तनहुँको शिक्षा क्षेत्र : वर्तमान अवस्था र भविष्यका चुनौतीहरू

नारायण खड्का

तनहुँ : प्राचीन कालमा गुरुकुल प्रणाली मार्फत शिक्षा दिइन्थ्यो । यो प्रणाली विशेषगरी धार्मिक र दार्शनिक शिक्षामा केन्द्रित थिए। मध्यकालमा शिक्षा धार्मिक संस्थाहरू (जस्तै मठ, मन्दिर) र राजदरबारसँग सम्बन्धित थिए । राजा र उच्च वर्गका मानिसहरू शिक्षा प्राप्त गर्थे, तर साधारण जनताको लागि शिक्षा पहुँचयोग्य थिएन । मठ र मन्दिरहरूमा शिक्षाका कक्षाहरू सञ्चालन हुन्थे, तर तिनमा विशेष गरी धार्मिक शिक्षा दिइने गरिन्थ्यो ।
उन्नाइसौं शताब्दीतिरबाट नेपालमा शिक्षा क्षेत्रमा सुधारको शुरुवात भएका पाइन्छ । राजा रणजीत मल्लको समयमा, राणा शासनको अवधिमा (१८४६–१९५१) विदेशी शिक्षा, विशेष गरी ब्रिटिश शिक्षा नेपालमा आएको थियो। १९५० को दशकमा केही विदेशी संस्थाहरू र मिशनरीहरूले शिक्षा प्रणालीमा योगदान पु¥याएको पाइन्छ।
यस्तै, बिसौं शताब्दीताका शिक्षा सम्बन्धी कानूनी र संरचनागत सुधारहरू गरिएको देखिन्छ । लोकतान्त्रिक शासनको प्रारम्भसँगै शिक्षा क्षेत्रमा सुधारको प्रयास तीव्र हुँदै गए। सन् १९५१ मा, “शिक्षा आयोग”को गठन गरिएसंगै सरकारी विद्यालयहरू खोलिए। १९५९ मा, नेपाल सरकारको प्राथमिक शिक्षा नीति र कार्यक्रमलाई अघि बढाउने काम सुरु भएको पाइन्छ ।
शिक्षा क्षेत्रले विभिन्न चरणहरु पार गर्दै यतिबेला प्रविधिको युगमा प्रवेश गरेको छ । अहिलेको २१औं शताब्दीमा प्रविधिले आफ्नो साम्राज्य फैलाउँदै गएको छ । प्रविधिको विकास र पहुँचसंगै शिक्षा क्षेत्रपनि प्रविधियुक्त बन्दै/बनाउँदै लग्ने प्रयास भइरहेका छन् । अहिले, नेपालमा शिक्षामा पहुँचको स्तर उच्च भएको छ, तर अझै पनि धेरै चुनौतीहरू बाँकी नै छन् । नागरिककमा विद्यालयको सहज पहुँच पुगेपनि शहरी र ग्रामीण विद्यालयहरूको शैक्षिक गुणस्तरमा ठूलो भिन्नता देखिदै आएको छ । ग्रामीण क्षेत्रका विद्यालयमा आधारभूत संरचना (पानी, स्वच्छता, भवन, इत्यादि)को अभाव छ भने शहरका विद्यालयहरूमा अपेक्षाकृत राम्रो अवस्था देखिन्छ ।
यस्तै, नेपालमा २०औं शताब्दीको मध्यदेखि विभिन्न शिक्षा नीति र योजना ल्याइएका थिए । २००९ मा “नेपाल राष्ट्रिय शिक्षा नीति” लागू गरिएको थियो, जसले शिक्षा प्रणालीमा सुधारका लागि दिशानिर्देशहरू प्रस्तुत ग¥यो । सरकारले सन् २०२५ सम्मको लागि “शिक्षा विकास रणनीति” तयार पारेको छ, जसको उद्देश्य गुणस्तरीय शिक्षा, समान अवसर र सबैलाई शिक्षा प्रदान गर्ने हो ।
शिक्षा क्षेत्रको विकासका लागि गुणस्तरीय, सीपयुक्त, प्राविधिक शिक्षाका साथै जीवनउपयोगि शिक्षा प्रदान गर्नका लागि शिक्षकहरूको गुणस्तरमा सुधार ल्याउन विभिन्न कार्यक्रमहरू पनि सञ्चालन भएका छन् । शिक्षक प्रशिक्षणका कार्यक्रमहरू र कक्षा–कक्षाका लागि आधुनिक विधिहरूमा ध्यान दिइँदै गइएको छ । तर अझै पनि ग्रामीण क्षेत्रका विद्यालयहरूमा शिक्षकहरूको कमी, विषयगत शिक्षकको पदपूर्ती नहुनु र प्रशिक्षकको गुणस्तरमा समस्या देखिने गरेका छन् ।
नेपालमा अहिले डिजिटल शिक्षा र प्रविधिको उपयोग बढ्दै गएको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण मुलुक बन्दाबन्दीको अवस्थामा पुगेका समय अनलाइन शिक्षा महत्वपूर्ण बन्यो । सरकारी र निजी संस्थाहरूले टेलिभिजन, रेडियो र अनलाइन प्लेटफर्महरू मार्फत शिक्षाको पहुँच विस्तार गर्न थालेपछि अहिले विद्यालय शिक्षा पनि प्रविधिमैत्री उन्मुख हुँदै गएका छन् ।
यस्तै, नेपालमा उच्च शिक्षा संस्थाहरूको संख्या बढ्दो छ, विशेष गरी काठमाडौँ र अन्य प्रमुख शहरहरूमा विश्वविद्यालय र क्याम्पसहरू खोलिएका छन् । तर, उच्च शिक्षा क्षेत्रमा गुणस्तरमा भिन्नता छ र अधिकांश विद्यार्थीहरू अझै पनि परम्परागत डिग्री प्राप्ति पद्धतिमा केन्द्रित छन् । जसका कारण शिक्षित बेरोजगारीको अवस्था पनि देखिएको छ भने नेपालका शिक्षित जनशक्ति अन्तर्राष्ट्रिय बजारमा सहजै बिक्न नसक्ने अवस्था छ । शिक्षा र रोजगार बीचको सम्बन्ध स्पष्ट नहुँदा बेरोजगारी र श्रम बजारको अनुकूलतामा समस्याहरु देखा परेका छन् । पछिल्ला केही वर्ष यता विद्यालय तह अर्थात १०+२ उत्तीर्णपश्चात अध्यनका लागि विदेशिने क्रम पनि बढ्दै गएको छ ।
नेपालको शैक्षिक अवस्था विगतदेखि अहिलेसम्मको यात्रा सुधार र चुनौतीका मिश्रण जस्तो छ । शैक्षिक क्षेत्र सुधारका लागि धेरै प्रयासहरू भएका छन् तर अझै पनि शिक्षा प्रणालीमा संरचनागत सुधार, शिक्षक प्रशिक्षण, समावेशिता र समान पहुँचका क्षेत्रमा चुनौतीहरू बाँकी छन् । सरकार र विभिन्न गैरसरकारी संस्थाहरूको निरन्तर प्रयास, शिक्षा नीति र सुधारका उपायहरूले नेपालको शिक्षा प्रणालीमा सुधार ल्याउन मद्दत पु¥याउने छ ।
मुलुक संघीय संरचनामा गएसंगै तनहुँमा कायम भएका १० वटा स्थानीय तहहरुले शिक्षा क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु अगाडि बढाउँदै लगेका छन्। तनहुँको पछिल्लो शैक्षिक अवस्थालाई हेर्ने हो भने जिल्लामा सामुदायिक र संस्थागत विद्यालयहरु सञ्चालनमा छन्। शिक्षा विकास तथा समन्वय इकाई तनहुँका अनुसार जिल्लामा ४१८ वटा सामुदायिक, १२४ संस्थागत विद्यालय र ५ वटा गुरुकुल छन् । जसमध्ये सामुदायिक विद्यालयमा ४६ हजार ८४७ जना र संस्थागतमा २२ हजार २६५ जना विद्यार्थी अध्यनरत छन् ।
शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार सामुदायिक विद्यालय तर्फ आँवुखैरेनी गाउँपालिकामा ३ हजार ६८५, बन्दीपुर गाउँपालिकामा २ हजार ६५१, भानु नगरपालिकामा ५ हजार २६०, भिमाद नगरपालिकामा ४ हजार ३५९, व्यास नगरपालिकामा ११ हजार ३८८, देवघाट गाउँपालिकामा २ हजार ८७७, घिरिङ गाउँपालिकामा २ हजार ७४५, म्याग्दे गाउँपालिकामा २ हजार ६४१, ऋषिङ गाउँपालिकामा ३ हजार ३७७ र शुक्लागण्डकी नगरपालिकामा ७ हजार ८६४ जना गरी ४६ हजार ८४७ जना छात्रछात्राहरु अध्ययनरत छन् ।
यस्तै, संस्थागत विद्यालय तर्फ आँवुखैरेनी गाउँपालिकामा २ हजार १७२, बन्दीपुर गाउँपालिकामा १ हजार ७१९, भानु नगरपालिकमा १ हजार ५३५, भिमाद नगरपालिकामा १ हजार ९२७, व्यास नगरपालिकामा ७ हजार ९०१, देवघाट गाउँपालिकामा ४८८, घिरिङ गाउँपालिकामा १५३, म्याग्दे गाउँपालिकामा ७८९, ऋषिङ गाउँपालिकमा ० र शुक्लागण्डकी नगरपालिकामा ५ हजार ४८१ जना गरी २२ हजार २६५ जना छात्राछात्र अध्ययनरत छन् ।

विद्यार्थीको संख्या घट्दै

तनहुँका विद्यालयहरुमा पछिल्ला वर्षहरुमा विद्यार्थीको संख्या घट्दै गएको छ । शिक्षा विकास तथा समन्वय इकाईको तथ्याङ्क अनुसार बिगत ४ वर्षको विद्यार्थीको तुलनात्मक तालिका अनुसार शैक्षिक सत्र २०७७ मा ४३ हजार ५१९ छात्रा र ४५ हजार ९६८ छात्र गरी ८९ हजार ४८७ विद्यार्थी रहेका थिए । शैक्षिक सत्र २०७८ मा छात्रा ४३ हजार ११० र छात्र ४६ हजार २५८ गरी ८९ हजार ३६८ जना विद्यार्थी रहेका थिए । शैक्षिक सत्र २०७९ मा ४१ हजार ६४४ छात्रा, ४५ हजार ४४९  र अन्य ३ गरी ८७ हजार ९६ जना विद्यार्थी रहेका थिए ।
यस्तै, शैक्षिक सत्र २०८० मा ३९ हजार ४३६ छात्रा, ४३ हजार ३०० छात्र र ५ अन्य गरी ८२ हजार ७४१ जना विद्यार्थीहरु विद्यालयमा उपस्थिति रहेका थिए । यो तथ्याङ्कका अनुसार तनहुँमा प्रत्येक वर्ष विद्यार्थीको संख्या घट्दै गएको देखिन्छ ।
बिगत पाँच वर्षको एसइई परीक्षामा सहभागि विद्यार्थीको तथ्याङ्कमा पनि क्रमिक रुपमा घट्दै गएको देखिन्छ । शैक्षिक वर्ष २०७६ को एसइई परीक्षामा ६ हजार १७४, २०७७ मा ६ हजार १९४, २०७८ मा ६ हजार ११, २०७९ मा ५ हजार ६४७, २०८० मा ५ हजार २५१ जना विद्यार्थी एसइई परीक्षामा सहभागि भएका थिए भने शैक्षिक वर्ष २०८१ मा एसइई परीक्षामा ६ हजार ३०२ जना विद्यार्थी रहेका थिए ।

“शैक्षिक सुधारका प्रयास भएका छन्, पढ–पढ भन्ने संस्कार बदल्नुपर्छ”

शिक्षा विकास तथा समन्वय इकाई तनहुँका प्रमुख उद्धवराज कट्टेलले तनहुँमा शैक्षिक गुणस्तर सुधार र वृद्धि गर्ने उद्देश्यले स्थानीय तहले केही महत्वपूर्ण कदम उठाएपनि यी प्रयासहरूले अहिलेको शैक्षिक परिवेशका वास्तविक आवश्यकता र चुनौतीहरूको सामना गर्न नसकेको बताउँछन् । उनले भने, ‘पालिकाहरूले शिक्षा क्षेत्रमा सुधारका लागि केही राम्रा काम त गरेका छन्, तर गुणस्तरीय पठनपाठन र शिक्षक प्रशिक्षणका क्षेत्रमा अझै सुधारको आवश्यकता छ ।’
‘अन्यत्रको तुलनामा तनहुँका पालिकाले केही राम्रो त गरेका छन् तर सन्तोष गर्ने ठाउँ भने देखिँदैन । गुणस्तरीय पठनपाठन नभएसम्म अन्य क्षेत्रको व्यवस्थापकीय सुधारले मात्र हुँदैन । पालिकाहरूले बढि व्यवस्थापनमा ध्यान दिएको देखिन्छ’, प्रमुख कट्टेलले भने, ‘शैक्षिक गुणस्तरका लागि कक्षाकोठै सुधार हुनुपर्छ । कक्षा अन्तरक्रियात्मक हुनुपर्छ । शैक्षिक सामग्री प्रयोग गरिनुपर्छ र प्रयोगात्मक अभ्यासमा बढि जोड दिनुपर्छ । पढ–पढ भन्ने संस्कार तुरुन्त बदलिनु पर्छ । सिकेका कुरा व्यवहारिक हुनैपर्छ । विश्वपरिवेससँग हाम्रो पठन अभ्यास पटक्कै मेल खाएको देखिदैन । शिक्षक अपडेट भएकै छैनन् र पालिकाहरूले यतातर्फ ध्यान पु¥याउनु जरुरी छ ।’
विद्यालयहरुको भौतिक संरचना राम्रा बन्दै गएपनि अहिले ति विद्यालयमा विद्यार्थी संख्या घट्दै गएका छन् । विद्यालयहरुको भौतिक पूर्वाधारमा सुधार हुँदै गएपनि पठनपाठनमा प्रयोग हुने स्रोत साधन भने पटक्कै नभएको र भएका पनि प्रयोगमा आउन नसकेको इकाई प्रमुख कट्टेल बताउँछन्। विद्यालयको अनुगमन प्रणली शुन्यप्राय बनेको र अब हामी सबैको ध्यान त्यसतर्फ जानुपर्नेमा उनले जोड दिएका छन् ।
तनहुँका सबै क्षेत्र र समुदायमा शिक्षाको पहुँच राम्रो बन्दै गएको छ । ‘कुनैपनि घरमा अब भर्ना नभएका बालबालिका नभएका र समुदायमा कहींपनि विद्यालय नगई खेलेर समय फाल्ने बालबालिका अब देख्न ग्राह्रो पर्छ’, प्रमुख कट्टेलले भने, ‘यो पाटोमा स्थानीय सरकारले राम्रो गरेका छन् । अबको पाटो भनेको शैक्षिक गुणस्तर सुधार हो र विश्वपरिवेश अनुसार शिक्षामा सुधार भएको हुँदा यस पाटोमा आमूल सुधार ल्याउन जरुरी छ ।’
‘समानतामा त अहिले पुरानो अवस्था रहेन । विद्यालयमा हेर्दा बालिकाहरूकै संख्या बढि देख्न पाइन्छ । जातिगत विभेद पनि अब त न्यून भैसकेको छ । महिला शिक्षकको अनुपात बढि भैसकेको छ । अब त पुरुष शिक्षक पाउन आरक्षणै दिनुपर्ला कि भन्ने अवस्था आइसकेको छ’, उनले भने ।
‘अहिले यति छिटो प्रविधिमा बदलाव आएको अवस्था छ कि संसारको एक कुनामा भएको घटना तुरुन्त विश्वभर पुग्दछ । प्रविधिमा अपडेट नहुने मानिस अब निरक्षर सरह भएको छ । प्रविधिसँग आत्मसात नगर्ने शिक्षक अब काम लाग्दैन’, प्रमुख कट्टेलले भने, ‘प्रविधिको प्रयोग गरिएन भने नागरिकले खोजेको शिक्षा दिन सकिदैन । प्रविधिको प्रयोगमा पालिकाहरू जान खोजेका त छन् तर अत्यन्तै अपुरो भएको छ । सीपयुक्त शिक्षा त आकाशकै फल भएको छ । हामीले जसलाई सिपयुक्त भनेका छौँ त्यो पनि पुरानो भैसकेको छ । विद्यार्थी भर्ना शुन्य हुनथालेको सिप शिक्षालाई के भन्ने। विश्व बजारले खोजेको सीप दिनुप¥यो नि । हाम्रा सीपयुक्त शिक्षा भनेकामा एउटा स्वास्थ्यतर्फको कार्यक्रमबाहेक अरु सबै कामयाबी छैनन् । अब नयाँ ज्ञानका क्षेत्र पहिचान गर्नुपर्ने देखिएको छ ।’
यस्तै, तनहुँका पालिकाहरुले आफ्ना मातहतका विद्यालयलाई प्रविधि मैत्री बनाउनका लागि आवश्यक सहकार्य गर्दै आएका छन् । विद्यालयहरुमा स्मार्ट क्लास, अनलाइन शिक्षा र अन्य डिजिटल प्रविधिको उपयोगबाट शैक्षिक गुणस्तरमा सुधार ल्याउने पहल शुरु भएका छन् तर अत्यन्त कछुवाको गतिमा भएको प्रमुख कट्टेल बताउँछन् । उनले भने, ‘जसले पठनपाठनलाई प्रविधिमैत्री बनाउँदै लगेका छन् ती विद्यालयमा विद्यार्थीको आकर्षण बढेको छ। संस्थागत विद्यालयहरूमा विद्यार्थी आकर्षण बढ्नुको कारण एउटा प्रविधिपनि हो । केही सामुदायिक विद्यालयले पनि यस पाटोमा आशालाग्दो पहल शुरुआत गरेका छन् ।’
शिक्षमा राज्यको ठुलो लगानी छ । प्रदेश र पालिकाको पनि शिक्षा क्षेत्रमा लगानी ठुलो रहेको छ । चालु वर्षमा मात्र हेर्दा संघीय÷प्रदेशको सशर्त बजेट बाहेक शिक्षा क्षेत्रमा २५ करोड ८५ लाख ६९ हजार ७७० रुपैयाँ बजेट विनियोजन भएको छ । यो बजेटलाई कम आँक्न नहुँने प्रमुख कट्टेल बताउँछन् ।
उनले भने, ‘विनियोजित बजेट मध्ये ठूलो लगानी शिक्षकमै रहेको छ । जबकि जिल्लामा शिक्षक दरबन्दी विद्यार्थीको तुलनामा पर्याप्त छ । माध्यमिक र निम्नमाध्यमिक तहमा अपुग दरबन्दी पनि प्राथमिकका माथिल्लो तहमा पढाउन सक्ने शिक्षकबाट पु¥याउने भनेर राखिएको छ। शिक्षक दरवन्दी पर्याप्त हुँदाहुँदै र संघीय अनुदानका समेत दरवन्दी आउँदा आउँदै पालिकाको लगानी पनि शिक्षकमै गरिनु हुँदैन । उसको लगानी त गुणस्तर सुधारका अन्य पाटोमा लगाइनु पर्दछ । आफ्ना मान्छेलाई जागिर खुवाउने मात्र बनाइनु राम्रो होइन ।’
यस्तै, विद्यालयहरूमा माध्यमिक र निम्नमाध्यमिक तहमा विषयगत शिक्षक आवश्यक पर्दछ । प्राथमिक तहमै पनि विषयगत शिक्षक बनाउनुपर्ने देखिन्छ । ‘विषयगत शिक्षक मिलाउन ज्यादै कठिन भएको र मुख्य मुख्य विषयमा शिक्षक पाउन पनि कठिन बन्दै गएको छ । युवाहरूको विदेश पलायनले यसमा समस्या देखिन थालेको हो । कतिपय विद्यालय र पालिकाले स्वार्थवश माथिल्ला तहका दरवन्दी बिगारेका छन्’, उनले भने, ‘विषय परिवर्तन गर्दै आफ्ना मान्छे जागिर खुवाउने प्रवृत्ति रहेमा संकट आउने निश्चित छ । हाम्रो इकाइमा भएको विषयगत शिक्षकको सूचि र पालिकाका शिक्षकका सूचि नभिडने बनाइसकिएको छ । कतिपयले हामीले मान्दैनौँ भनेर स्वीकृति नै नलिई परिवर्तन गरेका छन् । त्यसै त माथिल्ला तहमा कम शिक्षक त्यसमाथि पनि दरवन्दीमा भद्रगोल बनाउँदा जनविश्वास नरहने र गुणस्तर खस्कने हुँदा सामुदायिक विद्यालयको दुरावस्था हुने निश्चित छ, बेलैमा सोचौँ ।’
बदलिदो परिवेशमा प्रविधि र सीपयुक्त शिक्षाको आवश्यकता छ । विश्वपरिवेशमा आत्मसात गर्नसक्ने सीप अहिलेको आवश्यकता रहेको प्रमुख कट्टेलले बताए । उनले भने, ‘हामीले दिने सीप युवाले खोजेजस्तो हुन नसकेकाले आकर्षण घटेको कुरामा दुइमत छैन । युवाले खोजेको सीप पहिचान र लागु तुरुन्त गरिनु जरुरी छ । यसैलाई आत्मसात गराउनका लागि स्थानीय सरकारमा शिक्षा क्षेत्रको ठूलो जिम्मेवारी गएको छ । तर स्थानीय तहले आफ्नो जिम्मेवारी पुरा गरेका छैनन् । युवाले रुचाएको सीप र आम्दानी नपाएसम्म युवा पलायन रोकिन्न ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker