालिकासम्म पुग्ने सडक अवरुद्ध हुँदा दमौली रेडक्रस तथा अन्य संघसंस्थाबाट आएका राहत सामाग्री गाउँका पहिरो पीडितलाई बाढ्न समेत सकेका छैनौं’, रेडक्रस सोसाइटी कोटदरबार उपशाखाका सभापति समेत रहेका आलेले भने, ‘गाउँपालिका क्षेत्रमा सानाठुला पहिरोले विद्युतका पोलहरु समेत ढालेका छन् । पहिरोले पोल ढालिदिंदा गाउँका केही क्षेत्र चार दिनदेखि अन्धकार छन् । विद्युत सेवा नहुँदा ग्रामीण क्षेत्रका बासिन्दा सञ्चार सम्पर्क विहिन अवस्थामा पुगेका छन् । ग्रामीण सडकहरु पहिरोका कारण अवरुद्ध हुँदा तत्काल कोही गाउँबासीमा गम्भिर स्वास्थ्य समस्य देखिए तत्काल उपचार सेवा पाउने अवस्था समेत छैन ।’

पहिरोका कारण गाउँपालिकाको वडा नम्बर ५, ६, ७ र ८ का क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । विद्युतका पोल मर्मतका लागि प्राविधिक बोलाएपनि झरी नरोकिदा काम हुन नसकेको स्थानीय बेलबहादुर आलेले बताए । ‘पानी परिरहेको र पहिरो पनि पन्छाउन सकिएको छैन’, उनले भने, ‘पहिराले लगभग आधा किलोमिटर सडक भाँसिएको छ र अजम्बरी भिरको एक स्थानमा बाटो नै बगाएर खोल्सो बनाएको छ । त्यस ठाउँमा पैदल हिड्न पनि मुस्किल छ ।’
मनसुनी वर्षा सुरु भएसंगै ठुलो झरीका कारण गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी पहिरोले ठुलो क्षति पुर्याएको प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले बताए । ‘बाढी पहिरोले गाउँपालिकाको मुख्य सडक खण्डको अजम्बरी भिरमा करिव आधा किलोमिटर दुरी भासिएकाले उक्त सडक मर्मत सुधार गाउँपालिकाको एकल प्रयासमा सम्भव छैन’, उनले भने, ‘संघ, प्रदेश सरकार तथा अन्य सम्बन्धित निकायले सडक निर्माणका लागि चासो नदेखाए गाउँपालिका बासिन्दाले ठुलो समस्य झेल्नुपर्ने अवस्था छ ।










