मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम : व्यासको बेनीकोटलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बनाइने

दमौली : तनहुँको व्यास नगरपालिका–१३ स्थित बेनीकोट भञ्ज्याङ र छापडाँडा क्षेत्रलाई उद्यमशीलतायुक्त सांस्कृतिक गाउँका रूपमा विकास गरिने भएको छ । कृषि तथा पर्यटन प्रवर्द्धनमार्फत स्थानीयस्तरमा उद्यमशीलता विकास गरी गाउँको आर्थिक तथा सांस्कृतिक पहिचान स्थापित गर्ने उद्देश्यले डेढ करोड रुपैयाँ लागतको परियोजना सञ्चालन गर्न लागिएको हो ।
गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत सञ्चालन हुने ‘उद्यमशीलतायुक्त सांस्कृतिक गाउँ बेनीकोट’ परियोजनाको मंगलबार व्यास नगरपालिका–१३ बेनीकोट भञ्ज्याङ, छापडाँडामा अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेले स्थानीय स्रोत, साधन, सीप र सम्भावनाको सदुपयोग गरेर गाउँमै रोजगारी तथा आम्दानीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले विकासका योजना कागजमा सीमित नभई स्थानीयको सक्रिय सहभागिताबाट व्यवहारमा देखिनुपर्ने उल्लेख गर्दै बेनीकोटलाई कृषि, संस्कृति र पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपप्रमुख इन्दिरा दरैले स्थानीय कला, संस्कृति, मौलिक पहिचान र परम्परागत पेसाको संरक्षणसँगै महिलासहित स्थानीय समुदायलाई उद्यमशीलतामा जोड्नुपर्नेमा जोड दिइन् ।
प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले परियोजनाको प्रभावकारी कार्यान्वयन, पारदर्शिता र उपलब्धिको दिगोपनमा स्थानीयको अपनत्व तथा सक्रिय सहभागिता भएमात्र यो कार्यक्रम प्रभावकारी बन्ने बताए ।
परियोजनाअन्तर्गत पर्यटन प्रवर्द्धनका लागि होमस्टेको स्तरीकरण, आतिथ्यता विकास, मौलिक कला–संस्कृतिको संरक्षण, संग्रहालय व्यवस्थापन, मगर समुदायको पहिचान तथा भेषभूषाको प्रवर्द्धन, प्रचारप्रसार र सरसफाइका कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत लम्सालले जानकारी गराए ।
उनका अनुसार कार्यक्रम अन्तर्गत ड्रागन फ्रुट खेती विस्तार, रैथाने बाली संरक्षण तथा सिँचाइ व्यवस्थापनमा पनि लगानी गरिनेछ । २०८४ जेठ ३० गतेसम्म सञ्चालन हुने परियोजनाले बेनीकोटको आर्थिक, सामाजिक तथा पर्यटकीय सम्भावनालाई उजागर गर्ने अपेक्षा गरिएको छ । कार्यक्रममा व्यास नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, शाखा प्रमुख, कर्मचारी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
परियोजनामा गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाको साझेदारी रहनेछ। कुल एक करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा प्रदेश सरकारले ७५ प्रतिशत अर्थात् एक करोड १२ लाख ५० हजार रुपैयाँ र व्यास नगरपालिकाले २५ प्रतिशत अर्थात् ३७ लाख ५० हजार रुपैयाँ व्यहोर्नेछन् ।
परियोजना २०८३ मंसिर १६ गतेदेखि २०८४ वैशाख ३० गतेसम्म सञ्चालन गर्ने कार्ययोजना छ । परियोजनाले पूर्वाधार निर्माण, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन, कृषि विकास तथा अन्य विविध कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । परियोजनाअन्तर्गत २५ प्रतिशत बजेट पूर्वाधार निर्माणमा खर्च गरिनेछ । यसअन्तर्गत स्टोन ट्रेल निर्माण, पाहुना घर निर्माण तथा कालो सुँगुरको खोर व्यवस्थापन र प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिनेछ ।
त्यसैगरी, उद्यमशीलता विकासतर्फ २५ प्रतिशत बजेट विनियोजन गरिएको छ । सामुदायिक वनमा बाँसखेती विस्तार, भुजेल समुदायको परम्परागत पेसा संरक्षण, बाँसका हस्तकलाका सामग्री निर्माण तथा दलित समुदायको परम्परागत पेसा संरक्षण र प्रवर्द्धनसँगै व्यावसायिक मौरीपालनलाई अघि बढाइने परियोजनामा उल्लेख छ ।
पर्यटन प्रवर्द्धनका लागि पनि २५ प्रतिशत बजेट छुट्याइएको छ । यसअन्तर्गत अतिथिसत्कार, होमस्टेको स्तरीकरण, मौलिक कला तथा संस्कृतिको संरक्षण, संग्रहालय व्यवस्थापन, मगर पहिचान र भेषभूषाको संरक्षण, प्रचारप्रसार तथा सरसफाइका कार्यक्रम सञ्चालन गरिनेछन् ।
कृषि विकासतर्फ १५ प्रतिशत बजेट खर्च गरिनेछ । ड्रागन खेती विस्तार, स्थानीय रैथाने बालीको संरक्षण तथा सिँचाइ व्यवस्थापनलाई प्राथमिकता दिइएको छ । बाँकी १० प्रतिशत बजेट अध्ययन, अनुगमन, लेखापरीक्षण, प्याकेजिङ, अभिमुखीकरण तथा परामर्शलगायत विविध कार्यक्रमका लागि उपयोग गरिनेछ ।
व्यास नगरपालिकाको आयोजना तथा गण्डकी प्रदेश सरकारको साझेदारीमा सञ्चालन हुने परियोजनाले बेनीकोट क्षेत्रको मौलिक संस्कृति, स्थानीय सीप, कृषि उत्पादन र पर्यटकीय सम्भावनालाई एकीकृत रूपमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । कृषि र पर्यटनलाई स्थानीय उद्यमसँग जोड्दै समुदायको आर्थिक गतिविधि विस्तार गर्नु परियोजनाको मुख्य उद्देश्य देखिन्छ ।










