नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा एपेक्स हस्पिटालिटी

दमौली : तनहुँ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौं तनहुँ महोत्सवको मुख्य प्रायोजकमा दमौलीस्थित एपेक्स हस्पिटालिटी लिमिटेड रहेको छ । संघका कार्यकारी सचिव सिता गुरुङका अनुसार महोत्सावको प्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक लि., सह प्रायोजकमा प्रभु बैंक लिमिटेड लि. र गोरखा ब्रुअरी प्रा.लि. रहेका छन् भने, टिकट प्रायोजकमा नबिल बैंक लि., हस्पिटालिटी पार्टनरमा सिद्धार्थ होटल, टुरिजम पार्टनरमा बन्दिपुर हिल, इन्स्योरेन्स पार्टनरमा युनाइटेड अजोड इन्स्योरेन्स लि. रहेका छन् ।
यस्तै, महोत्सवको संरक्षकमा जिल्ला समन्वय समिति, तनहुँ, प्रवर्द्धकमा नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ, व्यास नगरपालिका तनहुँ छन भने महोत्सवको सहआयोजकमा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाई समिति रहेको सचिव गुरुङले जानकारी गराइन् ।

यही पुस २५ गतेबाट दमौलीमा सञ्चालन हुने महोत्सवमा ४० स्टल किसानका लागि निःशुल्क उपलब्ध गराइने भएको छ । “तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ आयोजित महोत्सवमा कृषि, पर्यटन तथा प्रविधि महोत्सवमा कृषिमा पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ ।
किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न महोत्सव गर्नु परेको तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले बताए। कृषि र पर्यटनको लागि ४० वटा स्थल निःशुल्क प्रदान गरिएको उनले बताए ।
बिचौलीयाको माध्यमबाट सस्तोमा बेच्नुुपर्दा लागत मूल्य नउठेर किसान पलायन हुने र उपभोत्ताले महङ्गो मूल्यमा किनु पर्ने बाध्य भएकोले किसानलाई संरक्षण गर्न महोत्सव गर्नु परेको बताउँदै उनले भने, ‘उत्पादन गरेका कृषि तथा पशुजन्य उपजको प्रदर्शनी तथा बजारीकरण गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने प्रमुख उद्देश्यले महोत्सव गर्न लागेका हौं, किसानलाई स्टलको पैसा तिर्नुपर्दैन ।’
कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ। महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपंक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश गर्न सकिने महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
त्यस्तै महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्दकुमार श्रेष्ठले बताए। महोत्सवमा दुई सय वटा स्टलहरु रहने र सबै बुकिङ भईसकेको स्टलका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति सुकनारायण मल्लले बताए ।
महोत्सवमा विहान ११ बजे सम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ। आयोजकका अनुसार दर्शकको संख्या वृद्धि गरी आर्थिक क्षेत्र चलायमान गराउन सार्वजानिक बिदाको दिन बाहेक अन्य दिन बिहान ११ बजेसम्मका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।