ज्येष्ठ नागरिकको समस्या

  • के.वि. मसाल

देशभर ९० वटा वृद्धाश्रम छन । उपत्यकामा मात्रै २५ वटा छन । सञ्चालनमा आएका धेरैजसो वृद्धाश्रम ज्येष्ठ नागरिकमैत्री देखिँदैनन् । समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपति १९३८ सालमा स्थापना गरिएको सरकारद्वारा सञ्चालित एकमात्र वृद्धाश्रम हो । राजा सुरेन्द्र वीरविक्रम शाहको पालामा पञ्चदेवल पाठशालाका रुपमा स्थापना भई सञ्चालनमा आएको वृद्धाश्रम २०३४ सालदेखि समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिको नाममा सञ्चालित हुँदै आएको छ । नेपालमा अहिले ज्येष्ठ नागरिकहरुको सख्या २७ लाख पुगेको छ । विश्वभरीको सख्या लिने हो भने संसारभरी ज्येष्ठ नागरिकहरु को सख्या ७६ करोड पुगेको छ । विश्को सामजिक परिवेश हेर्ने हो भने नेपालमा मात्र होइन ज्येष्ठ नागरिकहरुलाई गर्नुपर्ने संमान र उनिहरुको सामाजिक सुरक्षा र हकहितको बारेमा विश्वमै ज्येष्ठ नागरिकहरु उपेक्षित भएका छन । हाभ्रो देशमा सरकारले ज्येष्ठ नागरिकहरुका लागि दीर्घकालिन राहत र संरक्षण योजना ल्याउन नसक्दा घरेलु हिंसा, सामाजिक, आर्थीक दुर्व्यवहार समेत ज्येष्ठ नागरिकहरुले खेप्नु परेको छ । कुनैपनि ज्येष्ठ नागरिक वृद्धहुनु उसको दोष होइन । यो त प्राकृतीक नियम हो । जन्मेपछि जो कोहिपनि त्यो अवस्थामा एक पटक पुगिन्छ । तर अपहेलित भएका ज्येष्ठ नागरिकका घर परिवार एवं समाजले त्यो कुरा बुझेपनि नबुझे झै गरिदिनाले यो समस्या समाधान हुनुको साटो ज्येष्ठ नागरिकहरुले भोग्नु परेको पीडा थपिएको छ ।

केही वर्ष अगाडिसम्म नेपाली समाजमा बृद्धबृद्धाहरुको स्थान अहिलेभन्दा अत्यन्त महत्वपूर्ण थियो । उनीहरुलाई घर, परिवार समाजमा सबैले अत्यन्तै मानसम्मान गर्दथे, ठूलो आदर हुन्थ्यो । बृद्धबृद्धाले आ-आफ्नो लामो जीवनभरि सँगालेका ज्ञान, सीप अनुभव पछिल्लो पुस्ताको लागि अर्ती उपदेशको रुपमा ठूला मार्ग दर्शन बन्दथे । समाज प्रायः संयुक्त घर, परिवार प्रणालीमा चलेको थियो । एउटै घरमा परिवारका धेरै सदस्यहरु संगोलमा बसेका हुन्थे । छुट्टी भिन्नभै अलग बस्ने कुरा धेरैपछि आएरमात्र लागू हुन्थ्यो । त्यसबखतका घरमुली बृद्धको स्थान अत्यन्त ओजस्वी, उच्च थियो । परिवारमा धेरै सदस्य भएको घरलाई ठूलाघरका रुपमा हेरिन्थ्यो । यसरी समाजमा स्वच्छ परम्परा, शुद्ध आचार व्यवहार, राम्रो समाजिक सदभाव एवं सौहार्दता र मर्यादित आचरण एवं अनुशासनको सिलसिला सन्तुलित जीवन पद्धतिको रुपमा अत्यन्त सुन्दर ढंगबाट विकसित हुँदै आएको थियो । नेपाल घुम्न आउने विश्वका विभिन्न मुलुकका पर्यटकहरुले पनि यो प्रणाली देख्दा कस्तो राम्रो भनेर यस पद्धतिको ठूलो तारिफ गरेको सुनिन्थ्यो । विस्तारै विस्तारै समय बित्दै वर्तमान अवस्थातिर आइपुग्दा विकसित मुलुकको प्रभाव र आकर्षा नेपाली समाजमा पनि पर्दै जान थाल्यो ।

घरभित्र रहेका परिवारका अधिकांश सदस्यहरु, दाजुभाइहरु वयस्क उमेरमा पुग्नासाथ आफ्ना आमाबुवासँग आपसमा अलग भइ छुट्टै बस्न रुचाउने हुन थाले । समाजमा घरधुरि बृद्धि हुने अवस्था र जमिनको स्वामित्वमा विखण्डन हुनेक्रम निरन्तर बढन थाल्यो । संयुक्त परिवारमा बस्ने वातावरण विस्तारै घटदै गयो । युवायुवती, आफ्नै ढंगले सानो परिवारमा बस्न मन पराउने भए । यसले गर्दा नेपाली समाजमा पनि बुढेसकालमा अरुको सहयोग मद्दत चाहिने बेलामा पुगेका यहाँका बूढाबूढीको ठूलो संख्या क्रमशः बेसहारा, अपहेलित तिरस्कृत हुँदै जाने स्थितिमा पुग्न थालेको अनुभव हुन थालेको छ । राज्यले ज्येष्ठ नागरिकलाई प्रत्याभूति दिनुपर्ने सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी ढंगले लागू गर्न नसकिरहेको अवस्थामा भएका कार्यक्रम पनि खाली प्रतिबद्धता र नारामा मात्र बढी सिमितजस्तो देखिन्छ । यसको कार्यान्वयन पक्ष फितलो हुन पुगेको आभास जताततैबाट महसूस हुन थालको छ ।

अहिले ज्येष्ठ नागरिकहरुको हक र अधिकार सुनिश्चित गर्ने र उनीहरुबीच आवश्यक सुबिधा पुर्‍याउने लक्ष्य राखी सरकारी तथा गैरसरकारीस्तरमा थुप्रै संस्थाहरु खुलेका छन । यी सबैको लक्ष्य ज्येष्ठ नागरिकको हितमा केही न केही कार्यक्रम सञ्चालन गर्दै आएका छन् । ज्येष्ठ नागरिकमैत्री वातावरण बन्नु आजको आवश्यकता पनि हो । यस्तो अवस्थामा सम्बद्ध सबै पक्षको ध्यान ज्येष्ठ नागरिकहरुको शारीरिक, मानसिक, आर्थिक अवस्थालाई सक्षम र सुदृढ गराइ उनीहरुका दुःख, पीडा र हिनताबोधलाई कम गर्दै लग्नु र मनोरञ्जनात्मक एवं सन्तुष्टि हुने खालका कार्यक्रमहरु सहजरुपमा स्थापित गर्दै जानु पनि आजको आवश्यका हो । बृद्धबृद्धाको अवस्थाप्रति राज्य, परिवार, बृद्धाश्रम, यस क्षेत्रमा काम गर्ने सामाजिक संघसंस्था सबै संवेदनशील भई उनीहरुलाई समूचित सुविधा उपलब्ध हुने प्रबन्ध गर्न र माया, स्नेह र सम्मान प्रदान गर्न क्रियाशिल भइ नै रहनुपर्छ । यसको लागि यस क्षेत्रमा कार्यरत सरोकारवालाहरु सबै निकायबीच समन्वयात्मक वातावरणको विकास हुनु नितान्त जरुरी छ । यस्ता प्रयासबाट सबै मिलेर काम गर्दा समाजमा बृद्धबृद्धाप्रति सम्मानको भावना जागृत गर्न र उनीहरुमा आत्मबल पैदा गर्न ठूलो मद्धत पुगि उनीहरुमा हौसला र जाँगरको सुमधुर वातावरणको सृजना हुन जान्छ ।

आधुनिक रहन सहन बसाइ सराइको अत्यधिक प्रचलन रोजगारीको लागि गाउँ छाडी मुलुक भित्र र विदेशको यात्रा जस्ता कारणले पनि कतिपए ज्येष्ठ नागरिकहरुले खोजे जस्तो संरक्षण र उचित स्याहार सुसार पाउन सकेका छैनन । ज्येष्ठ नागरिहरु विच गएर अध्ययन गर्ने हो भने उनिहरुको वास्तविक समस्याको पहिचान गर्न सकिन्छ । राज्यले बनाएको नितिले पनि ज्येष्ठ नागरिकहरुलाई उपेक्षित बनाएको छ । उधारणको लागि महिला वालवालिका र ज्येष्ठ नागरिकहरुलाई राज्यको तर्फाट दिइने राहत एवं सामाजिक सेवा लिन खोज्यो भने पहिला महिला त्यसपछि वालवालिका र अन्तमा ज्येष्ठ नागरिकको छ ।

हाम्रो समाज आफ्नो लागि भन्दापनि सन्तानको लागी बढि सोच्ने, खाइ नखाइ सन्तानको लागि सम्पती जोगाउने संस्कार बसेको छ । तर हामीले सोचेजस्तो व्यवहार आफ्नै सन्तानबाट पाउन सकेका देखिन्न । समाजमा ज्येष्ठ एंव वृद्ध नागरिकहरुलाई विरामी हुँदा औषधी उपचार मात्र होइन साझ विहानको हातमुख जोडने समेत कठिन भएको छ । आर्थीक विपन्न र स्थाइ आय-आर्जन नभएका ज्येष्ठ नागरिकहरुको अहिलेको समस्या यस्तै अवस्थामा रहेको छ । जिल्लामा सामाजिक संघ/संस्थावाट सेवादिन खोलिएका ज्येष्ठ नागरिक सरोकार केन्द्र र वृद्ध आश्रम पनि आर्थीक कारणले सबै ज्येष्ठ वृद्ध नागरिकहरुलाई आवस्यक सेवा र संरक्षण दिन सकेका छैनन । कोही कसैले समय सर्न्दर्भमा केही नगद र जिन्सी वृद्धआश्रममा दानगर्ने प्रचलन देखिए पनि त्यसले मात्र आश्रम चल्ने अवस्था छैन ।

मानिसको जन्म भएपछि वालक, किशोर, युवा, वयस्क र ६० वर्ष पुगेपछि सामाजिक मान्यता र कानुनी रुपले ज्येष्ठ नागरिक हुँदै वृद्ध अवस्थामा पुग्दछ । मानिस जन्मिए पछि सन्तानको जन्मदिने प्राकृतीक नियम हो । दापत्य जीवन यापन पछि सन्तान भएन भने स्वास्थ्य परिक्षणदेखि लिएर अहिलेको मेडिकल प्रविधिलाई समेत प्रयोग गरी सन्तानको खोजिमा लाग्ने मानिस समाजमा छ । भनिन्छ जन्म दिने आमा, बाबु इश्वर सरह हुन । एक पटक बावु र आमाको उमेरमा सबै मानिस पुग्नु पर्दछ । भन्ने कुरा सबैले सोच्ने हो भने अहिले सामाजिम न्याय खोजि रहेका ज्येष्ठ नागरिकहरुले पारिवारिक र सामाजिक रुपले अपहेलना हुनेक्रम मा कमि आउछ ।

आज विश्वलाई हेर्ने हो भने सामाजिक वातावरण नै वदलिएको छ । सामाजिक परिवर्तनले कतिपय कुरा सामाजिक हितकर पन ल्याएको हुन्छ भने परिवर्तन मा केही अप्ठ्ायारा परिस्थितीको पनि सिर्जना हुने गर्दछ । त्यहि असजिलो परिस्थितीमा नेपाली ज्येष्ठ नागरिकहरु को अवस्था रहेको छ । केही वर्ष यता आएर आर्थीक प्रगतीका नयाँ अवधारण वैदेशिक रोजगारी, भूमण्डलीकरणका नकारात्मक प्रभावका कारण ज्येष्ठ वृद्ध नागरिकहरुको परंम्परागत संरक्षण मा कमी देखिएको छ । यो भन्दा पनि आर्थीक विपन्नताको कारण ज्येष्ठ नागरिकहरुले भौतिक, सामाजिक र स्वास्थ्य सम्वन्धी समस्या भोग्नु परेको छ । गरिव, निमुखा, असहाय एवं आर्थीक स्थिति राम्रो हुँदा हुदै पनि सामाजिक चेतनाको अभावमा हेपिएका ज्येष्ठ वृद्धनागरिकहरुको हेरचाह, प्रत्यक्ष सेवा, परामर्शसेवा, र यस्तै वृद्धहरुको लागि आवस्यक पर्ने मानवीयसेवा आवश्यक भएको छ । यसमा सामाजिक सोचलाई सकारात्मक दिशा तर्फल्याउन राज्यले उचित कानुनको तर्जुमा गर्नर्ुपर्दछ ।

अबको ३५ वर्षपछि संसारमै ६० वर्षमाथिका मानिसको संख्या अहिलेसम्मकै धेरै हुँदैछ । उमेर समूहसँगै समाजका थुप्रै प्राथमिकता परिवर्तन हुने देखिन्छ । मानव इतिहासमा पहिलो पटक सन २०५० मा १५ वर्षमुनिका भन्दा ६० वर्ष माथिको जनसंख्या बढी हुँदैछ । राष्ट्रसंघका अनुसार, सन २०५० मा १४ वर्ष मुनिकाको जनसंख्या ६ प्रतिशतले घटेर २१ प्रतिशतमा १५-२४ वर्षको जनसंख्या ३ प्रतिशतले घटेर १४ प्रतिशतमा, उच्च सक्रिय प्रौढ उमेर २५-५९ वर्षको जनसंख्या १ प्रतिशतले घटेर ४४ प्रतिशतमा झर्नेछ । तर, ६० वर्ष माथिको जनसंख्या भने सन २०५० मा पुग्दा ९ प्रतिशतले बढेर २१ प्रतिशत र सन २१०० मा थप ६ प्रतिशतले बढेर २७ प्रतिशत पुग्नेछ । यसरी यस शताब्दीको मध्यपछि कुल जनसंख्यामा ज्येष्ठ नागरिकको अनुपात अन्य उमेर समूहको भन्दा बढी हुने र यो अवस्थाले निरन्तरता पाउने छ ।

