पर्यटन प्रवर्द्धनका लागि व्यास–मादी नदी एकीकृत विकास परियोजना अनुसार अगाडि बढ्दै व्यास
सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापनका लागि पहल गर्ने

दमौली : तनहुँको व्यास नगरपालिकाले ‘पर्यटन गुरुयोजना’ अनुसार पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई अगाडि बढाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले भानु शान्ति निकुञ्जबाट तयार पारिएको पर्यटन गुरुयोजना अनुसार अगाडि बढ्ने नीति लिइएको बताए ।
नगरपालिका भएर बग्ने (करिब १८ कि.मी.) मादी नदीको बहुउद्देश्यीय विकासका लागि व्यास–मादी नदी एकीकृत विकास परियोजनाको गुरुयोजना बनिसकेकाले गुरुयोजना अनुसार पर्यटकीय पूर्वधार निर्माण तथा प्रवर्द्धनका कार्य गर्न संघ, प्रदेश सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रसँग समन्वय गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको ४३औं नगरसभामा जानकारी गराए ।
नगरपालिकाले तनहुँसुर क्षेत्रलाई केन्द्र विन्दुमा राखेर भानु शान्ति निकुञ्जबाट तयार पारिएको ‘पर्यटन गुरुयोजना’ अनुसारका कार्यक्रमहरु संघ र प्रदेश सरकारको सहकार्यमा कार्यान्वयनलाई अघिल्लो वर्ष जस्तै आगामि वर्ष पनि निरन्तरता दिने भएको छ ।
यस्तै, पर्यटन क्षेत्रको विकासका लागि दीर्घकालीन योजनामा पर्यटनलाई महत्वपूर्ण प्राथमिकतामा राखिएकाले नगर भित्रको धार्मिक, साँस्कृतिक, पर्यापर्यटनलाई महत्वका साथ अघि बढाउने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ । नगरपालिकाको मौलिक संस्कृति, परम्परा, ऐतिहासिक, धार्मिक महत्वका स्थानहरुलाई सम्बर्द्धन संरक्षणको अभियान अघि बढाउनुका साथै पर्यटकीय पूर्वाधार निर्माण गर्दा पुरातात्विक महत्वका धार्मिक, साँस्कृतिक ऐतिहासिक मठमन्दिर, गुम्बा, चर्च, मस्जिद र गुफा लगायतका मौलिक संस्कृतिको संरक्षण र प्रवर्द्धन गरिने भएको छ ।
व्यास जन्मभूमिमा महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति निर्माण कार्यलाई पूर्णता दिन प्रदेश र संघ सरकारसँग सहकार्य गर्ने तथा व्यास–१० दुम्सीचौरमा पर्यटकीय प्रवर्द्धनका लागि नारेश्वर ताल निर्माण कार्यलाई पनि निरन्तरता दिइने भएको छ । ग्रामीण पर्यटन विकासका लागि पदमार्ग निर्माण, स्टोल ट्रेल निर्माण, होमस्टेको क्षमता विकास एवं स्तरीकरण, पाउना घर तथा स्नान घर स्तरीकरण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने, नगरपालिका भित्रका होटल एवं होमस्टेहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिने भएको छ ।
गण्डकी प्रदेशको सहलगानीमा मुख्यमन्त्री नवप्रवर्तनीय कार्यक्रम अन्तर्गत व्यास–१४ रुम्सी गाउँलाई नमूना गाउँको रुपमा विकास कार्यक्रमलाई निरन्तरता दिई २०८३ भित्र नमूना साँस्कृतिक पर्यटकीय गाउँ घोषणा गर्ने तयारी गरेको नगरपालिकाले अन्य विभिन्न पर्यटकीय सम्भावना बोकेका गाउँ, वस्ती तथा क्षेत्रहरुमा पर्यटन विकासका कार्यक्रमहरु विस्तार गर्ने कार्यक्रमलाई पनि जोड दिएको छ ।
व्यास नगरपालिका भित्रका मौलिक संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न नयाँ पुस्तामा साँस्कृतिक मौलिक परम्परा हस्तान्तरणका लागि गाउँ, टोल, विद्यालय स्तरीय विभिन्न प्रशिक्षणका कार्यक्रमहरु अघि बढाउने नीति लिइएको नगरपालिकाले मानहुँकोट, छाब्दी, गलेखामकोट, शहिद कालिका जंगलपार्क, पुलिमराङ, कुलुङकोट, तनहुँसुर, झाक्रिथान, क्यामिन कालिका लगायतका पर्यटकीय स्थलहरु र दलित, गुरुङ, मगर, दराई, कुमाल, बोटे, भुजेल लगायतका जातीय पहिचानका संग्रहालयहरुको पर्यटन प्रवद्र्धन गरिने भएको छ । नगरपालिका स्थित पर्यटकीय सम्पदा एवं उपजहरुको एकीकृत रुपमा तथ्याङ्क संकलन गरी डिजिटल प्रविधि मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने कार्यक्रमलाई पनि नगरपालिकाले प्राथमिकतामा राखेको छ ।
सुरक्षित वैदेशिक रोजगारको व्यवस्थापनका लागि नगरपालिकाले पहल गर्ने
यस्तै, नगरपालिकाले वैदेशिक रोजगार सुरक्षित, मर्यादित तथा व्यवस्थित गराउन थप पहल गर्ने भएको छ । सुरक्षित आप्रवासन कार्यक्रमलाई थप व्यवस्थित गर्ने नीति लिएको नगरपालिकाले नगरबासिलाई विदेशमा काम लाग्ने खालको सीप तालिम लिएर मात्रै वैदेशिक रोजगारीमा जाने व्यवस्थाका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग समन्वय गरिने भएको छ ।
वैदेशिक रोजगारीमा जान लागेकाहरुलाई विदेश जाने क्रममा प्रयोग भएका कागजातहरुको प्रतिलिपिहरु एकप्रति कागजात घरमै छाड्न र गैसकेकाहरुलाई विदेशबाट पठाउन प्रोत्साहन गर्ने नीति लिएको नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप पूँजी र प्रविधिको उच्चतम प्रयोग गरी नगरपालिकाको आर्थिक बृद्धिमा टेवा पु¥याउने भएको छ । यसका लागि आवश्यक कार्यक्रम तथा नीतिको व्यवस्था गरी पुनः एकीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ ।
वैदेशिक रोजगारीमा गएका व्यक्ति तथा उनीहरुको परिवारका सदस्यहरुमा देखापर्ने मानसिक स्वास्थ्य तथा मनोसामाजिक समस्याको जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि व्यक्तिगत र सामुहिक मनोपरामर्श सेवाका कार्यक्रम सञ्चालन गरिने भएको छ। वैदेशिक रोजगारबाट प्राप्त विप्रेषणको उपयोगका लागि वित्तीय साक्षरता कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गर्ने, वित्तीय साक्षरता सम्बन्धी ज्ञान वृद्धि तथा सचेतना सम्बन्धी एकीकृत कार्यक्रम सञ्चालनको लागि वित्तीय साक्षरता रणनीतिक योजना तयार गरिने भएको छ ।
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी चेतनामूलक होर्डिङ बोर्डहरु विभिन्न स्थानमा राख्ने व्यवस्थालाई निरन्तरता दिएको नगरपालिकाले नेपाल सरकारसँगको सहकार्यमा स्थानीय तहबाट नै श्रम स्वीकृतिको प्रक्रियालाई अझै प्रभावकारी र सेवाग्राहीमैत्री बनाउने तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुको निःशुल्क सीप परीक्षणको लागि सरोकारवाला निकायहरुसँग समन्वय गर्ने नीति नगरपालिकाले अवलम्बन गर्ने भएको छ ।