नेपालको प्रथम वैज्ञानिक बन्दे कामीले तनहुँमा तोप कसरी बनाए ?
देव बस्न्यात

विषय प्रवेश
तत्कालीन तनहुँराज्य गोरखा भन्दा धनजनले सम्पन्न थियो । रामनगर, चितवन, कलेस्ती माढी चुँदीफाँट जस्ता उब्जाउशिल भूमि थियो । शिवानन्द तथा रामोपाध्याय जस्ता विद्वानहरु तनहुँका काजी पदमा आसिन थिए । तनहुँ गोरखाका नरेश राम शाह, डम्बर शाह, वीरभद्र शाह, नरभूपाल शाहको ससुराली र पृथ्वी नाारायणशाहको मावली पनि थियो । नेपालका राजा रण्बहादुर शाहले आफ्नी छोरी तेजराज्यलक्ष्मीको विवाह रामनगरका राजा तेज प्रताप सेनसंग विवाह गरिदिएर दह्रो कुटुम्बेरी नाता कायम गरिएको थियो । तैपनि गोरखा र तनहुँ बीच बारंबार युद्ध भइरहने गर्दथ्यो । देशको सुरक्षाका लागि परम्परागत हातहतियारले मात्र देश र नागरिकहरुको सुरक्षा हुन नसक्ने स्थिति देखियो । तनहुँ राज्यको सिमाना बेतिया सम्म फैलिएका कारण भारतबाट देशलाई आबस्यक आधुनिक हातहतियार खरिद गरेर सैनिक स्थिति मजबुत गर्न सकिन्थ्यो । तर उत्तरमा छिमेकी गोरखा र दक्षिणमा बेतिया तनहुँको काँढा बनेर उभिएका थिए । पहाडको बसाइले तराइको १५ तप्पा जग्गा मध्ये १२.५ तप्पा जग्गा अंग्रेज सरकारको पालामा बेतियाको राजाले दर्ता गरेर तनहुँको भूभाग छिनेका थिए । बचेको २.५ तप्पा जग्गाको उठती राजस्वको अधिक भाग दिल्ली दरवारमा सिर्तो बुझाउनु पर्दथ्यो । अर्को तर्फनिरन्तर गोरखाको आक्रमणले देशको व्ययभार बढदै गएको थियो । दिन प्रतिदिन तनहुँ राज्यमा आन्तरिक ऋण बढदै गएको थियो ।
गोरखालीहरुको बढदो प्रभाव र तनहुँको नयाँ रणनीति
नुवाकोट संगको यसभन्दा पूर्व भएका युद्धहरु र वि.सं. १८०० असोज १५ गतेका युद्धमा समेत गोरखाले पराजय ब्यहोर्न परेपछि शक्ति सुदृडिकरणका लागि गोरखाली नरेश पृथ्वीनारायण शाह आफ्ना सेनापति वडावीर शिवरामसिंह बस्न्यात, चौतारिया चन्द्रप्रकाश शाह विराज बखेती, लक्ष्मीनारायण पाण्डे भानु जोशी सहित ३६ जनाको स्पेशल सैनिक टोली र भारबाहक समेत १०० जनाको जम्बोटोली लिएर तीर्थयात्राको नाममा हतियार खरिद गर्ने उद्देश्यले वनारस पुगेका थिए । सो बेला पृथ्वीनारायण शाहले कति हतियार खरिद गरे अहिलेसम्म स्पष्ट हुन नसकेको विषय हो । तर उनीहरु बुटवल, पाल्पा, रिडी, स्याङ्गजा तनहुँ हुँदै वि.सं. १८०० चैत्र २५ गतेका दिन गोरखा फर्केका थिए । वि.सं. १८०१ को नुवाकोट युद्ध र १८१९ को मकवानपुर युद्ध विजय पछि गोरखाको शक्ति दिन दुइगुना रात चारगुनाले बढदै गएको थियो । सन १३१३ मा तोपको निर्माण भएको थियो । सन १५२६ बाबरले पानीपतको युद्धमा तोपका प्रयोग गरेका थिए भने २० जनबरी १७६३ (वि.सं. १८२०) मा मिरकासिमका सेनाले नेपालको मकवानपुरमा राइफल र तोपको प्रयोग गरेका थिए । यही युद्धमा गोरखाका सेनाले मिरकासिमका सेनाका ५०० राइफल र दुइवटा तोप हात पारेका थिए । तीव्र गतिमा सैन्यशक्ति बढदै गएपछि गोरखाले तनहुँ माथि बेलाबेलामा सानाठूला युद्धहरु गरिरहेका थिए । यही समयमा तनहुँका राजा त्रिविक्रम सेनलाई गोरखाले बन्धक बनाई नुवाकोटको जेलमा थुनेर राखेको थियो ।

