बन्यो दमौली, बन्छ नेपाल–कहिले ?
देव बस्न्यात

२०७१ साउन २५ गते माउण्ट आँबु भ्रमण गर्ने सुअबसर मिलेको थियो । भ्रमणको आयोजना ब्रह्म कुमारी इश्वरीय विश्व विद्यालय दमौली शाखाले मिलाएको थियो। पाँच दिनको शैक्षिक शिविर सम्पन्न गरी माउण्ट आँबु भ्रमण गराउने त्यहाँको नियमित प्रक्रिया नै रहेछ । २०७१ श्रावण ३१ गते जाने भनेको आँबु भ्रमण प्राविधिक कारणबस भाद्र १ गते मात्र साइत जुर्न पुगेको थियो । भ्रमण दलको नेतृत्व भने ब्रह्मकुमारी रुक्मिणी बहिनीले गर्नु भएको थियो । बिहानी पख सिमसिम पानी परीरहेको थियो । आँबु भ्यालीको मैदानै मैदान गाडी धिमा रफ्तारमा गुड्दै थियो। एकै छिनपछि आँबु पर्बतको काख काखै गाडी गुड्न थाल्यो । हाम्रो दायाँ तर्फ मैदानी भूभाग र बायाँतर्फ हरिया डाँडाकाँडा रहेछन । आँखाले भ्याएसम्म जताततै हरियाली नै हरियाली । हरियाली बन भित्रै भीमकाय ढुङ्गाहरु । जता हे¥यो उतै ठूलाठूला ढुङ्गाहरुको पर्वत । मानव बस्तिकै घर जस्ता देखिने ढुङ्गाहरु । त्यो देख्दा कास्कीको भलाम गाउँमा फेरी लगाउन गएका नाथ सम्प्रदायका कानचिरा जोगीको जनजिभ्रोमा रहेको कथाको सम्झना आयो ।
कथा यस्तो थियो ः कुनै एक समयमा एकजना कानचिरा जोगी गाउँमा पसेर फेरी लाउने बिचार गरेछन रे ! अँधेरी रात थियो । रातभर १००÷१५० घर सम्झेर विशाल ढुङ्गाहरुको मझेरीमा फेरी लगाएछन। भोली बिहान सिधा उठाउन जाँदा त बिशालकाय ढुङ्गैढुङ्गाहरुको पर्वत रहेछ त्यो ठाउँ । नाथ सम्प्रदायका कान चिरा जोगी हिस्स परेछन । रातभरको निन्द्रा पनि गयो सिधा पनि हरायो । हिस्स बूढी खिस्स दाँत भयो जोगीलाई । आफुसंग भएको पहेंलो च्यादर ओच्छाएर तीन चित खाँदै पल्टियो जोगी दाई । म गर्छु आग्राको कुरा सम्दि गर्छन गाग्राको कुरा भने जस्तो भयो । सुन्दर एवं रमणीय सहर माउण्ट आँबु हेर्न गएको टोली बाँदरे भीर त पुग्ने होइन भन्ने मनमा चिसो पस्यो । माउण्ट आँबुको रमणीयता हेर्न जान कस्सिएको ॐ शान्तिको भ्रमण दल पनि हिस्स पर्ने त होइन भन्ने डर लागिरह्यो ।
तर बिस्तारै मनको डर मेटिने छाँट आयो । घाम पानी घाम पानी बीचमा आँबु पुगिने भयो । “घामपानी घामपानी स्यालको बिहे” भन्ने हाम्रो उखान छ । आज स्यालको बिहे रहेछ । हामी पनि स्यालको बिहेमा जन्ति बन्न पाएकोमा सबैजना हर्षित थियौं। आँबुको वन व्यवस्थित रुपमा संरक्षण गरिएको रहेछ । उक्त वन प्रवेशको लागि अनुमती पत्रको आवश्यक पर्ने रहेछ । बन जंगलका जीवजन्तु मार्नेलाई जरिवानाको व्यवस्था पनि रहेछ । ऐन नियमको पालना गराउनमा राजस्थान सरकार र त्यस क्षेत्रको आत्मिक तथा भौतिक विकासमा लगनशील ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालय लगायत सबै जनताहरु सचेत रहेछन भन्ने सन्देश दिएको महसुस गरियो ।
नौविसेदेखि नागढुङ्गा हुँदै काठमाण्डौ जाने त्रिभुवन राजपथ जस्तै तरपायाँ तरपायाँ सडक र सडकका घुम्तिहरु पार गर्दै माउण्टआँबु नगरपालिका प्रवेश गरियो । ब्रह्मकुमारी रुक्मिणी बहिनीले इश्वरी विश्व विद्यालयका हरेक सेक्टरहरुमा भ्रमण गराइ नयाँ जानकारी दिइन् । समयको अभाव थियो । त्यही दिन हामी ट्रेनबाट दमौली फर्कने दिन भएकाले माउण्ट आँबुमा रात बिताउने समय भने हामीसंग थिएन । तथापि छोटो भ्रमणमा पनि त्यहाँ प्रदान गरेका भौतिक विकास एवं आत्मिक ज्ञानका प्रवाहले अविस्मरणीय क्षण बन्न पुगेको थियो। भारत स्वतन्त्रताको आन्दोलन संगसंगै विशाल भारत, पाकिस्तान र भारत दुई राष्ट्रमा विभाजित हुन पुगेको थियो । वास्तबमा ब्रह्मकुमारी इश्वरीय विश्व विद्यालयले पाकिस्तानको हैदरावादको बसाइलाई विसर्जन गर्दै आँबुलाई रोजेर विश्वकै ज्ञानको प्रमुख केन्द्रस्थल बनाए पछि यस स्थानको मुहारमा मुस्कान छरिदिएको अनुभूति मिलेको थियो ।
आँबु नगरपालिकामा राजस्थान लगायत भारतका विभिन्न प्रदेश र देश विदेशका पर्यटकहरु पुग्दा रहेछन । शनिवार र आइतबार आउनै नहुने । माउण्ट आँबु भ्रमणमा बैंसालुहरु लर्कनका लर्कन जाने गर्दा रहेछन । यसैले त आँबुमा पाइला राख्न पाउने ठाउँ पाउन पनि गाह्रो पर्दो रहेछ । हाइकिङ्ग गर्ने भन्दा पनि जोडी मिलेर मोटर बाइकमा हुँइकिनेहरुको चाप बढी हुँदो रहेछ । विशेषत गुजरात र राजस्थानका युवाहरुको भिड लाग्दो रहेछ। परिवार सहित प्राइभेट कार जीपमा आउनेहरुको संख्या पनि कमि थिएन । सार्वजनिक सवारी साधन बसहरुमा आउनेहरुको संख्या पनि उल्लेखनीय थियो । सडकको स्थिति वन वे जस्तो लामा तथा ठूला सवारीहरु निर्बाध रुपमा दोहोरो गुड्न नसक्ने । त्यसैले त ठाँउठाउँमा ट्राफिक जाम भएर यात्रामा अवरोध नआएको पनि होइन ।
आदिवासीहरुको बसोबास रहेको आँबुले मिठो मसिनो र राम्रो नाना प्राप्त गरेको अनुभूति भयो। आँबु पर्वतको शिखरमा रहेको नक्कीझिल (ताल)ले पर्यटकहरुलाई दिन प्रतिदिन आकर्षित गर्दो रहेछ । तालमा पौडिरहेका नर परीहरुको जलक्रिडाले आँखाहरुलाई त्यतै मात्र केन्द्रित गराई रहेको थियो । आँखाले बिश्राम लिन मानी रहेको थिएन । अर्को तर्फ भ्रमण दलका सदस्य योगीता श्रेष्ठ, कृष्णा पण्डित र रुद्र बहादुर कुँवरहरु आदिवासी भेषमा सजिएर घोड सबार भइ हिंडेका र स्थानीय संगितको नाचमा दिल खोलेर रमेको दृष्य झन अविस्मरणीय रहेको थियो । शान्ति बन फर्कने बेला भइसकेको थियो । साथीहरु बसमा आउने क्रम जारी थियो । केही साथीहरु आउन ढिला गरिरहेका थिए । साथी आउने समयाबधिलाई मध्यनजर गरेर बस भित्रै यात्रा स्मरणका विषयमा अनुभव अनुभूति व्यक्त गर्ने कुरा उठ्यो । व्यास–१ तालघरेका रेशम बहादुर श्रेष्ठले सर्वप्रथम मलाई अनुभव अनुभूति व्यक्त गर्न निम्ताउनु भयो । सबै साथीहरुले कर गरे ।
“बनगया राजस्थान बनेगे हिन्दुस्थान”को कोटेसन ब्रह्मकुमारी इश्वरीय विश्व बिद्यालयले आयोजना गरेको माउण्ट आँबु अवलोकन भ्रमण गर्दा सडकको छेउमा देखेको महावाणी हो । कुनै बेलाको व्यास क्षेत्र विकास कोषको सदस्य यो बस्न्यातलाई त्यो महावाणीले चसक्क बिझायो । त्यसैलाई आधार मानेर प्रबचन गर्ने निधो गरे । प्रबचन सुरु भयो । आँबुभन्दा के कुरामा कम छ र दमौली । त्यहाँ आँबु पर्वत छ भने यहाँ महाभारत पर्वत श्रृंखलाका मानहुँ खुदी, गुंदी गल्बु र सांखर जस्ता थुप्रै मनोरम पर्वतहरु पाईन्छन। त्यसमाथि दमौलीमा चाँदी झैं टल्कने अन्नपूर्ण हिमालको अदभूत दृष्यहरु पनि देख्न पाइन्छ । त्यहाँ विशालकाय पर्वत स्वरुप ढूङ्गाले बनाएका गुफाहरु छन भने यहाँ व्यास गुफा, पराशर गुफा, शिद्धगुफा, चमेरे गुफा, पाण्डव गुफाहरु प्रशस्त छन् । अमृतको गंगा सेती र मादी जस्ता पवित्र गण्डकी नदीहरु यही भूमि भएर बगेका छन । त्यहांँ ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयको अन्तर्राष्ट्रिय ज्ञान केन्द्र छ भने विश्वका सम्पूर्ण मानव जातिलाई ज्ञान आर्जन गर्नै पर्छ र ज्ञान नै इश्वरीय मार्ग हो भनेर पथप्रदशित गर्ने विश्वकै आदि सनातन धर्मका प्रथम गुरु तथा पूर्वीय साहित्य दर्शनका महाकवि वेदव्यासको जन्मथलो दमौली छ ।
श्रीकृष्ण द्वैपायन वेदव्यास ज्ञानको असीम र अनन्त सागर हुनुहुन्छ । लुप्त हुन लागेको वैदिक ज्ञान सागरलाई श्रुती, स्मरण र तपोवलका शक्तिले वेदलाई ऋगवेद, यजुर्वेद, सामवेद र अथर्ववेदमा विभाजन गरी लिपीवद्ध गर्ने वेदव्यासको जन्मस्थल अहिले उपहास बनेको छ। चार वेद, अठारपुराण तथा अठार उपपुराण महाभारत, विभिन्न स्मृति ग्रन्थ र श्रीमद्भागवत गीता लगायत थुपै्र ग्रन्थहरुको रचना भएको स्थल ज्ञानकुञ्जको रुपले परिचित हुनुको सट्टा अधोगति उन्मुख भइ राखेको छ ।
आँबुमा नक्की झिल (ताल) छ । यहाँ मादी नदी झोलुङ्गेपुल नेर बाँध बाँधेर कृत्रिम माहेन्द्री तथा सुमती (मादी नदीको अर्को नाम) ताल बनाउन सकिन्छ । दमौलीवासीहरुमा महर्षि वेदव्यासजीको १०८ फिट अग्लो मूर्ति बनाउने संकल्प छ । तर मूर्ति बनाउन जिम्मेवारी लिएको व्यास क्षेत्र विकास कोष कुम्भकर्णीय निन्द्रमा डुबुल्की मारेको छ । व्यासका नाममा थुप्रै संस्थाहरु खुलीरहेका छन् । काम चार पैसाको हुन सकेको छैन । सुषुप्त अवस्थामा रहेको व्यास क्षेत्र विकास कोषलाई जागृत अवस्थामा ल्याउनु परेको छ । त्यहाँ ट्रेन तथा अन्य सवारी साधानहरुबाट आउजाउको पूर्ण व्यवस्था छ । तर यहाँ ट्रेन सुविधा नभएता पनि अन्य सुविधाहरु विद्यामान छन । प्राकृतिक हिसाबले मरुभूमि भएपनि आर्थिक हिसावले लक्ष्मी माताको दरवार हो राजस्थान । दमौलीको सिरानमा अन्नपूर्ण माता विराजमान हुँदाहुँदै पनि आर्थिक हिसावले दमौली मरुभूमि तथा कङ्गालहरुको खण्डहर शहर बन्न पुगेको तितो सत्य हो भन्दा अतियुक्ति नहोला ।
प्राकृतिक, पौराणिक, ऐतिहाँसिक तथा धार्मिक पर्यटनको गन्तव्य स्थल बन्न सक्ने दमौलीलाई सबैले खिसी टिउरी गरेका छन । दमौलीका केही टाठाबाठा भनाउँदा पुँजिपतिहरु र हनुमानी राजनैतिक कर्मीहरुबाट पीडित छ दमौली । आफु पनि नगर्ने र अरुलाई काम गर्न नदिनेहरुको हालीमुहाली बढ्दो छ । यसैले त दमौली दिन प्रतिदिन साङ्ग हुँदाहुँदै अपाङ्ग बनेको अनुभूत भएको छ । तबत कुरोको चुरो फेला परेको छ । “बन्यो दमौली, बन्छ नेपाल” भन्न पाउने कहिले ? चिन्ताको विषय बनेको छ । यही स्थितिलाई चिर्न सक्ने हिम्मतवालाहरुको पर्खाईमा दमौलीले कहिलेसम्म प्रतिक्षा गर्ने प्रतिक्षाकै सूचि बनेको छ ।