सम्पादकीय : मुकुन्देश्वरी डाँडा र ओझेलमा परेको इतिहास

नेपालको इतिहास, संस्कृति र भुगोल एकअर्कासँग गाँसिएर यस्ता विरासतहरू निर्माण गर्छन् । जसले राष्ट्रको पहिचान मात्रै बनाउँदैन, भावी पुस्ताका लागि गौरवको स्रोत पनि प्रदान गर्छ । तर दुर्भाग्यवश, त्यस्ता थुप्रै स्थलहरू समय, राजनीति, र बेवास्ताको भारमा ओझेलमा परिरहेका छन्। तिनैमध्ये एक हो– पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरमा अवस्थित मुकुन्देश्वरी डाँडा । जसको नामसँगै पाल्पाका प्रसिद्ध राजा मुकुन्दसेनको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विरासत गाँसिएको छ । चारैतिर हरियाली, आकाशमा नीलो स्वच्छता र टाढा देखिने धौलागिरी–अन्नपूर्ण–बौद्ध हिमश्रृंखलाका दृश्यले यो डाँडालाई प्रकृतिको अनुपम उपहार बनाउँछ। तर यसको छायाँमा लुकेको छ । एक वीर शासकको गाथा, शक्तिपीठको किंवदन्ती र नेपाली इतिहासमा गरिइएको प्रारम्भिक संघीय शासन अभ्यासको स्मृति ।

पन्ध्रौं शताब्दीको उत्तरार्धमा जन्मिएका राजा मुकुन्दसेन केवल पाल्पाका शासक थिएनन्, उनी नेपाली भुगोलको तत्कालीन पुनःसंरचनामा ऐतिहासिक योगदान दिने व्यक्तित्व पनि थिए । संस्कृत, अस, अवधी र मगर भाषामा दखल राख्ने यो बहुभाषिक राजा एक धार्मिक, नीतिनिष्ठ र प्रबुद्ध प्रशासक थिए । गोपिनाथ शर्माको “चौबीसी राज्यको इतिहास” अनुसार, पाल्पा राज्य उत्तरमा मुक्तिनाथदेखि दक्षिणमा गङ्गासम्म, पूर्वमा जलपाइगुडीदेखि पश्चिममा कुमाउँसम्म फैलिएको थियो । त्यो बेलामा मुकुन्दसेनले आफ्ना सात छोराहरूलाई सातवटा भिन्न–भिन्न क्षेत्रहरूमा प्रशासक बनाएर प्रारम्भिक संघीय शासनको अभ्यास पनि गरे। यो नेपाली राजनीतिक चेतनाको प्रारम्भिक नमूनास्वरूप पनि लिन सकिन्छ । तर राजनीतिक शक्ति, वंशवाद र आन्तरिक कलह नेपाली इतिहासको स्थायी विडम्बनाजस्तै बनेको छ । मुकुन्दसेनको राज्य पनि यसबाट अछुतो रहन सकेन। आफ्नै छोराहरूबीचको सत्ता संघर्षले थाकेर, राजा मुकुन्दसेनले राज्य त्यागे। अन्ततः वि.सं. १६२२ मा देवघाटमा जलसमाधि लिएर शालिग्राम बनेको जनविश्वास आजसम्म जीवित छ ।

