तनहुँमा ५७ उम्मेदवार कायम, दुइ लाख ४८ हजार मतदाता

भञ्ज्याङ समाचारदाता/तनहुँ

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तनहुँमा ५७ उम्मेदवार कायम भएका छन्। दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्य निर्वाचनका लागि ६२ जनाले उम्मेदवारी दर्ता गराएकामा पाँच जनाले फिर्ता लिएपछि ५७ उम्मेदवार कायम भएका हुन् ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि १५, प्रदेशसभा १ का लागि ११ र प्रदेशसभा २ का लागि सात जनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । तनहुँ-२ को प्रतिनिधिसभा सदस्यका लागि १०, प्रदेशसभा १ का लागि आठ र प्रदेशसभा २ का लागि छ जनाको उम्मेदवारी कायम छ ।

तनहँु क्षेत्र नं १ तर्फ दुइ र तनहुँ क्षेत्र नं २ तर्फ तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन् । तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनुभएका स्वतन्त्र उम्मेदवार विश्व बाँस्तोला र प्रदेशसभा १ तर्फ उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार नगेन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए ।

तनहुँ क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा २ का जनता समाजवादीका उम्मेदवार पूर्णबहादुर गुरुङ, प्रदेशसभा १ का नेपाली कांग्रेस -बीपी)का उम्मेदवार डा शेषरमण न्यौपाने र स्वतन्त्र उम्मेदवार प्रेम परियारले उम्मेदवारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयले सबै उम्मेदवारलाई निर्वाचन चिहृन प्रदान गरिसकेको छ ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले)बाट एकबहादुर राना, नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल, जनता समाजवादी पार्टीबाट पासाङ थापामगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनोदकुमार घर्ती, नेपाल मजदुर किसान पार्टीबाट रामकृष्ण त्वायना, हाम्रो नेपाली पार्टीबाट प्रवीण पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट कृष्णप्रसाद पौडेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेश्नलिष्ट पिपल्स पार्टीबाट ताजमहमद मियाँ, राष्ट्रिय जनमुक्ति पार्टीबाट हस्तबहादुर किचिम थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विकास सिग्देल चुनावी मैदानमा हुनुहुन्छ।

स्वतन्त्रतर्फ गोविन्दराज जोशी, रामचन्द्र कार्की, बेलबहादुर दरै र पृथ्वीनारायण श्रेष्ठ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । तनहुँ क्षेत्र नं २ तर्फ नेकपा (एमाले)बाट किरण गुरुङ, नेपाली कांग्रेसबाट शङ्कर भण्डारी, राप्रपाबाट नरेन्द्रप्रताप महत, नेपाल मजदुर किसान पार्टीबाट रामहरि गोरा, हाम्रो नेपाली पार्टीबाट विष्णु पराजुली, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रविना थापामगर, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की गोतामे, नेपाली कांग्रेस (बिपी)बाट पुष्पराज पराजुली, जनसमाजवादी पार्टी नेपालबाट खड्कबहादुर विक र राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी चुनावी मैदानमा हुनुहुन्छ ।

तनहुँ क्षेत्र नं १ प्रदेशसभा १ तर्फ एमालेबाट रामबहादुर गुरुङ, कांग्रेसबाट अशोककुमार श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट अर्जुन गुरुङ, मौलिक जरोकिलो पार्टीबाट चिजकुमार श्रेष्ठ भन्ने बाबुराम आले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट विजयकुमार शाही, मङ्गोल नेशनल अर्गनाइजेशनबाट भीमबहादुर लामा, नेकपा (एकीकृत समाजवादी)बाट विद्यानाथ ढकाल, राप्रपाबाट विवेक न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टीबाट भुवनसिं थापा, स्वतन्त्रबाट हरिराज जोशी र रामबहादुर थापा चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

तनहुँ क्षेत्र नं १ प्रदेशसभा २ तर्फ एमालेबाट पूर्णबहादुर गुरुङ, नेकपा (माओवादी केन्द्र)बाट हरिबहादुर चुमान, जनता समाजवादी पार्टी नेपालबाट किसन भुजेल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट रनबहादुर खवास, नेकपा (एकीकृत समाजवादी)बाट कलिला खातुन, राप्रपाबाट राजु गोतामे र राष्ट्रिय जनमुक्ति पार्टीबाट खेमबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

तनहुँ क्षेत्र नं २ प्रदेशसभा १ तर्फ एमालेबाट श्यामराजा महत, माओवादी केन्द्रबाट राजेन्द्रकेशरी न्यौपाने, मौलिक जरोकिलो पार्टीबाट टोलराज वाग्ले, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुमन थापामगर, एकीकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ, राप्रपाबाट रेशमराज अधिकारी, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, जनसमाजवादी पार्टी नेपालबाट रामबहादुर विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन् ।

तनहुँ क्षेत्र नं २ प्रदेशसभा २ तर्फ एमालेबाट केदार सिग्देल, कांग्रेसबाट जितप्रकाश आलेमगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट नमबहादुर राना, एकीकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठ, राप्रपाबाट श्यामकुमारी राइ, राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ चुनावी प्रतिस्पर्धामा छन् ।

दुइ लाख ४८ हजार मतदाता

आसन्न निर्वाचनमा तनहुँबाट दुइ लाख ४८ हजार ४९५ मतदाता सहभागी हुँदैछन् । गत जेठ महिनादेखि यता चार हजार १५५ नयाँ मतदाता थपिएपछि उक्त संख्या पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हर्रि्रसाद ढकालले बताए । विसं २०७९ को वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा दुइ लाख ४४ हजार ३४० मतदाताले मतदान गरेका थिए ।

अस्थायी मतदान केन्द्र

यस्तै, आगामी मंसिर ४ गते हुन गइरहेको संघीय तथा प्रदेशको निर्वाचनमा मतदान केन्द्र, मतदानस्थलको साथै अस्थायी मतदान केन्द्र रहने छ । सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, कैदीबन्दी र आश्रममा रहेका ज्येष्ठ नागरिकका लागि लक्षित गरी अस्थायी मतदान केन्द्र स्थापना गर्न लागेको हो ।

सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीले संघीय संसद्को समानुपातिक उम्मेदवारलाई मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख ढकालले बताए । अन्यको हकमा भने संघीय र प्रदेश दुवै उम्मेदवारलाई मतदान गर्न पाउने छन् ।

उनले भने, ‘अस्थायी मतदान केन्द्र निर्धारण गर्न बाँकी रहे पनि यस जिल्लाको हकमा बढीमा तीनदेखि चार वटासम्म हुन सक्छ ।’ उक्त निर्वाचनमा यस जिल्लाबाट पुरुष एक लाख १९ हजार ६५० र महिलातर्फ एक लाख २८ हजार ८४५ जनाले मतदान गर्दै छन् ।

आवश्यकताको आधारमा निर्वाचन आयोगलाई अस्थायी मतदान केन्द्रको लागि सिफारिस गरी पठाइनेछ । उनले भने, ‘मतदान गर्नबाट कोही पनि नछुटून भनी आयोगले यस किसिमको कार्य व्यवस्था गरेको छ ।’

जिल्लाका ८५ वडामा गरी १४२ मतदानस्थल र ३०५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । तनहुँका दुइ निर्वाचन क्षेत्रमा छ पदका लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट गरी ५७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker