तनहुँमा कांग्रेस नेता पौडेलाई भोट माग्दै प्रचण्डले भने : उहाँले देशको नेतृत्व गर्ने सम्भावना छ
भञ्ज्याङ न्यूज

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेको चर्चा गरेका छन् ।
तनहुँको बन्दिपुर-१ डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘रामचन्द्रजीको एउटा इच्छा हामी सबैलाई थाहा छ । एकचोटी देशको कार्यकारीको ठाउँमा पुग्ने उहाँको इच्छा छ । उहाँलाई तपाईंहरुले ढुक्कसँग जिताउनुभयो भने त्यो सम्भावना बढ्यो । उहाँ भोलि देशको नेतृत्व लिनसक्ने नेता हुनुहुन्छ ।’
पौडेलको प्रधानमन्त्री सम्भावना बारे प्रचण्डले भने- ‘अत्याधिक मत दिएर जिताए सम्भावना बढ्यो, सकी नसकी जिताए गाह्रो पर्छ ।’ ‘अत्याधिक मत दिएर जिताए पौडेलजीको सम्भावना बढ्यो, बढ्यो, बढ्यो’ उनले भने, ‘सकी नसकी जिताए गाह्रो पर्छ फेरि ।’
यस्तै, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भोट माग्ने नैतिक अधिकार नभएको बताएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्दै ओलीले राजावादीहरुको गठबन्धनको नेतृत्व गरेको बताए । दुइ तिहाई बहुमत ल्याउँदा पार्टी र संसद विघटन गर्नेले मत माग्न आउनै लाज मान्नुपर्ने टिप्पणी गरे ।

त्यस्तै, प्रचण्डले नेपाललाई आर्थिक समृद्धिको नयाँ यात्रामा लैजाने संकल्प लिइएको बताए । ‘यस पटकको निर्वाचन सामान्य हुनेछैन, यो निर्वाचन नेपालको इतिहासमा विशेष महत्व राख्ने निर्वाचनको रुपमा सम्पन्न हुँदैछ’, उनले भने, ‘संविधानसभाबाट संविधान बनेपछि र त्यो संविधान अनुसारको सरकार बनेपछि अब स्थायित्व र विकासको यात्रातिर नेपाल लाग्नेछ भन्ने सोचेपनि घटनाक्रम त्यसरी विकसित भएको छैन ।’
‘घटनाक्रमको विकास त झण्डै ७० वर्ष लामो संघर्षबाट उपलब्धी प्रहार गर्नेतिर गयो, जसलाई प्रधानमन्त्रीको रुपमा अगाडी सार्यौ, उहाँले नै संविधानमाथि प्रहार गर्ने काम गर्नुभयो’, प्रचण्डले भने ‘तीन वर्षपुग्दा नपुग्दा प्रतिगमनको विरुद्ध, संविधानको रक्षा, जनताको अधिकार रक्षाका निम्ति सडकमा जानुपर्ने अवस्था आईलाग्यो, जनताको प्रयासकै कारण गठबन्धन स्थापना भएको हो ।’










