ऋषिङमा निःशुल्क आँखा शिविर, १२३ जनाको मोतियाविन्दुको शल्यक्रिया

ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको निःशुल्क आँखा घुम्ती शिविरबाट ९५४ जना लाभान्वित भएका छन्। नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल, नेपाल नेत्रहीन संघ समावेशी समाजका लागि कार्य (लमजुङ–तनहुँ) र ऋषिङ गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाका सबै वडामा सञ्चालन गरिएको घुम्ती शिविर तथा असोज २१ र २२ गते कोटदरबार स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविरबाट उक्त संख्यामा सेवाग्राहीले सेवा लिएका हुन् ।
शिविरमा आँखासम्बन्धी विभिन्न समस्या भएका ५७६ जनाको परीक्षण तथा उपचार गरिएको छ । नजिकको दृष्टिमा समस्या भएका १०१ जनालाई निःशुल्क चस्मा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
त्यस्तै, मोतियाविन्दु भएका १२३ जनाको निःशुल्क शल्यक्रिया गरिएको छ । दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै आँखासम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको थियो ।
गाउँमै सञ्चालन गरिएको शिविरबाट आँखाको समस्या पहिचान तथा उपचारसँगै मोतियाविन्दुको शल्यक्रियासमेत निःशुल्क भएपछि स्थानीयवासी लाभान्वित भएका छन् । ग्रामीण क्षेत्रमा नियमित तथा पहुँचयोग्य आँखा उपचार सेवा विस्तार गर्न यस्ता शिविर प्रभावकारी हुने आयोजकको भनाइ छ ।










