सम्पादकीय : मुकुन्देश्वरी डाँडा र ओझेलमा परेको इतिहास

नेपालको इतिहास, संस्कृति र भुगोल एकअर्कासँग गाँसिएर यस्ता विरासतहरू निर्माण गर्छन् । जसले राष्ट्रको पहिचान मात्रै बनाउँदैन, भावी पुस्ताका लागि गौरवको स्रोत पनि प्रदान गर्छ । तर दुर्भाग्यवश, त्यस्ता थुप्रै स्थलहरू समय, राजनीति, र बेवास्ताको भारमा ओझेलमा परिरहेका छन्। तिनैमध्ये एक हो– पहाडकी रानी उपनामले परिचित तनहुँको बन्दीपुरमा अवस्थित मुकुन्देश्वरी डाँडा । जसको नामसँगै पाल्पाका प्रसिद्ध राजा मुकुन्दसेनको ऐतिहासिक, धार्मिक र सांस्कृतिक विरासत गाँसिएको छ । चारैतिर हरियाली, आकाशमा नीलो स्वच्छता र टाढा देखिने धौलागिरी–अन्नपूर्ण–बौद्ध हिमश्रृंखलाका दृश्यले यो डाँडालाई प्रकृतिको अनुपम उपहार बनाउँछ। तर यसको छायाँमा लुकेको छ । एक वीर शासकको गाथा, शक्तिपीठको किंवदन्ती र नेपाली इतिहासमा गरिइएको प्रारम्भिक संघीय शासन अभ्यासको स्मृति ।
पन्ध्रौं शताब्दीको उत्तरार्धमा जन्मिएका राजा मुकुन्दसेन केवल पाल्पाका शासक थिएनन्, उनी नेपाली भुगोलको तत्कालीन पुनःसंरचनामा ऐतिहासिक योगदान दिने व्यक्तित्व पनि थिए । संस्कृत, अस, अवधी र मगर भाषामा दखल राख्ने यो बहुभाषिक राजा एक धार्मिक, नीतिनिष्ठ र प्रबुद्ध प्रशासक थिए । गोपिनाथ शर्माको “चौबीसी राज्यको इतिहास” अनुसार, पाल्पा राज्य उत्तरमा मुक्तिनाथदेखि दक्षिणमा गङ्गासम्म, पूर्वमा जलपाइगुडीदेखि पश्चिममा कुमाउँसम्म फैलिएको थियो । त्यो बेलामा मुकुन्दसेनले आफ्ना सात छोराहरूलाई सातवटा भिन्न–भिन्न क्षेत्रहरूमा प्रशासक बनाएर प्रारम्भिक संघीय शासनको अभ्यास पनि गरे। यो नेपाली राजनीतिक चेतनाको प्रारम्भिक नमूनास्वरूप पनि लिन सकिन्छ । तर राजनीतिक शक्ति, वंशवाद र आन्तरिक कलह नेपाली इतिहासको स्थायी विडम्बनाजस्तै बनेको छ । मुकुन्दसेनको राज्य पनि यसबाट अछुतो रहन सकेन। आफ्नै छोराहरूबीचको सत्ता संघर्षले थाकेर, राजा मुकुन्दसेनले राज्य त्यागे। अन्ततः वि.सं. १६२२ मा देवघाटमा जलसमाधि लिएर शालिग्राम बनेको जनविश्वास आजसम्म जीवित छ ।
राजा मुकुन्दसेनसँग गाँसिएको यो मुकुन्देश्वरी डाँडा, कुनैबेला पाल्पा राज्यको शीतकालीन राजधानी थियो । यही ठाउँमा राजा मुकुन्दसेनले सैनिक परेड गराउँथे, शक्तिशाली तरवारहरू राखिएका थिए, शिवमन्दिर स्थापना गरिएको थियो । डाँडामै रहेको इनार, तत्कालीन दरबारका भग्नावशेष, सैनिक अभ्यासका टुंडिखेलहरू, पूजास्थलहरू, गुफा र तबेलाहरू आज झाडी र जङ्गलले ढाकेका छन् । एक महिलाको मुखबाट सुनिएको “राजा हुनुको घमण्डले अन्धा भएका छन्” भन्ने वाक्यले आत्मबोध पाएका राजा मुकुन्दसेन यही डाँडाबाट सधैंका लागि अन्तर्धान भए भन्ने किंवदन्तीले डाँडालाई एउटा आध्यात्मिक चेतनाको थलो पनि बनाएको छ । डाँडामा प्रकट भएको शक्तिस्वरूप मुकुन्देश्वरी देवी, आज पनि स्थानीय स्तरमा पूजाआजा गरिन्छ । तर त्यो शक्तिपीठ आज संरक्षणविहीन, प्रचारविहीन र ओझेलमा परेको ऐतिहासिक स्थल बनेको छ ।
मुकुन्देश्वरी डाँडा आज राष्ट्रिय स्तरमा कति चिनिएको छ? उत्तर हो– निकै थोरै चिनिएको छ । ऐतिहासिक महत्त्व बोकेको, सांस्कृतिक किंवदन्तीले भरिएको र पर्यटनको अपार सम्भावना बोकेको यस्तो स्थलप्रति स्थानीय सरकारको ध्यान नपुगेको देखिन्छ। त्यस्तै, प्रदेश र संघीय सरकारले पनि संरक्षणको विषयमा नीति त बनाएका छन्, तर कार्यान्वयन पक्ष कमजोर छ । गाउँपालिका, पाल्पा–तनहुँका सम्पदाविद्, स्थानीय पर्यटन व्यवसायी र नागरिक समाजको साझा प्रयास बिना यो स्थल अझै बिर्सिदै जानेछ । खासगरी विद्यालय र विश्वविद्यालय तहमा यो थलोको अध्ययन र प्रचार–प्रसार हुनुपर्छ। यहाँको इतिहास पाठ्यक्रममा समावेश गरेर नयाँ पुस्तामा यो चेतना विकास गर्न सकिन्छ कि, इतिहास केवल दरबारका पर्खालमा सीमित छैन, त्यसको जरा स्थानीय डाँडाकाँडो र मान्यतामा पनि गढिएको छ ।
बन्दीपुर आफैंमा एक महत्वपूर्ण पर्यटकीय गन्तव्य हो। मुकुन्देश्वरी डाँडा त्यसको पूरक बन्न सक्छ । जसले इतिहास, धर्म, संस्कृति र प्रकृतिको संगममा नयाँ गन्तव्य निर्माण गर्न सक्छ । यसका लागि डाँडाको पुरातात्त्विक सर्वेक्षण गरिनु, प्राकृतिक पदमार्ग निर्माण गरिनु, स्थानीय कथा र किंवदन्तीहरूलाई संग्रह गरेर संग्रहालय बनाइनु, नयाँ पुस्तालाई सहभागी गराउने सचेतना अभियान सञ्चालन गरिनु, गाईड प्रशिक्षण, बोर्ड संकेत र डिजिटल सामग्री विकास गरिनुपर्ने देखिन्छ। यी काम गर्दा मात्र मुकुन्देश्वरी डाँडा नयाँ पुस्ताको लागि गुम्न लागेको सम्पदा होइन, पुनःजीवित प्रेरणाको केन्द्र बन्न सक्छ । नेपालको इतिहास राज्यहरूकै युद्धले बनेको हो भन्ने एकपक्षीय दृष्टिकोणलाई तोड्न जरुरी छ । मुकुन्देश्वरी डाँडा जस्ता स्थलहरू इतिहासको विविधता, आध्यात्मिकता र मानवीय संवेदनाको गाथा बोल्छन् । हाम्रा सन्तानले इतिहास पढून्, हेरुन्् र महसुस गरून् भन्ने हो भने, हामीले मुकुन्देश्वरीजस्ता स्थलहरूलाई केवल किंवदन्ती होइन, संरक्षित धरोहर बनाउनु आवश्यक छ । यो न त केवल तनहुँको जिम्मेवारी हो, न त पाल्पाको मात्रै यो सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो ।










