तनहुँसुरको विकासका लागि स्थानीय नै जागरुक हुनुपर्छ : नगरप्रमुख न्यौपाने
पुरातात्विक सम्पदाको महत्व सम्बन्धी अभिमुखिकरण

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँसुरको पुरातात्विक सम्पदाका विषयमा उर्जा तथा वातावरण नेपालको आयोजना, व्यास नगरपालिकाको संयोजन र पुरातत्व विभागको सहयोगमा पुरातात्विक सम्पदाको महत्व सम्बन्धी अभिमुखिकरण कार्यक्रममा गरिएको छ । तनहुँसुर दरबार क्षेत्रको प्राचीनता, दरबार क्षेत्रमा भएका विभिन्न भग्नावशेष, दरवारको जगको अवस्था, दरवार निर्माणमा प्रयोग भएका निर्माण सामग्रीहरु जोडाइ सामग्री तथा दरवार बन्नु पूर्व यस ठाउँमा मानव गतिविधि र सांस्कृतिक विकासको बारेमा जानकारी लिने उद्देश्यले अहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागले अध्ययन गरिरहेको छ ।
उक्त अध्ययन क्रममा विभागले क्वारडेन्ट २ मा गरेको उत्खनन्बाट दुइ लिएरकोर् इट्टा बिछ्याएको आँगन र पानीको निकासको लागि बनाइएको सानो कुलेसो प्राप्त भएको पुरातत्व अधिकृत मन्जुसिंह भण्डारी थापाले बताएकी छन् ।
कार्यक्रममा सहजिकरण गर्दै उनले विभागले गरेको अध्ययनबाट दरबारको भवनमा कुनै संरचना यो ठाउँको दक्षिण भाग बाहेक अन्य क्षेत्रमा रहेको हुनसक्ने अनुमान गर्न सकिने देखिएकोे छ । यसैगरी रानीको नुहाउने स्थल, इनार र गढीमा गरिएको उत्खनन्बाट ती क्षेत्रको संरक्षणको लागि योजना बनाउन महत्वपूर्ण योगदान पुग्न सक्ने देखिएको उनले जानकारी गराइन् ।
यस्तै, उत्खनन्को क्रममा प्राप्त भएका इट्टा, झिंगटी, माटोको वेस्सेल, कलश, पाला, दुइवटा सिलौटा, आधा टुटेको चुरा, त्रिभुवनको पालाको ५ पैसा प्राप्त भएको हुँदा यसलाई उपलब्धीका रुपमा लिन सकिने बताइएको छ ।
पुरातत्व विभागले तनहुँसुर दरबार क्षेत्रको अध्ययन अनुसन्धान गरिरहेको हुँदा यहाँ स्थानीय तह वा स्थानीय बासिन्दाले कुनै पूर्वाधार निर्माण गर्दा विभागसंग अनुमति लिएर तथा निशांकन गरेर मात्र गर्नुपर्ने र यस क्षेत्रका संरक्षणमा स्थानीय बासिन्दाको नै दायित्व हुने पुरातत्व अधिकृत थापाले बताएकी छन् ।
त्यस्तै, अभिमुखिकरण कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुर क्षेत्रको विकासका लागि स्थानीय बासिन्दानै जागरुक हुनुपर्ने बताएका छन् । ‘तनहुँसुरको विकासका लागि अब दमौली झरेकाहरु गाउँ फर्किने बेला आएको छ’, नगरप्रमुख न्यौपानेले भने, ‘तनहुँसुरको ऐतिहासिक पक्षलाई ध्यानमा राखेर विकास अभियान सञ्चालन अगाडि बढेकाले त्यहाँबाट बसाइ सरेर दमौली झरेकाहरु गाउँ फर्किएर विकास अभियानमा सहभागि हुन पर्ने समय आएको छ ।’
‘तनहुँसुरको विकास लागि एकदमै लगनशील भएर लागेका छौं, तनहुँसुर पुग्ने बाटो कालोपत्रेका लागि काम शुरु भएको छ’, उनले भने, ‘तनहुँसुरको विकासका लागि स्थानीय बासिन्दाको महत्वपूर्ण भूमिका हुने हुँदा अब यस तर्फस्वयं स्थानीय बासिन्दाले पनि सोच्नुपर्ने बेला आएको छ ।’