वि.सं. १८२७ फागुन २३ गतेका दिन छलपूर्वक गोर्खालीहरुले तीन तिरबाट तनहुँसुरमाथि आक्रमण गरे । रानीश्वाँरा आइपुगेका राजा कामारीदत्त सेनलाई गोरखाली सेनको बन्दुकको गोली लाग्यो । त्यही गोलीका कारण ढुकुटीघरमा लुकेर बसेका राजको औषधीमूलो र खानपिन पुर्याउन नसक्दा मृत्यु भयो । वि.सं. १८२८ पौष ५ गतेका दिन भीरकोटसंग भएको युद्धमा गोरखाली सेनालाई असहयोग गरेको निममा सेनापति केहरसिंह बस्न्यातले सतहुँमा ९६ जना तनहुँका सेनालाई लाइन लगाइ मारेकोमा तनहुँका राजा रिसाएका थिए । आफुना हितैषि मित्र तनहुँका सेनाहरु मारेकोमा पर्वत, भीरकोट सतहुँ कास्की लमजुङका चौबिसे राज्यहरु पनि क्रुद्ध बनेका थिए । तनहुँले पनि गोरखाको आश्रय तोडदै पर्वतका राजा कीर्तिबम मल्लको नेतृत्वमा सतहुँको युद्धमा गोरखा विरुद्ध होमियो । सोही युद्धमा सेनापति केहरसिंह बस्न्यात सहित ५०० जना गोरखाली सेनाहरुको मृत्यु भयो । त्यही युद्धमा गोरखाको नराम्रो संग हार सँग भयो ।
वि.सं. १८३४ को श्रावण महिनामा गोरखाले तनहुँको चितवन खण्डका कविलासपुर गढी र उपरदाङ गढीमाथि विजय हात पारी नेपालमा गाभेको थियो । यस युद्धमा चितवनका प्रशासक राजा हरकमारदत्त सेनका भाइ विचित्र सेन सहित धेरै सेनाको ज्यान गएको थियो । यसको लगतै नेपाली सेनाले तनहुँको सोमेश्वरगढी पनि सहजै हात पारेको थियो । अन्ततः वि.सं. १८३६ मा तनहुँसुर दरवारमा भारदारी सभा बस्यो । भारदारी सभामा राजा हरकुमारदत्त सेन पनि उपस्थित थिए । तनहुँसुरको सुरक्षाको विषयमा मुख्य मुख्य दुइवटा प्रस्तावहरु राखिए । भारदारी सभामा तनहुँसुरको रजस्थल निर्बुमा सार्ने र तनहुँसुरको सुरक्षार्थ तोप बनाउने निर्णय भयो । तनहुँसुरको रजस्थल निर्बु सार्ने विषयमा सबै गाउँघरका घरधुरीको एकजना झारा जान उर्दी जारी गर्ने र तोप बनाउनका लागि बन्देथोक निवासी बन्देकामीलाई बोलाउने निर्णय गरियो । तत्कालै रजस्थल सार्ने विषयमा झारा बोलाइयो । निर्बुमा रजस्थल खडा गरियो । एकदिन तनहुँसुरका नेवारहरु झाराका लागि निर्बु गए । दिनभरी निर्बुमा काम गरे । साँझ पर्दै गएपछि निर्गु नामक औलरुपि राक्षसले सबैलाई अंठ्याउँदै गयो । झारालीहरुलाई औल लागेको महसुस गरी तनहुँसुरे लामपाटे नेवार कृष्णलाल श्रेष्ठले सबैलाई तनहुँसुरमा जा भनेका हुनाले सबैजना दौडेर तनहुँसुर पुगे। निर्गु राक्षसबाट बचियो भनेर खुसीले हटियामा नेवारहरुले नाच लगाए रे । त्यही दिनदेखि सुरु भएको तनहुँसुरे स्पेशल नाचलाई देवीनाच भन्ने गरिएको हो भन्ने जनोक्ति रहेको छ । तनहुँसुरको रजस्थल निर्बु र्सर्ने भएपछि सेनाको लागि आबश्यक रसदपानी राख्न निर्बुमा पनि गोदाम घरका लागि आबश्यक जग्गा व्यवस्था गरिएको थियो । गोदाम राख्न खरिद गरिएको उक्त स्थानलाई अहिले पनि गोदामटार भन्ने गरिन्छ ।
तनहुँका कामीहरु र तोप निर्माणको प्रसङ्ग
