सम्पादकीय : कृषि हाटबजारले बदलेको जीवनशैली

कुनै समय तनहुँको आँवुखैरेनी गाउँपालिकाको छिम्केश्वरी क्षेत्रका बासिन्दाका लागि चामलको भात दैनिकी होइन, चाडपर्वको प्रतीक थियो । दशैं–तिहार कुर्दै बल्ल चामलको स्वाद चाख्ने, बाँकी दिन जंगलमा पाइने गिट्ठा, भ्याकुर, तरुल, सिस्नो र निगुरोले पेट पाल्ने बाध्यता थियो । दुर्गम भूगोल, कमजोर पूर्वाधार र बजारको अभावले यहाँको जीवनशैली दशकौंसम्म उस्तै रह्यो । तर, अहिले गाउँपालिकाले सञ्चालन गरेको कृषि हाटबजारले छिम्केश्वरी क्षेत्रका बासिन्दाको केवल आम्दानीको ढोका मात्रै खोलेको छैन, सोच, संस्कार र जीवनशैली नै बदलिदिएको छ । समुद्री सतहबाट करिब २ हजार १३४ मिटर उचाइमा फैलिएको छिम्केश्वरी पहाड तनहुँ जिल्लाकै सबैभन्दा अग्लो भू–भाग हो। आदिवासी जनजाति समुदायको बाक्लो बसोबास रहेको यो क्षेत्र धार्मिक, प्राकृतिक र जैविक विविधताले भरिपूर्ण छ। तर, यथोचित विकासको पहुँच नपुग्दा यहाँको सम्भावना सधैं सीमित रह्यो। आधारभूत सडक, शिक्षा, स्वास्थ्य र बजारको अभावले यहाँका बासिन्दा उत्पादनभन्दा पनि गुजारा केन्द्रित जीवन बाँच्न बाध्य थिए ।

राजमार्ग हुँदै गण्डकी प्रदेशको प्रवेशद्वार मानिने आँबुखैरेनी गाउँपालिकाले जब आफ्नो वडा नम्बर ५ र ६ जस्ता विकट क्षेत्रलाई प्राथमिकतामा राख्दै विकास कार्यक्रम अघि बढायो, तब परिवर्तनको आधार तयार भयो । ग्रामीण सडक विस्तारसँगै गाउँमै उत्पादन भएका कृषि उपज र वनजंगलका कन्दमूल बजारसम्म पु¥याउने बाटो खुल्यो। यही भौतिक पहुँचलाई आर्थिक अवसरमा बदल्ने काम भने गाउँपालिकाले सुरु गरेको कृषि हाटबजारले ग¥यो । हप्ताको सोमबार र शुक्रबार सञ्चालन हुने कृषि हाटबजार अहिले छिम्केश्वरी क्षेत्रका बासिन्दाको जीवनसँग गाँसिएको छ । पहिले एक–दुई पाथी कोदो, मकै वा साग बोकेर घरघर डुल्दा कहिले बिक्री हुन्थ्यो, कहिले हुँदैनथ्यो । नबिके गाईबाख्रालाई खुवाउने वा खेर जाने अवस्था सामान्य थियो। अहिले भने हाटबजारमा ल्याइएका सिस्नो, निगुरो, गिट्ठा, भ्याकुर, टिम्मुर, तरुल, फापर, गुन्द्रुकदेखि महसम्म सहजै बिक्री हुन्छन् । मूल्य पनि किसानकै हातमा छ ।

वडा नम्बर ५ रसौलीकी सौमती चेपाङको अनुभव छिम्केश्वरीको यथार्थको प्रतिनिधि कथा हो । चामल खान दशैं कुर्नुपर्ने अवस्थाबाट आज नियमित भात खान पाउने आत्मसम्मानसम्मको यात्रा उनले हाटबजारसँग जोडेर सुनाउँछिन्। जंगलमा पाइने कन्दमूल पहिले बाध्यता थियो, आज त्यो आम्दानीको स्रोत बनेको छ। निगुरो, सिस्नो र भ्याकुर बेचेर चामल, नुनतेल किन्ने क्षमता केवल आर्थिक परिवर्तन होइन, सामाजिक र मानसिक परिवर्तन पनि हो । यस्तै, संगिता गुरुङको उदाहरणले देखाउँछ कि हाटबजारले महिलालाई घरको भान्साबाट उद्यमशीलतासम्म पु¥याएको छ । पहिले आफ्नै उपभोगमा सीमित मादले काँक्रो, गुन्द्रुक, रायोको साग र वनतरुल आज हजारौं रुपैयाँको आम्दानीको माध्यम बनेका छन् । बजार सुनिश्चित भएपछि उत्पादन विस्तार भएको छ, श्रमको मूल्य पहिचान भएको छ ।

हाटबजारको अर्को महत्वपूर्ण पक्ष भनेको बिचौलिया मुक्त प्रणाली हो। किसान आफैं उपस्थित भएर बिक्री गर्ने व्यवस्था हुँदा उपभोक्ताले पनि गुणस्तरीय वस्तु सुपथ मूल्यमा पाएका छन्। यदि किसानको उपज नबिके गाउँपालिकाले नै खरिद गरी व्यवस्थापन गर्ने नीति अपनाउँदा किसानको जोखिम घटेको छ। ढुवानीका लागि जिपको व्यवस्था र उत्पादनका आधारमा अनुदानले यो प्रणालीलाई थप सुदृढ बनाएको छ। दुध, मासु र पशुपालनमा दिइएको अनुदान तथा शतप्रतिशत पशु बीमाले कृषकलाई व्यवसायिक बन्न उत्प्रेरित गरेको छ । प्रतिलिटर दुधमा ६ रुपैयाँ अनुदानको व्यवस्था केवल आर्थिक सहयोग मात्र होइन, ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउने दूरदर्शी कदम हो । यसले युवालाई पनि गाउँमै सम्भावना देख्न प्रेरित गर्न सक्छ ।

आँवुखैरेनीको कृषि हाटबजारले देखाएको सन्देश स्पष्ट छ– विकास ठूला संरचनामा मात्र होइन, सही सोच र स्थानीय आवश्यकतामा आधारित कार्यक्रमबाट सम्भव हुन्छ । जंगलमा खेर जाने कन्दमूल, करेसाबारीमा सीमित सागसब्जी र घरमै खपत हुने मह आज बजारको वस्तु बनेका छन् । आत्मनिर्भरता र आत्मसम्मानको यो यात्राले ग्रामीण विकासको नयाँ मोडेल प्रस्तुत गरेको छ । अब चुनौती भनेको यस सफल अभ्यासलाई दिगो बनाउनु हो। उत्पादनसँगै प्रशोधन, प्याकेजिङ र ब्रान्डिङ जोड्न सके छिम्केश्वरीका कन्दमुल र रैथाने उत्पादनले अझ ठूलो बजार पाउन सक्छन् । कृषि हाटबजार केवल किनबेचको थलो नभई ग्रामीण समृद्धिको मेरुदण्ड बन्न सकोस्, यही अपेक्षा गरिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker