पृथ्वी राजमार्गका दुई स्थानमा पहिरो, सडक अवरुद्ध

तनहुँ । अविरल वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत तनहुँका दुई स्थानमा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ।
आज बिहान करिब ५ः३० बजे व्यास नगरपालिका–१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा सडक माथिबाट लेदोमाटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
घटनालगत्तै जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली खटिएर सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ।
त्यस्तै, म्याग्दे गाउँपालिका–६ मौरीभिरस्थित पृथ्वी राजमार्गमा पनि सडक माथिबाट लेदोमाटोसहितको पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ। जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
दुवै स्थानमा पहिरो हटाई सडक सञ्चालनमा ल्याउने पहल भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन र सम्भावित पहिरो तथा सडक अवरोधलाई ध्यान दिन आग्रह गरिएको छ।