कार्यक्रममा संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौली, व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल लगायतले खण्डहर बनेको तनहुँसुर विस्तारै पहिलाकै अवस्थामा फर्किन लागेकाले यहाँको विकासका लागि स्थानीयबासिन्दा नै अग्रसर हुनुपर्नेमा जोड दिएका थिए । तनहुँसुर दमौली सम्पर्क समाजका अध्यक्ष वृषराज श्रेष्ठले तनहुँसुरको विकासका लागि दमौली झरेका बासिन्दा जुट्न लागेको बताउँदै भग्नावशेष भएका घरहरु पुनःनिर्माणको अभियान शुरु गरिने बताएका छन् ।
उक्त कार्यक्रममा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले कृषि र वातावरणसंग जोडेर तनहुँसरको पर्यटन प्रवर्द्धन गर्न लागिएको जानकारी गराएका थिए । तनहुँसुरमा नगरपालिकाको समन्वयमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम, एग्रो टुरिज्म गतिविधि, पुरातात्विक सम्पदा संरक्षण एवं विकास सम्वन्धी जनचेतना अभिवृद्धि, प्रवर्द्धनात्मक कार्यक्रमहरु सञ्चालन भइरहेको अध्यक्ष गुरुङले जानकारी गराएका छन् ।
त्यस्तै, तनहुँसुरुमा ३ वटा सामुदायिक होमस्टे समेत दर्ता भई सञ्चालनको आवश्यक तयारी भइरेको छ । तनहुँमा २०७८ साल भित्र सिलिङे फूलको रुखदेखि धार्नी चौतारीसम्म सिढीबाटो र वृक्ष रोपण, खानेपानीका लागि एक समरसिवल पम्प सहित सोलर प्यानल मर्मतसंभार, तनहुँसुर संक्षिप्त परिचय सहित ब्रोसर निर्माण, होमस्टेका अलावा कृषि र पशुपंक्षी समुह निर्माण तथा तालिम कार्यक्रमहरु सञ्चालन, होमस्टेको मापदण्ड अनुसार प्रत्येक होमस्टे घरहरुमा पाहुना कोठा निर्माण तथा व्यवस्थापन, नियमित सरसफाई लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ ।
नगरपालिकाको कृषि शाखाको समन्वय र सहकार्यमा तनहुँसुरमा कृषि तथा पशुपंक्षी तालिम सञ्चालन, चमेरे गुफा-मुलपानी-भगवतीपानी मन्दिर हुँदै देवस्थल सामुदायिक होमस्टेको भवनसम्म ‘तनहुँसुर इको ट्रेक सञ्चालनका लागि व्यास नगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल पर्यटन बोर्डको संयोजनत र समन्वयमा नक्शांकन सहित डिपिआर निर्माण कार्य गर्न लागिएको छ ।
तनहुँसुर क्षेत्रको विकासका लागि अहिले सडक कालोपत्रे, तनहुँ कालिका मन्दिर निर्माण, खानेपानी तथा सरसफाई, पुरातात्विक सम्पदा संरक्षण एवं विकास, होर्डिङ्वोर्ड स्थापना, सामुदायिक भवन तथा होमस्टे पूर्वाधार निर्माण, सामुदायिक इण्टरनेट, सडकवत्ती जडान, शिक्षा, स्वास्थ्य, वन तथा कृषि आदि सम्वन्धी कार्यक्रमहरु सञ्चालन भइरहेको सम्पदा नेपालका अध्यक्ष गुरुङले बताएका छन् । यस्तै, तनहुँसुरलाई प्रवर्द्धन गर्ने उद्देश्यले २०७८ वैशाख ५ देखि ७ गतेसम्म पर्यटन तथा वातावरण मेला सञ्चालन गर्ने तयारी गरिएको छ । यस अवसरमा तनहुँसुरको पुरातात्विक सम्पदा संरक्षण विषयमा मावि र कलेज तहका विद्यार्थीहरु बीच वत्त[mत्वकला प्रतियोगिता, खाना महोत्सव, होमस्टे मार्ट, सांस्कृतिक कार्यक्रम, वन, कृषि, पर्यटन र पुरातात्विक सम्पदा आदिको प्रदर्शनी, शैक्षिक तथा विशेष भ्रमण प्याकेज कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।