तनहुँ ब्राहृमण क्षत्री गुरुङ मगर, दरै कुमाल, बोटेको साथसाथै दमै कामी सार्की र गाइनेहरुको बसोबास स्थल पनि हो । सबै जातिहरु भन्दा कामीहरु सिपका पारखीहरु मानिन्छन् । यसैले उनीहरुलाई शिल्पकार पनि भनिन्छ । पाखुरी बजारेर नै उनीहरु अर्थ उपार्जन गर्दथे र गर्दैछन् पनि । शिल्पकार भएकै नाताले हंसिया, फाली, बञ्चरो लगायतका कृषि औजारहरु बनाएर नगद तथा जिन्सी सामानमा विनिमय गर्दथे भने अधिकाँश कामीहरु बालीघरे मानिन्थे । विशेष गरेर घरगाउँका छिमेकीहरुको अर्डर अनुसार नयाँ सामान बनाउने र पुराना सामानहरु रसायन भर्ने, अर्जाप्ने तथा मर्मत गर्ने काम उनीहरुमा पर्दथ्यो । आबस्यक परेमा राज्यको लागि आबश्यक हातहतियारहरु जस्तै खड्ग, ढाल, तरवार, खुकुरी, हंसिया, धनुषकाँढ र भालाहरु बनाउने, मर्दना गर्ने र सो को उचित पारितोष लिने गर्दथे । सिपका पारखी विश्वकर्माहरु काम देखि बिमुख थिएनन् । उनीहरु आफ्नो पेशामा गौरव गर्दथे । दिनभर आरनमा बस्दथे र सामानहरु बनाइ रहने गर्दथे ।
तत्कालीन तनहुँसुर दरवारमा भारदारी सभा बस्यो । देशको सुक्षाका लागि परम्परागत हातहतियारले देश र नागरिकहरुको सुरक्षा हुन नसक्ने देखियो । भारदारी सभामा तोप र बन्दुक बनाउने निर्णय गरियो । हुनत बेतियासम्म तनहुँको सिमाना फैलिएको थियो । भारतबाट देशलाइ आबस्यक हतियार खरिद गर्न सकिन्थ्यो । तर उत्तरमा छिमेकी गोरखा र दक्षिणमा बेतिया तनहुँको काँढा बनेर उभिएका थिए । भारदारी सभाको निर्णयानुसार तनहुँसुरबाट बन्दिपुर पुगेका सैनिकहरुले बन्देकामीलाई तनहुँसुरमा सेनापति गरुडध्वज पन्त समक्ष उपस्थित गराउँदा भए । सेनापति पन्तले हे बन्दे तिमीले देशको लागि धेरै हातहतियारहरु बनायौ अब फेरी देशका लागि तिमीले तोप र बन्दुक जस्ता आधुनिक हतियारहरु पनि बनाउनु भनी लालमोहर गरी दिएका थिए ।
कसरी बन्यो तनहुँसुरको तोप
एकछिन् त बन्देकामी तोप कसरी बनाउने भन्ने विषयमा सोचमग्न भए । तोप कसरी बनाइन्छ भन्ने सामन्य ज्ञान पनि नभएको बन्दे कामी तोप बनाउने लालमोहर लिएर बन्दिपुर फर्कियो । तोप कसरी बनाइन्छ भनेर बुझने प्रयत्न गर्यो । तोपका आकार प्रकार हेर्न गोरखा सँगको युछमा बन्दे सहभागी पनि भयो । यसैगरी तोपको आकार प्रकार कारे अध्ययन गर्न तीर्थव्रत गर्ने निहुँमा मकवानपुर र भारतका विभिन्न स्थलहरुको भ्रमण पनि गर्यो । नयाँ जोस र उमङ्गका साथ बन्दे घर फर्कियो । कुनै नयाँ बस्तु देख्नासाथ त्यसको हुबहु नक्कल गर्न सक्ने अदभूत क्षमता थियो बन्देकामीमा । शक्तिका अधिष्ठात्री खड्गमाईको पनि आर्शिवाद थियो बन्देमा । हातहतियार बनाउन सिपालु बन्देले बाँसको मान्द्रोको, भैंसीको छालाको नमुना तोपहरु बनाउने बिचार गर्यो । एकैचोटी ५ फिट ६ इन्च लामो फलाम पिटेर फलामका पत्ता बनाएर बांसको जस्तो भित्र खोक्रो रहेको ढुङ्ग्रो सामन्य आरनबाट बनाउन नसकिने भएकोले बन्देले पछाडि (Breech) पट्टी १३ इन्च व्यास (Dimitar) र अगाडि तर्फ (Muzzle) १२ इन्च व्यास (Dimitar) भएको फलामको ठूलो पत्ता ढालेर नाल (Barral) तयार गर्यो ।
फलामको पत्ता बाहिर चुनाराले ठेकीको बाहिर बाँध्ने काँजो (मुन्द्रा) साना रिङ्गहरु पनि बनाएको थियो । तत्कालीन परिवेस अनुसार हरेक रिङ्ग (फलामका पत्ताहरु) लाई बोलडिव गर्न आधुनिक प्रविधि थिएन । यसैले हरेक पाताहरुलाई परम्परागत प्रविधिले रसाएर मात्र जोड्न सकिने बिचार गर्यो । तनहुँ जिल्लाको भिमादमा बनाइएको झोलुङ्गे पुलमा मोटो र बलिया आकारका साङ्लाहरु आपसमा जोडेर सेती नदी वारपार गर्न पुल तयार गरे झैं तोपका हरेक बाहिरी साना पत्ताहरुलाई पानीले भिजाउने तामा तथा पित्तलकामसिन पत्ताहरु राखेर सो माथि रातोमाटो र दर्शनढुङ्गाको धुलोहरु छर्केर ३८ गोटा फलामका साना साना पत्ताहरुलाई गाँसेर आगो लगाएर रसाइएको थियो । यसरी उक्त तोपको नालको लम्बाइ ५ फिट ६ इन्च बन्न पुगेको थियो । तोपको मजबुतीको लागि उस्ले अरु चार वटा ठाउँहरुमा बन्धन गरी रसायन गरिएका पत्ताहरुलाई नाल भित्र राखिएका बारुदले तोड्न नसकोस भनेर दह्रो र मजबुत बनाएको थियो । यो बनाइएका वन्धनहरु मध्य अगाडिको बन्धनलाई Front band माझको लागि middle Band र पछाडिका बन्धनलाई Lower band भन्ने गरिन्छ । चारवटा बन्धनहरु मध्ये तीन ठाउँका बन्धनहरु साधा किसिमका बनाइएका थिए भने एक ठाउँको चाही २ पट्ट रिब Swivel राखेर बनाइएको थियो । जो हातको पञ्जा घुसाएर या समातेर कतै लान ल्याउन सजिलो होस भनेर फिट गरिएको थियो । मजलको मजबुतिको लागि १२ इन्च व्यासको गोलो रडको रिब बनाएर मजलको गोलो भित्र पट्टी भागमा फिट गरे पछि तोप तयार गरिएको थियो । बारुतको छिर्का पछाडि नआओस भनेर पछाडिको दुलो बन्द गर्नको लागी एउटा फलामको पातालाई पिटेर डब्बा र अगाडि गएको आगोका ज्वाला छेक्ने Flash elementary front cover बनाएर राखिएको थियो । तर तोप पड्काउनको (फायरगनको) लागि करीब १ इन्च Bridge र अगाडी पट्टी ०.५० इन्च गोलाईको दुलो (Nosal) बनाएको थियो जसलाइ नेपालीमा छुच्ची भन्ने गरिन्छ । जुन नोजलमा आगो लगाएर तोप फाएर गर्न सकियोस भन्ने उद्देश्य राखिएको थियो ।
तोप फलामबाट तयार गरिएको आधुनिक हतियार हो। घामपानी र हावाको बढी सर्ंर्सग हुन गयो भने फलाममा शतप्रतिशत खिया लाग्ने गर्दछ । फलामले बनेको तोपमा खिया नलागोस भन्नाका लागि कालोखोटो लगाउनु पर्दछ । तोपलाई कालो -Broweing) टल्कने बनाउनको लागि १ नाइटिङ्ग एसिड २ कारपेसलफेड ३ हाडसोड आबस्यक पर्दछ । तोपको लम्बाई अनुसार एउटा टिनको डोंड -Tank) बनाएर ब्राउनीब (Broing) गरेर तोपलाई कालो हुने गरी टिलिक्क टल्कने बनाए पछि बन्देले राजाको सेनापति गरुडध्वज पन्तलाई तोप देखाएको थियो ।
