एमाले नेतृत्वले गरेका काम नै चुनाव जित्ने पर्याप्त आधार : गुरुङ

भञ्ज्याङ समाचारदाता/दमौली

नेकपा एमाले स्थायी कमिटी सदस्य एवं तनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधी सभा सदस्य उम्मेदवार किरण गुरुङले एमाले नेतृत्वले केन्द्र र प्रदेश सरकारले गरेका विकास निर्माण कार्यनै निर्वाचन जित्ने पर्याप्त आधार भएको बताएका छन् ।

मंगलबार बेलचौतारामा सम्पन्न नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले एमाले र अहिलेको गठबन्धनको नेतृत्वको तुलना गरी जनताले मत दिने विश्वास व्यक्त गरे ।

‘केन्द्रीयस्तरका केन्द्रले र प्रदेश स्तरका थुप्रै योजना गण्डकी प्रदेशले म आफै मन्त्रि हुदा थुप्रै काम भए,’ उनले भने, ‘तर अहिले गठबन्धनको सरकार बनेपछि बदनामी मात्रै कमाएको छ । प्रदेश सरकारलाई हेर्ने दृष्टिकोण समेत त्यति राम्रो छैन।’

पूर्व मन्त्री समेत रहेका गुरुङले समृद्ध र सुखी नेपाल नेपाल निर्माणकालागि एमाले परिपक्क पार्टी रहेको उल्लेख गरे । उनले शुक्लागण्डकी-९ घारीमा बन्न लागेको औधोगिक ग्रामको शुरुवात एमाले नेतृत्वको पालामा भएको सुनाउदै अहिले जग्गा प्राप्तीको चरणमा रहेको बताए । नेता गुरुङले निर्वाचन आचारसंहिता पालना गर्दै मतदाताकोबीचमा पुग्न तल्ला कमिटीलाई आग्रह गरे ।

नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, प्रदेश कमिटी सदस्यहरु दुर्गा प्रसाद पराजुली, प्रदेश कमिटी सदस्य एवम् तनहुँ २ प्रदेश २ का उम्मेदवार श्यामराजा महत, कृष्ण कुमारी गुरुङ, हर्क गुरुङ, रुद्र प्रसाद पौडेल, कमल ढकाल, जिल्ला कमिटी सचिवालय सदस्य फूलमाया वाग्ले, नगर कमिटी उपाध्यक्ष इन्द्र गुरुङ, सचिव रघुनाथ पौडेल लगायतले बोलेका थिए ।

भिमादमा एमालेको निर्वाचन सम्पर्क कार्यालय

यस्तै, मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा एमालेले भिमादमा सम्पर्क कार्यालय स्थापना गरेको छ । एमालेले भिमादमा क्षेत्र नम्बर २ प्रदेश २ को सम्पर्क कार्यालय स्थापना गरेको हो । उक्त कार्यालयको मंगलबार उदघाटन गर्दै एमाले स्थायी कमिटी सदस्य एवं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङले एमालेप्रति जनताको विश्वास र भरोसा रहेकाले एमालेको विजयलाई कसैले रोक्न नसक्ने बताए ।

क्षेत्र नम्बर २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले एमालेको नेतृत्वमा विकास सम्भव रहेकाले एमालेको विजय आवश्यक रहेको बताए ।

तनहुँ-१ का ४२ वटै वडामा निर्वाचन परिचालन कमिटी

आसन्न निर्वाचनका लागि नेकपा एमालेले तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका ४२ वटै वडामा निर्वाचन परिचालन कमिटी गठन गरेको छ । क्षेत्र नम्बर १ अन्तर्गतका सबै वडा कमिटीको मंगलबार आयोजित विस्तारित बैठकले निर्वाचन परिचालन कमिटी गठन गरी कार्यालय स्थापना गरेको हो ।

यसैगरी तनहुँ क्षेत्र नम्बर १ अन्तर्गतका पाँच वटै पालिकामा बैठक सम्पन्न गरी कार्यालय उद्घाटन गरिएको एमाले तनहुँका उपसचिव प्रदीपराज अधिकारीले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अर्न्तर्गतको निर्वाचन परिचालन कमिटी बुधबार दमौलीमा स्थापना गरिनेछ । यस्तै क्षेत्र नम्बर १ को प्रदेश निर्वाचन परिचालन कमिटी बिहीबार डुम्रेमा स्थापना गरिने अधिकारीले बताए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker