भिमादको डुम्रीबेँसीमा मङ्सिरे चटारो, धानदेखि घ्यूसम्मको मूल्य सार्वजनिक

भिमाद : तनहुँको भिमाद नगरपालिका–१ डुम्रीबेँसीमा यतिबेला मङ्सिरे चटारो सुरु भएको छ । धान काट्ने, झार्ने र पराल थन्क्याउनेदेखि खेतबारी खनजोत गर्ने काममा किसान व्यस्त हुन थालेका छन् । यसैबीच स्थानीयस्तरमा कृषि उपज, कृषि औजार, श्रम तथा दैनिक उपभोग्य वस्तुको दरभाउ समेत सार्वजनिक गरिएको छ । ‘मेहनती बनौँ, खेतबारी बाँझो नराखौँ’ भन्ने सन्देशसहित सार्वजनिक गरिएको दरभाउमा धान, पराल, मल, कृषि श्रम तथा स्थानीय उत्पादनको मूल्य उल्लेख गरिएको छ ।
निर्धारित दरअनुसार सावित्री धानको मूल्य प्रतिमुरी दुई हजार ६०० रुपैयाँ र वार धानको मूल्य प्रतिमुरी दुई हजार ९०० रुपैयाँ तोकिएको स्थानीय कृषक दयाराम श्रेष्ठले जानकारी गराए । उनका अनुसार परालको मूल्य प्रतिभारी १५० रुपैयाँ निर्धारण गरिएको छ भने आफैँले भारी बाँधेर लैजानेका लागि प्रतिभारी १०० रुपैयाँ पर्नेछ ।
कृषि कार्यका लागि थ्रेसर प्रयोग गर्दा प्रतिमिनेट ५० रुपैयाँ र मिनीट्याक्टरबाट खेतबारी जोत्दा प्रतिघण्टा एक हजार रुपैयाँ लाग्नेछ । हँसिया, कोदालो र बन्चरो अर्जापेको प्रतिपिस ६० देखि ८० रुपैयाँ तथा खेताला ज्याला प्रतिघण्टा १०० रुपैयाँ तोकिएको कृषक श्रेष्ठले जानकारी गराए । बाँध तथा कुलोमा निमेक गर्दा प्रतिदिन ४०० रुपैयाँ ज्याला निर्धारण गरिएको छ ।
त्यसैगरी गोठे मल प्रति डोको ८० रुपैयाँ र युरिया मल प्रतिबोरा एक हजार ३०० रुपैयाँ कायम गरिएको छ । स्थानीय उत्पादनतर्फ भैँसीको घ्यू र पकाएको चुक प्रतिमाना एक हजार रुपैयाँ, शुद्ध अर्गानिक मह प्रतिमाना एक हजार २०० रुपैयाँ तथा एभोकाडो प्रतिकिलो २५० रुपैयाँ मूल्य निर्धारण गरिएको उनले जानकारी गराए ।
स्थानीयस्तरमै कृषि उपज र श्रमको दरभाउ सार्वजनिक हुनुले किसान तथा उपभोक्तालाई कारोबारमा सहज हुने अपेक्षा गरिएको छ । खेतबारी बाँझो नराखी कृषि उत्पादनमा सक्रिय हुन र स्थानीय उत्पादनको बजारीकरणलाई प्रोत्साहन गर्न यो मूल्य सूचि सार्वजनिक गरिएको कृषक श्रेष्ठले जानकारी गराए ।