तोप तयार भइसकेपछि तोपका लागि आबस्यक बारुतजन्य पदार्थ बाहिरबाट मगाउन नसकिने भए पछि तनहुँका राजाले बेतिया तिरबाट झिकाइएका मुस्लिम कालीगढका सहायताले आवस्यक गन्धक, सादासोडा, निलोतुथो, नरम काठ -गुयंला, भक्केम्ला, अरेली) को कोइलाको धुलो मिश्रण गरी बारुत समेत तयार पारेको थियो । बारुत तयार भएपछि सेनापतिको रोहबरमा तनहुँसुरमा बन्देकामीले तोपको परीक्षण पनि सम्पन्न गरेको थिए । तनहुँसुरबाट हानेका तोपको गोला मिर्लुङको पहरामा पुगेर प्वाल पारेपछि तोपले सही काम गरेछ भनेर स्यावासीका साथै बन्देलाई बक्सिस पनि प्रदान गरिएको थियो । सोही विधि र प्रविधि अनुसार पुनः एउटा ठूलोतोप र अरु सात गोटा साना हाते तोपहरु बनाएर बन्देकामीले तनहुँका सेनापतिलाई बुझाएका हुन। अहिले तनहुँसुरमा ठूलो मध्येको एउटा तोप र अन्य चारवाटा साना तोपहरु तनहुँसुर कालिका मन्दिरमा देखिएता पनि बोक्न सकिने खालका दुइगोटा साना तोपहरु भने गोरखाली सेनाले गोरखा लगेको र बाँकी २ गोटा हाते तोपहरु बन्दिपुर व्यारेक पुगेको बुझिन्छ ।

तनहुँ जिल्लाको सदरमुकाम बन्दिपुरबाट दमौली सरेपछि बन्दपुरमा रहेको सैनिक ब्यारेकमा दमौलीमा सरेको थियो । यही बेला बन्दिपुरमा भएका तोपहरु दमौलीमा ल्याएर राखिएको छ भन्ने कुरा बन्दिपुर निवासी बृद्धबृद्धाहरुबाट अपुष्ट सूचना मिलेता पनि हालसम्म सही हो होइन भनी एकिन गर्न सकिएको छैन । ठूला तोपहरु मध्येको एउटा तोप उच्छृंखल केटाहरुले गोलाभञ्ज्याङबाट तल भीरमा गुडाएको भनेता पनि व्यक्तिगत प्रयोजनमा लगेकी भनी सङ्का गर्न पनि सकिन्छ । बाँकी तोपहरु कस्ले कहाँ लगेका छन् केही थाहा पाउन सकिएको छैन । तर हाल गोलाभञ्ज्याङमा रहेको बोक्न नसकिने ठूलो तोपको मजलपट्टकिो भाग चाही खड्गकालिका मन्दिरभित्र राखिएको पाइएको छ । फौजी हातहतियार एवं बारुत राख्ने सुरक्षित ठाउँ या भवन, शस्त्रागर, जङ्गी असबाबखाना -गोदाम) र सिलखाना भन्ने गरेको पाइन्छ । तनहुँसुरको सिलखाना रानीस्वाँरा भन्दा तलको गहिरो खोचमा राखिएको थियो । जुन अहिले खण्डहरको रुपमा रहेको छ ।
अन्त्यमा
बन्दिपुर गाउँपालिका वडा नं. ४ निवासी सुकबहादुर आले वि.क.उनै बन्दे कामीको वंशधर हुन् । परम्परागत पैतृक पेसालाई तिलाञ्जली दिंदै सुकबहादुर वि.क वि.सं २०२१ साल फागुन १५ गतेका दिन भारतीय उडीसा मेल्ट्री पुलिसमा भर्ती हुन पुगेका थिए। दैवसंयोग भारतीय सेनाको Electrical & mechanical Engineering Center मा सेवा गरेका बि.क.ले IV, III, II/Ist grade/SPI Grade तालिम लिने सुअवसर पाए। सेनामा भर्ती हुँदाको अवस्थामा सुकबहादुर आले बि.क हातहतियार निर्माण कार्यमा संलग्न हुन पुगेका थिए ।
वास्तवमा बन्दे कामीले आफ्नै सिप र प्रविधि प्रयोग गरेर तनहुँसुरमा तयार गरेको तोप नै नेपालकै सबैभन्दा पहिलो र पुरानो तोप पनि हो । देशका लागि हातहतियार निर्माण गरेर स्वदेशप्रति आफ्ना पूर्खाले दिएको अमूल्य योगदान प्रति सुकबहादुर आले वि.क. गौरवको अनुभूति गर्दछन् । सबै भन्दा पछिको तोप सुक बहादुर आले बि.क.ले काठको नमुना तोप बनाउनु भएको हो । हुन त तनहुँसुरको मात्र नभएर नेपालकै पहिलो तोप बनाउने कुशल कालीगढ बन्देकामीलाई स-सम्मानका साथ नेपालमा तोप बनाउने प्रथम बैज्ञानिक भनेर घोषणा गर्दा कुनै अतिशयोक्ति नहोला ।