जनसंख्याको उमेरगत प्रक्षेपण अनुसार हामीले समाजमा धेरैखाले परिवर्तन गर्नुपर्ने छ । जनसंख्या अनुकूलको व्यवहार अपनाउनु पर्छ । ज्येष्ठ नागरिक मैत्री समाज निर्माणमा श्रम शक्तिको उचित व्यवस्थापन गर्न नीतिगत परिवर्तन जरुरी छ । अहिले बच्चा र युवाका प्राथमिकतामा परेका कतिपय योजना ज्येष्ठ नागरिकमुखी बनाउनुपर्ने हुन्छ । यस्तो बेला अवसरहरु पनि परिवर्तन हुनेछन । सेवाका क्षेत्र, जस्तैः व्यापार, खाना, खेलौना, कपडा, स्याहार, हेरचाह, अस्पताल, विद्यालयहरु त्यो समय ज्येष्ठ नागरिक केन्द्रित बनाउनुपर्नेछ । प्रविधिमा पनि व्यापक परिवर्तन जरुरी हुनेछ । हालका कम्प्युटर, मोबाइल, एप जस्ता उत्पादन पनि ६० वर्ष माथिलाई सहज हुने गरी उत्पादन गर्नुपर्छ । राजनीतिक दलहरुका घोषणापत्र र विकासका कार्यक्रमहरुमा पनि परिवर्तन आवश्यक हुन्छ । ती कार्यक्रम स्वतः ज्येष्ठ नागरिकमुखी हुनु पर्दछ । जनसंख्यामा उमेर समूह परिवर्तनसँगै पारिवारिक र पुस्तागत बनावट पनि फरक हुने छन । त्यसलाई नबुझी भोलिको समाजको स्वभाव बुझन कठिन हुन्छ । उमेर समूहमा आउने परिवर्तनसँगै हामीले हालसम्म देखे-भोगेको तीन पुस्ताको पारिवारिक संरचना पनि परिवर्तन हुने अनुमान गरिएको छ ।

राज्यले अहिले दिदै आएको सामाजिक भत्ता समय अनुकुल बढदैजाने महगीसंग मिल्ने हिसावले प्रत्यक वर्षवृद्धि गराउदै लानु पर्दछ । ज्येष्ठ नागरिकहरुलाई संमान पूर्वक जीवन यापन गर्नदिन सामाजिकर कानुनी तवरबाट राज्यको कर्तव्य हो । राज्यले द्रि्रकालिन योजना बनाएर असाहय ज्येष्ठ नागरिकलाई संरक्षण दिने वृद्धआश्रम प्रत्यक जिल्ला र क्षेत्रमा राख्नु पर्दछ । राज्यलाई हरेक नागरिकहरुले तोकिएको कर तिरेको हुन्छ । यो बाहेक ज्येष्ठ नागरिकहरुलाई दातृ निकायहरुले पनि सहयोग राज्यलाई प्रदान गरेको हुन्छ । यसरी जम्मा भएको सहयोग रकम जेष्ठ नागरिकहरु को संरक्षणमा खर्च गरिनु पर्दछ । अनिमात्र ज्येष्ठ नागरिकहरुले पाउने छन सामाजीक सुरक्षा र संरक्षण सामाजिक न्यायको लागि ज्येष्ठ नागरिकहरुको आवाजलाई सबैले सकारात्मक रुपले लिनु पर्दछ । समाजमा देखिएका वृद्धनागरिकका समस्यालाई सामाजिक तवरले हलगर्दै जाने हो भने यो समस्या कुनैदिन समाजमा देख्न सकिन्न । आफ्ना वालवालीकाहरुलाई सानैदेखि ज्येष्ठ नागरिकहरुको सम्मान र सेवागर्न सिकाऔ, आफु र समाजका नागरिकहरुलाई पनि वृद्धहरुलाई गर्ने व्यवहार, संमान, सेवा मा लाग्ने वातावरण सृर्जना गर्ने अभियानमा जुटौ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker