थाइराइड मेसिन खरिदका लागि आँबुखैरेनीका कर्मचारीको आर्थिक सहयोग
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनीभञ्ज्याङ

आँवुखैरेनी अस्पतालमा थाइराइड मेखिन खरिदकाका लागि आँबुखैरेनी गाउँपालिकाका कर्मचारीले पारिश्रमिकबाट आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको अध्यक्षतामा बुधबार बसेको बैठकले गाउँपालिका अन्तर्गतका सबै कर्मचारीको पारिश्रमिकबाट अस्पतालमा दश लाख रुपैयाँ बराबरको थाइराइड मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाको कार्यालय, वडा कार्यालय, अस्पताल, स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको पारिश्रमिकबाट कट्टा हुने गरी थाइराइड मेसिन खरिद गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले जानकारी गराए । मेसिन खरिदका लागि कर्मचारीको न्यूनतम दश प्रतिशत तलब कट्टा गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
कर्मचारीको यो निर्णयप्रति गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आभार व्यक्त गरेका छन् । ‘आफ्नो अनि आफ्नाकै भर पर्ने हो’ भन्दै अस्पतालको स्वास्थ्य सेवा विस्तारका लागि यसले सहयोग पुग्ने यस कार्यमा जोडिएका सम्पुर्ण कर्मचारी साथीहरुप्रति पालिका परिवार सम्मान सहित आभार प्रकट गरेका छन् ।
गाउँपालिकाले सर्वसाधारणलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्य सहित विशेषज्ञ चिकित्सक सहितको उपचार सेवा प्रवाह गर्दै आएको छ ।










