मुग्लिन–पोखरा सडक विस्तार : मादी नदी पुल एप्रोच बाहेक पूर्वी खण्डमा कालोपत्र सकियो

तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक खण्डलाई चारलेनमा विस्तार गर्ने कार्य भइरहेको छ । वि.सं. २०२५ मा रेखाङ्कन गरिएको यस सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरी अहिले सडक विस्तारको कार्य भइरहेको छ ।
राजमार्गको पूर्वीखण्ड (आँबुखैरेनी–जामुने)को ४१.५ किलोमिटरमा कालोपत्र लगभग सकिएको अवस्था छ। दमौलीस्थित मादी नदीको पुल निर्माण कार्य बाहेक यस खण्डमा कालोपत्रको काम सकिएको सडक आयोजना पूर्वी खण्डका इन्जिनियर विष्णु पाण्डेले जानकारी गराए । उनका अनुसार एकतर्फी शनिबार राती सकिएसँगै पूर्वी खण्ड कालोपत्र पिचले छोपिएको छ । सडकको केही भागमा दोस्रो चरणको कालोपत्र बाँकी रहेको र त्यो पनि यसै हप्ता सकिने उनले जनाएका छन् ।
‘मादी नदीको पुलको एप्रोच बाहेक मूल सडक कालोपत्र भएको छ । सहायक सडक जाने पहुँच मार्गहरूमा काम भइरहेको समेत भइरहेको छ’, इन्जिनियर पाण्डेले भने, ‘चालु आर्थिक वर्षभित्र नै पूर्वीखण्डको मूल सडक पिच गर्ने लक्ष्य अनुरूप काम भइरहेको छ ।’
पूर्वी खण्डको तेस्रोपटक थपिएको म्याद यही असार २९ गते सकिदै छ । सो म्यादभित्र सडक विस्तारको काम सकेर सडक सुरक्षाका बाँकी कामहरू गरिने इन्जिनियर पाण्डेले बताए । सडक कालोपत्र भएसँगै पर्यटकीय नगरी पोखरा जान÷आउन यात्रुलाई निकै सहज भएको छ ।

पूर्वी खण्डमा निर्माणधीन मादी नदी बाहेकका १७ वटा पुलहरू सबै तयार भइसकेका छन् । चालु आर्थिक वर्ष लागेसँगै तीव्र गतिमा सडक विस्तारको काम थालिएको सडक योजनाका इन्जिनियर पाण्डेले बताए ।
यस्तै, सन् २०२५ सेप्टेम्बरमा काम सक्ने गरी एक अर्ब २१ करोड रुपैयाँमा मादी पुलको ठेक्का ११ अगष्ट २०२२ मा सम्झौता भएको थियो । मादी नदीमा ‘आर्क डिजाइन’को पुल निर्माणाधीन छ। हालसम्म सो पुलको ७५ प्रतिशतभन्दा माथि काम भैसकेको छ । पुलको फाउन्डेसनको काम सकिएको छ। ६ वटा स्लाप मध्ये ४ वटा यो आर्थिक वर्षभित्र सकिने उनले बताए । एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋण सहयोगमा तनहुँको आँबुखैरेनीदेखि पोखरासम्मको दुई लेनको सडकलाई चार लेन र बजार क्षेत्रमा ६ लेनमा विस्तार भइरहेको छ ।
२०८१ वैशाखसम्म काम सक्ने लक्ष्य राखेर चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पूर्वी खण्डको ठेक्का सम्झौता गरेको थियो। तर, तोकिएको समय अवधिमा काम सम्पन्न नभएपछि तेस्रोपटक म्याद थप गरी कामलाई निरन्तरता दिइएको छ ।

त्यस्तै, आयोजनाको पश्चिम खण्ड (जामुने–पोखरा)मा विस्तारका लागि ३ जेठ २०७८ मा चीनकै एनहुई केयुयन हाइवे एन्ड ब्रिजले ७ अर्ब ४० करोड रुपैयाँमा (सेती पुल बाहेक) ठेक्का सम्झौता गरेको थियो । ३८.८८ किलोमिटर दुरी रहेको पश्चिमी खण्डको ५३ प्रतिशत भौतिक प्रगति भएको पश्चिम खण्डका आयोजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए ।
उनका अनुसार ४ लेन तथा ६ लेनको यो सडकको ३६.८ किलोमिटर सडक एकातर्फ कालोपत्र भइसकेको छ । यस्तै, २६ किलोमिटर सडक चार लेनमा पहिलो चरणको कालोपत्र सकिएको छ । पहिलो चरणको कालोपत्र गर्न अब १७ सय मिटर जति बाँकी रहेको आयोजना प्रमुख कुँवरले बताए ।
पश्चिम खण्डमा दोस्रो चरणको कालोपत्र भने सुरु भएको छैन । अर्को आर्थिक वर्ष लागेपछि दोस्रो चरणको कालोपत्र सुरु गरिने कुँवरले जानकारी दिए । पश्चिम खण्डमा १२ पुल मध्ये १० वटा पुल बनिसकेका छन् । एक पुल तयारी अवस्थामा छ । विजयपुर खोलाको पुल र सेती नदी माथिको सिग्नेचर पुल अर्को वर्षसम्म बन्ने आयोजना प्रमुख कुँवरले जानकारी दिए । सेती नदी माथिको पुलको ५० प्रतिशत काम सकिएको छ योजनाले जनाएको छ ।