राजा मुकुन्दसेनसँग गाँसिएको यो मुकुन्देश्वरी डाँडा, कुनैबेला पाल्पा राज्यको शीतकालीन राजधानी थियो । यही ठाउँमा राजा मुकुन्दसेनले सैनिक परेड गराउँथे, शक्तिशाली तरवारहरू राखिएका थिए, शिवमन्दिर स्थापना गरिएको थियो । डाँडामै रहेको इनार, तत्कालीन दरबारका भग्नावशेष, सैनिक अभ्यासका टुंडिखेलहरू, पूजास्थलहरू, गुफा र तबेलाहरू आज झाडी र जङ्गलले ढाकेका छन् । एक महिलाको मुखबाट सुनिएको “राजा हुनुको घमण्डले अन्धा भएका छन्” भन्ने वाक्यले आत्मबोध पाएका राजा मुकुन्दसेन यही डाँडाबाट सधैंका लागि अन्तर्धान भए भन्ने किंवदन्तीले डाँडालाई एउटा आध्यात्मिक चेतनाको थलो पनि बनाएको छ । डाँडामा प्रकट भएको शक्तिस्वरूप मुकुन्देश्वरी देवी, आज पनि स्थानीय स्तरमा पूजाआजा गरिन्छ । तर त्यो शक्तिपीठ आज संरक्षणविहीन, प्रचारविहीन र ओझेलमा परेको ऐतिहासिक स्थल बनेको छ ।

मुकुन्देश्वरी डाँडा आज राष्ट्रिय स्तरमा कति चिनिएको छ? उत्तर हो– निकै थोरै चिनिएको छ । ऐतिहासिक महत्त्व बोकेको, सांस्कृतिक किंवदन्तीले भरिएको र पर्यटनको अपार सम्भावना बोकेको यस्तो स्थलप्रति स्थानीय सरकारको ध्यान नपुगेको देखिन्छ। त्यस्तै, प्रदेश र संघीय सरकारले पनि संरक्षणको विषयमा नीति त बनाएका छन्, तर कार्यान्वयन पक्ष कमजोर छ । गाउँपालिका, पाल्पा–तनहुँका सम्पदाविद्, स्थानीय पर्यटन व्यवसायी र नागरिक समाजको साझा प्रयास बिना यो स्थल अझै बिर्सिदै जानेछ । खासगरी विद्यालय र विश्वविद्यालय तहमा यो थलोको अध्ययन र प्रचार–प्रसार हुनुपर्छ। यहाँको इतिहास पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तामा यो चेतना विकास गर्न सकिन्छ कि, इतिहास केवल दरबारका पर्खालमा सीमित छैन, त्यसको जरा स्थानीय डाँडाकाँडो र मान्यतामा पनि गढिएको छ ।

बन्दीपुर आफैंमा एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। मुकुन्देश्वरी डाँडा त्यसको पूरक बन्न सक्छ । जसले इतिहास, धर्म, संस्कृति र प्रकृतिको संगममा नयाँ गन्तव्य निर्माण गर्न सक्छ । यसका लागि डाँडाको पुरातात्त्विक सर्वेक्षण गरिनु, प्राकृतिक पदमार्ग निर्माण गरिनु, स्थानीय कथा र किंवदन्तीहरूलाई संग्रह गरेर संग्रहालय बनाइनु, नयाँ पुस्तालाई सहभागी गराउने सचेतना अभियान सञ्चालन गरिनु, गाईड प्रशिक्षण, बोर्ड संकेत र डिजिटल सामग्री विकास गरिनुपर्ने देखिन्छ। यी काम गर्दा मात्र मुकुन्देश्वरी डाँडा नयाँ पुस्ताको लागि गुम्न लागेको सम्पदा होइन, पुनःजीवित प्रेरणाको केन्द्र बन्न सक्छ । नेपालको इतिहास राज्यहरूकै युद्धले बनेको हो भन्ने एकपक्षीय दृष्टिकोणलाई तोड्न जरुरी छ । मुकुन्देश्वरी डाँडा जस्ता स्थलहरू इतिहासको विविधता, आध्यात्मिकता र मानवीय संवेदनाको गाथा बोल्छन् । हाम्रा सन्तानले इतिहास पढून्, हेरुन्् र महसुस गरून् भन्ने हो भने, हामीले मुकुन्देश्वरीजस्ता स्थलहरूलाई केवल किंवदन्ती होइन, संरक्षित धरोहर बनाउनु आवश्यक छ । यो न त केवल तनहुँको जिम्मेवारी हो, न त पाल्पाको मात्रै यो सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker