दानवीर र दानको महत्व

के.बि. मसाल

आजभोली सामाजिक कामका लागि आयोजना हुने धान्याञ्चल महायज्ञ र पुराणमा दान दिने र कबोल गर्नेहरुको घूइँचो हुन्छ । कुनै एकले दान र कबोल गर्न नपाउँदै उद्घोषकलाई अर्का दानबीरको नाम माइकमा घोषणा गर्ने हतारो पर्दछ । भागवत पुराणमा भजन र कथावाचनलाई रोकेरै भएपनि दानवीरका नामहरु उद्घोष गरिन्छन । धेरै दान दिनेलाई बाजागाजा सहित पालकीमा राखेर नगर परिक्रमा पनि गराइन्छ । प्रायजसो सार्वजनिक कामका लागि गरिने पुराणमा यस्तै यस्तै समान दृष्य देख्न पाइन्छ । चाहे विद्यालय, क्याम्पस भवन, अतिथि सदन, अनाथ आश्रम अथवा अस्पताल आदि निर्माण सहयोगार्थ लगाइएका पुराण नै किन नहोस। अहिले समाजमा आर्थिक सहयोग गर्ने दानवीरहरुको लहर छ । कसैको दुःख, अभाव, पीडा टार्नका लागि देश विदेशमा रहने मनकारी दानवीरहरुबाट पनि सहयोग जुटने गरेको छ । एक हिसाबले यो सकारात्मक पक्ष पनि हो ।
भागवत पुराणमा दान दिएर वाहवाही, स्यावासी पाएकैहरुको सहयोगले धेरै सामाजिक काम समेत भएका छन । ठूला अस्पताल, विद्यालय, क्याम्पस र अतिथि सदन पनि निर्माण भएका छन । तर, दानबीरले कबोल गरेको रुपैयाँ नउठने पनि हुने गरेको छ । दानबीरहरुले जुन प्रयोजनका लागि रकम कबोल गरेका थिए, त्यसैको आधारमा काम सुरु हुने र दान कवोल गरेको रकम समयमा जम्मा नभएपछि थालेको काम अधुरो पनि हुने गरेका छन । कतिपय दानवीरहरुले दिएको भूमीदान नदी र खोलाको बगरमा रहेको छ । कतिपय ठाउँमा दानदियको भूमीमा कानुनी झमेला समेत हुने गरेको पनि छ। दानको अर्थ हो आफ्नो केही बस्तु वा सम्पत्तिको मालिक अरुलाई बनाउनु । दानवीरहरुलाई दानदिने स्वीकृति मनबाट, वचनबाट अथवा शरीरबाट स्वचालित भएर आउन पर्दछ । दान स्विकार गर्नु प्रतिग्रहण कार्य हो । यो कार्य कुनै चिज लिनु दिनुसँग मात्रै नभएर आत्मा शान्तीसंग पनी जोडीएको हुन्छ ।
दान भनेको दिनु हो । तर दान कसलाई दिने, के दिने, कहाँ दिने, यसको परिभाषा धेरै छ र जान्न जरुरी छ। गाईदान, भूमिदान, सुनदान आदि पनि दान गरिन्छ । कन्यादान, वीर्यदान, मतदान, रक्तदान, श्रमदान यी पनि दानकै परिभाषाभित्र पर्दछन् । वलिदान पनि महत्वपूर्ण दान हो। दानको अर्को अर्थ त्याग गर्नु भन्ने हुन्छ । भोकालाई अन्नदान, नाङगालाई बस्त्र दान दृष्टिविहीनलाई आँखादान, निर्माणका लागि श्रमदान, गल्ती गर्नेका लागि क्षमादान आदि यी दान पनि महादान भित्र पर्दछन् । हाम्रो वैदिक सनातन हिन्दू धर्म, दर्शनमा दान दिँदा ध्यान दिनुपर्ने र विचार पु¥याएरमात्र दान दिनुपर्छ भनिएको छ। दान पनि राजसी, तामसी, सात्विक हुन्छन् भने सात्विकी दान नै सर्वश्रेष्ठ हो । जुन दानमा कुनै स्वार्थ हुँदैन र केवल परोपकारमात्रै हुन्छ त्यो दानलाई सात्विकी दान भनिन्छ । निदोर्ष पशुपंछीहरु बलिदान गरिन्छ, यो दान तामसी दान हो । यज्ञ, यज्ञादिमा मेरो फलानो कार्य सिद्धिहोस् भनेर गरिने जुनसुकै दान राजसी दान हो । दान नित्य कर्तब्य सम्झेर कुनै कामना बिना दिनु पर्दछ बिज्ञापन गरी, शिलालेख लेखाई, ढोल पिटाई, कामना सहित सामाजिक प्रतिष्ठाको कामना गरी दिईने दानको कुनै अर्थ हुदैन ।
आजभोली विद्यालय भवन, सामुदायिक भवन, कलेजका सन्चालनदेखि लिएर मठ मन्दिर निर्माण र पर्यटनको पूर्वाधार निर्माण गर्नका लागि धार्मिक तथा सामाजिक अभियान चलाएर दानस्वरुप चल अचल सम्पत्ती संकलन गर्ने चलन व्यापक रुपमा जताततै चलेको छ । तर यस्ता अभियान र कार्यक्रमा दान र सहयोग गर्ने भनिएका प्रतिवद्धता भने बर्षै सम्म पूरा नगर्ने चलन पनि समाजमा देखिएको छ । समुदायिक विद्यालय तथा कलेजहरुको स्तरोन्नती र थप कार्यक्रम संचालनका लागि सहयोग जुटाउन गरिने यस्ता धार्मिक र सामाजिक अभियानमा सामाजिक प्रतिष्ठा बटुल्ने लालसाले सार्वजनिक समारोह अथजा भागवत कथा पुराणमा नगद र चलअचल सम्पती प्रदान गर्ने मौखिक होडबाजी नै चल्छ । सामाजिक प्रतिष्ठा कमाउने लालसाले सार्वजनिक समारोहमा सहयोगको उधारो प्रतिबद्धता गर्ने तर पुरा नगर्ने प्रवृति पनि छ ।
दानको प्रकारमा सामाजिक चरित्र बढता प्रभावी छ । यस्तो दानलाई पारस्परिकताजनित दान भनिन्छ । आज अरुलाई गरिने दान प्रतिफल बनेर भोलिका दिनमा पुनःआफूलाई प्राप्त हुन्छ भन्ने मान्यताले पनि मानिसलाई दान गर्न प्रेरित गरिरहेको हुन्छ । मानिस मर्दा मानो मिसाउन अर्थात पु¥याउने प्रचलन यस्तै खालको दानको एउटा उदाहरण हो । यस प्रकृतिको दान संसारमा बढी प्रचलित छ । फ्रेन्च समाजशास्त्री मार्सेल माउसले आफ्नो किताब द गिफटमा यस्तो खालको दानको विस्तृत चर्चा गरेका छन । आज संकटमा परेकालाई मैले सहयोग गरेँ भने भोली मलाई अप्ठेरो पर्दा अरुहरुले पनि सहयोग गर्नेछन भन्ने आशाले मानिसलाई दान गर्न प्रेरित गरिरहेको हुन्छ । आफन्त, छरछिमेक, इष्टमित्र आदिलाई मर्दापर्दा गरिने सहयोग यस्तै खालको दानको अर्को उदाहरण हो । महामारीजस्ता विपत्तिमा गरिने दानमा पनि यस्तै भावना हुन्छ । यस्तो खालको दानले व्यक्तिलाई समाजसँग बलियोसँग जोडेको हुन्छ ।
दान कुनै साधारण कार्य होइन । कुपात्रलाई दान दिनुहुदैन । निस्वार्थ भावले दान दिनुपर्दछ । वायुपुराण अनुसार दान तीन प्रकारका हुन्छन् । श्रेष्ठ, कनिष्ठ र मध्यम । श्रेष्ठ दानबाट मोक्ष प्राप्त हुन्छ भने कनिष्ठ दानबाट स्वार्थसाधन । दयावश संवितरण नै मध्यम दान हो । बेइमानीद्वारा आर्जित धन दान दिएर कुनै लाभ हँुदैन । शीतकालमा चिसोले कक्रक्क भएको मानिसलाई कम्बल दिनु त राम्रो हो तर त्यसको फोटो खिचेर पत्रपत्रिकामा समाचार प्रकाशित गर्नुले दानको महिमालाई घटाउँदछ। मानिसले आफ्नो यशको लागि धर्मशाला, दातव्य औषधालय, अस्पताल, स्वास्थ्य शिविर, नेत्र शिविर आदिको लागि दान दिन्छन् । जसले गर्दा उसको नाम हुन्छ, दानको हँुदैन। वास्तवमा दान एकदमै कठिन कार्य हो । एउटा भनाइ छ इश्वरको आभार प्रकट गर्नु कि तपाईंले मलाई दानदिन योग्य बनाउनु भयो र मैले यो दान दिन सकेंं । यस्तो उदार भावनाले दान दिनु नै दान हो ।
कसैलाई निस्वार्थ भावले आर्थिक वा भौतिक सहयोग गर्नुलाई दान दिनु भनिन्छ। दान दिनुलाई मानव जातिमा सबैभन्दा ठूलो धर्म मानिन्छ । यसलाई पुनित कार्य पनि भनिन्छ । त्यसैले, दान गर्दा कुनै इच्छा राखेर दान गर्नु हुँदैन । किनकी शात्रस्त्रमा उल्लेख गरिए अनुसार त्यही दान ठूलो हो। जुन निश्चल मनले दिइन्छ । दानका पनि प्रकार छन । जसमध्ये अन्नदान महादान पनि भनिन्छ। त्यो भन्दा ठूलो दान विद्यादान हो । किनकी अन्नले व्यक्तिलाई क्षणिक रुपमा तृप्त बनाउन सक्छ । तर विद्याले जीवनलाई नै तृप्त बनाउँछ । ऋग्वेदमा भनिएको छ, संसारको सर्वश्रेष्ठ दान भनेको ज्ञान दान हो । किनकी ज्ञानदानमात्र एउटा त्यस्तो ज्ञान हो, जसलाई न त कसैले चोर्न सक्छ, न त कसैले नष्ट नै गर्नसक्छ । बरु जति बाढ्यो उति बढदै जान्छ र मानिसहरुलाई यसले स्थायी सुख दिन्छ । धर्मशास्त्रहरुमा पनि तिथि पर्वमा गरिने स्नान पश्चात्त दानको विशेष महत्व रहेको बताइएको छ । कुनै व्यक्तिलाई सात्विक भावनाका गरेको दानको फल मानिसलाई अर्को जन्ममा मात्र प्राप्त हुन्छ । भविष्य पुराणमा लेखिए अनुसार दानमा पनि तीनवटा दान सर्वश्रेष्ठ छ, गोदान, पृथ्वीदान र विद्यादान। यो दुहुने, जोत्ने र ज्ञान आर्जित गर्नाले सात कुल पवित्र रहने जनविश्वास रहेको छ ।
दानको महत्व संसारका सबै धर्म, संस्कृतिहरु, र समाजहरुमा पाइन्छ। दान भनेको आफ्ना साधनहरुबाट अरुको आवश्यकतालाई पूरा गर्न निःस्वार्थ रुपमा केही दिने काम हो । यसले दातालाई परोपकारको अनुभूति गराउँछ भने लाभार्थीलाई राहत र सहयोग प्रदान गर्दछ। दानको प्रभाव केवल भौतिक सहयोगमा मात्र सीमित हुँदैन, यसले दाताको मानसिक, भावनात्मक, र आध्यात्मिक पक्षलाई पनि सुदृढ बनाउँछ। धेरै धर्महरुले दानलाई एक पवित्र कर्तव्यको रुपमा व्याख्या गरेका छन । भगवदगीता, उपनिषद र वेदहरुमा दानको चर्चा धेरै गरिएको छ । जहाँ निःस्वार्थ दानलाई सर्वोत्तम मानिएको छ । बुद्ध धर्ममा पनि करुणा र परोपकारको आधारमा दानलाई आत्मज्ञानको मार्गका रुपमा हेरिन्छ । इस्लाममा जकात र सदकाले दानलाई धर्मको स्तम्भका रुपमा राखेको छ। क्रिश्चियन धर्ममा दानलाई प्रेम र करुणाको अभिव्यक्ति मानिन्छ । दान एवं दक्षिणा गोप्य रुपमा दिनुपर्छ । कसैलाई थाहा दिनु हुँदैन अर्थात दान विशुद्ध अनि निस्स्वार्थ भावले दिनुपर्छ । द्वेषभावबिना समपर्ण गरिएको वस्तु नै दान हुन्छ । शारीरिक रुपले असक्षम, अनाथ, असहाय एवं गरिब नै दान लिन योग्य हुन्छन । तर आफ्नो मनोकामना पूर्ति तथा धन प्रदर्शनका लागि प्रदान गरिने वस्तु दान भित्र पर्दैन । दान दिनाले आत्मशुद्धि, वास्तविक सुखानुभूति एवं लोभ कम हुनुका साथै अरुका लागि केही गर्न पाएकोमा आत्मसन्तुष्टि प्राप्त हुन्छ ।
दानको परिभाषामा रक्तदान जीवनदान मानिन्छ । कसैले यस दानलाई महादान पनि भन्ने गरेका छन् । स्वस्थ्य मानिसको शरीरमा करिब छ लिटर रगत हुन्छ । एक लिटर रगत मात्र शरीरमा सञ्चार भइरहेको हुन्छ। स्वस्थ्य निरोगी व्यक्तिले सजिलै तीनसय एमएल रगत दान गर्नसक्छ । रगत दानले कुनै रोगीको प्राण रक्षा हुनसक्छ । शरीरको किडनी अर्थात मृगौला दान–आज उन्नत शल्य विधिले गर्दा दान दिन थालिएको छ । जसको दुवै मृगौलाले काम नगर्ने भएको छ, उसले मृगौला प्रत्यारोपण गराएर नवजीवन पाउन सक्छ । मानव शरीरमा दुईवटा मृगौला हुन्छन् र शरीरमा एउटा मात्र मृगौला भएमा पनि काम गर्छ। शरीरको अंग दानमा महत्वपूर्ण दान हो नेत्रदान । नेत्रदान भनेको अाँखाको नानी दान गर्नु हो । अाँखाको बनावटमा नानी एकदमै महत्वपूर्ण छ । नानी पारदर्शक र निर्मल हुनु आवश्यक छ। धेरै मानिस नानीमा दाग भएबाट अन्धत्व भोग्छन् । नेत्रदान गर्न इच्छाएको व्यक्तिको निधन भएको २४ घण्टाभित्र अाँखाबाट नानी निकालिन्छ । जसलाई नानी आवश्यक पर्ने अाँखाको रोगीमा सजिलै प्रत्यारोपित गर्न सकिन्छ । नानी निकाल्दा शवलाई कुनै हानी हँुदैन। बरु मृत्युउपरान्त पुण्यको भागी होइन्छ र कसैलाई ज्योति प्राप्त हुन्छ । नेत्रदान उत्तम दान हो । नेत्रदान गर्न इच्छाएको व्यक्तिले नेत्र बैंकमा आफ्नो नाम रजिस्टर गराउन सक्छ । उसको मृत्युपश्चात् नेत्र बैंकबाट चिकित्सक पुगेर नानी निकाली व्यक्तिमा प्रत्यारोपण गर्नसक्छ ।
शरीरदान चिकित्सा विज्ञानका विद्यार्थीहरुलाई शरीरको रचनाबारे ज्ञानको लागि शवको आवश्यकता पर्दछ । वर्तमान कानुन अनुसार तपाइँ मरणोपरान्त आफ्नो शरीर दान गर्न सक्नुहुन्छ । शरीर दानले चिकित्सा क्षेत्रमा अध्ययनरत बिद्यार्थीहरु तथा अन्य बिशेषज्ञहरुलाई समेत अनुसन्धान गरी नयाँ कुरा पत्ता लगाउन सहयोग पुग्दछ । शरीरदानले मानिसका बिषयमा धेरै अध्ययन गर्ने अवसर मिल्दछ । परम्पराअनुसार मानिसको मृत्युपश्चात डढाइने तथा गाडने चलन रहेको छ । अाँखा दान गर्दा अर्को जन्ममा आँखा नहुने र शरीर दान गर्दा संंस्कार गर्न नपाइने जस्तो गलत वुझाइ हाम्रो समाजमा रहेको छ । हाम्रो देशमा मरणोपरान्त आफ्नो शरीरका अंंग आँखा दान गर्नेहरुको संंख्या क्रमशः बढ्दै गएको छ । यो खुशीको कुरा हो । त्यस्तै केही समय यता किडनी लगायतका अंंग दान गर्नेहरु पनि बढ्दैछन् । तर सिंगो शरीर दान गर्नेहरु ज्यादै थोरै छन् ।
मरणोपरान्त अंंग दान दिने प्रक्रियाले समाज, व्यक्तिसहित देशलाई फाइदा पुग्छ। एउटा व्यक्तिले जीवन गुमाए पनि अन्य ८ जनासम्मले नयाँ जीवन पाउन सक्छन्। फोक्सो, मृगौला, मुटु, कलेजो, प्याङक्रियाज र सानो आन्द्रा प्रत्यारोपण हुन सक्छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट निकालेको मृगौला २४ घन्टाभित्र प्रत्यारोपण गरिसक्नुपर्छ। मृगौला दान दिन चाहनेले मरेपछि मेरो मृगौला दान गर्छु भनेर मृत्युअघि नै मञ्जुरीनामा दिएको हुनुपर्छ । सरकारले यसका लागि भक्तपुरको मानव अंंग प्रत्यारोपण केन्द्र र मृगौला प्रत्यारोपण युनिट वीर अस्पताललाई जिम्मेवारी दिएको छ । आरोग्य प्रतिष्ठान पुल्चोकले यस कार्यमा योगदान पु¥याइ रहेको छ ।
अंंग दानको प्रचारप्रसारको कमिले तल्लो तहसम्मका सर्वसाधारणले थाहा पाउन नसकेको चिकित्सक बताउँछन् । मस्तिष्क मृत्युपछि मृगौला दान गरेर प्रत्यारोपणका लागि आवश्यक भौतिक पूर्वाधारको पनि नेपालमै व्यवस्था छ । खेर गइरहेको अंंग दान गर्दा धेरैले नयाँ जीवन पाउन सक्छन्। मानिसका धेरै रोगहरु मध्ये मुटुको रोग सबैभन्दा गम्भीर मानिन्छ । तर अब मृत व्यक्तिको मुटु जीवित व्यक्तिलाई दान दिन सकिने भएको छ । शरीर दानका बारेमा जान्नुपर्ने धेरै कुराहरु छन् । जुन कुराको ज्ञानले मृत्युपछि खेर जाने शरीरका अंंगहरुले अरुलाई बचाउन सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker