लुकेको इतिहास, पर्यटन र धनकुटाको सहिदभूमि
के.वि. मसाल

नेपालमा नयाँ ठाउँमा घुम्ने बानीको विकास भएको छ । जस्ले गर्दा पर्यटन शब्द अहिले सबैको प्यारो भएको छ । कसैले पर्यटनको बारेमा कुराकानी निकाल्यो भने सबैका ध्यान तानिन्छ । कुनै ठाउमा घुमफिर गरेर आएको मानिसको कुरा सुन्दा पनि सबैलाई जानपाए हुन्थो भने झै लाग्दछ । नदेखेको ठाउँ सबैलाई देख्ने मन कस्लाई हुँदैन र! आजभोली इतिहासका युद्ध, विद्रोह र संघर्षहरुले समाजमा कस्तो प्रभाव पा¥यो? समाजमा द्वन्द्वले पारेको असर अध्ययन गर्न पनि पर्यटकहरु त्यस्ता ठाउँमा पुग्न खोज्दछन। पर्यटकहरु प्राकृतिक सौन्दर्य मात्र नभएर इतिहासको पानामा लेख्न छुटेका कतिपय लुकेको इतिहास पर्यटनको यात्रामा खोज अनुसन्धान पनि हुन्छ ।
पर्यटन खुल्ला विश्वविद्यालय पनि हो । पर्यटनमा इतिहास कहिल्य पुरानो हुदैन र इतिहासको खोज अनुसन्धान गर्ने कार्य कहिल्य सकिन्न । इतिहासमा रुचि राख्ने पर्यटकहरुका लागि धनकुटाको छिन्ताङ गाउँ पुग्नै पर्ने हुन्छ । निरंकुश पञ्चायती व्यस्वथा र सामान्ती विरुद्ध किसान विद्रोह गर्दा तत्कालीन राज्य सत्ताले २०३६ सालमा धनकुटाको खाल्सा क्षेत्र आँखीसल्ला, खोकु र छिन्ताङमा क्रुर दमन गरेको थियो । छिन्ताङमा प्रहरीले १६ जना निर्दोस मानिसहरुको क्रुरतापूर्वक हत्या गरेको थियो भने ३१ जनालाई डाँका मुद्दामा ८ वर्ष जेलमा राखिएको थियो । वामपन्थी विचारधारामा आस्था राखेको र सरकार ढाल्न खोजेको भन्दै सरकारले नै तीन दिनको सुत्केरीसहित १६ जनाको हत्या गरेको थियो । यो घटनालाई छिन्ताङ हत्याकाण्डका रुपमा सर्वसाधारणले सम्झिन्छन ।
यो घटनामा कतिले श्रीमान गुमाए, कतिले श्रीमती गुमाएका थिए । अभिभावकविहीन हुने बालबालिका र केही अभिभावक सन्तानविहीनसमेत भएका थिए। तत्कालीन पञ्चायती सरकारले सर्वसाधारणलाई भीरबाट लडाएर, गोली हानेर र केहीलाई तमोर नदीमा बगाएर हत्या गरेको थियो । त्यो बेला नेपालमा बहुदलीय लोकतन्त्रको माग तीव्र हुँदै गइरहेको थियो । पूर्वी पहाडी किराँत क्षेत्रमा वामपन्थी विचार र प्रतिरोध चर्किदै थियो । छिन्ताङका केही बासिन्दामाथि राज्यविरोधी गतिविधि र कम्युनिस्ट समर्थन गरेको आरोप लगाइयो । जनमत संग्रहको घोषणा भइसकेको थियो । सुरक्षा प्रमुख र पञ्चहरुको भेला गोप्य रुपमा सुनसरीमा भयो ।
प्रशासनको योजनामा छिन्ताङलाई चारैतिर घेर्ने योजनासहित प्रहरी टोलीलाई खटाइयो । इनरुवा प्रहरी टोली चतरा, त्रिवेणी, गुठीखेतहुँदै छिन्ताङ भित्रियो । त्यसरी नै तेह्रथुम र सुनसरी प्रहरी टोली बेग्लाबेग्लै समयमा थलथले, खोकु हुँदै छिन्ताङको मूलगाउँ भित्रियो । त्यसरी नै धनकुटाको प्रहरी टोली मूलघाट, साप्टेनटार हुँदै छिन्ताङ भित्रियो । यसरी सबै क्षेत्रबाट छिन्ताङलाई नाका लगाएर स्थानीय पञ्चको सिफारिसमा त्यहाँका सोझा, सीधा, निमुखा जनतालाई हत्या गर्ने काम भयो ।
छिन्ताङ पुगेपछि पर्यटकहरुले सहिदहरुको बारेमा इतिहास जान्न खोज्दछन । हत्याकाण्डको पृष्ठभूमि लामो छ । छिन्ताङमा गरिबी किसान मजदुर थिए। उनीहरुसँग खाने गाँस पनि थिएन। तर, जमिन्दार सामन्तका घरमा ठूलाठूला भकारीमा अन्न थुपारिएका हुन्थे । उनीहरुको घरमा नै मजदुरी गर्नु पथ्र्यो तर खानलाई अन्न हुँदैनथ्यो । शोषण र अन्यायका विरुद्ध त्यहाँका किसान, मजदुरहरुले संगठित हुदै आवाज उठाउन थाले । छिन्ताङमा विद्रोह हुन थाल्यो । विष्णुमाया मझेनीले स्थापना गरेको पुस्तकालयमा प्रगतिशील पुस्तकहरु राखेर माक्र्सवादी अध्ययन चिन्तन र राजनीतिक चेतनाको अभिवृद्धि गर्ने अभियान सुरु भयो ।
पुस्तकालयकै माध्यमबाट भूमीगत बेलामा मनमोहन अधिकारी, भरतमोहन अधिकारी, मोहनचन्द्र अधिकारीलगायतका नेताहरुल बेला बखत प्रशिक्षण दिन जान थाले । यसरी छिन्ताङमा अभाव र शोषण रुपमा उठेको जनविद्रोह विस्तारै कम्युनिस्ट सिद्धान्त र संगठनमा विस्तार हुन थाल्यो । २०३१ सालको अनिकालमा रामलाल मझियाको भकारी फोरेर जनतालाई धान कोदो बाँडिएको थियो । यस्ता गतिविधिहरु छिन्ताङ र यसका वरिपरि छिमेकी गाउँहरुमा पनि बढिरहेको थियो। यस्तो बदलिँदो परिस्थितिबाट तर्सिएरका पञ्चहरुले प्रशासनमा उजुरी दिए ।
पञ्चायती कालमा छिन्ताङ हत्याकाण्ड जस्तो काण्ड अन्य ठाउहरुमा पनि भए होलान ? तर ती सबैको इतिहास लुकेको छ । तत्कालीन समयमा धनकुटा मुगाका सूर्यबहादुर थापा प्रधानमन्त्री थिए । सरकारको ठाडो आदेशमा छिन्ताङमा नागरिकहरुको हत्या भएको थियो । सूर्यबहादुर थापा नेपालको पञ्चायती युगका शक्तिशाली प्रधानमन्त्रीमध्ये एक थिए । विशेषगरी २०३६ सालको जनमतसग्रहमा सूर्यबहादुर थापा तत्कालीन सत्तापक्षका मुख्य योजनाकार थिए । उनले सरकारी संयन्त्र, प्रशासन र स्रोतसाधन प्रयोग गरेर पञ्चायती व्यवस्थालाई जिताउने योजना बनाए । छिन्तांङको हत्याकाण्ड पनि त्यसैको परिणाम थियो । हत्याकाण्डमा मारिने सबैजसो याक्खा, राई, लिम्बु समुदायका थिए । उनीहरु प्रजातान्त्रिक विचारधारा बोकेका, सचेत नागरिक थिए। जो सामाजिक न्याय र स्थानीय स्वशासनको पक्षमा बोल्ने गर्दथे । छिन्ताङ हत्याकाण्डपछि गाउँको अवस्था अत्यन्त पीडादायी र भयावह बनेको थियो ।
छिन्ताङको हत्याकाण्ड नेपालकै राजनीतिक इतिहासमा अमिट घाउको रुपमा रहन गयो । गाउँमा मानसिक र सामाजिक त्रास बढन थाल्यो । स्थानीय बासिन्दा आफ्नो घरमै असुरक्षित महसुस गर्न थाले। धेरै मानिसले प्रहरी र सेनाको डरले राति गाउँ छोडेर जंगलतिर लुके । घटनाको प्रत्यक्षदर्शी र मृतकका परिवारजनमा गहिरो मानसिक आघात रहन गयो । हत्याकाण्डपछि गाउँका धेरै परिवार सुरक्षित स्थानतर्फ पलायन भए । केही परिवारले धनकुटा, धरान, इटहरी र भारतसम्म आश्रय लिए ।
छिन्ताङ हत्याकाण्ड भएको ३८ बर्ष पछि अर्थात २०७४ साल पुसमा सरकारले सहिद घोषणा ग¥यो । छिन्ताङमा कार्तिक २९ गते शहीद स्मृति दिवस मनाउने गरिन्छ । मदन भण्डारीले नै छिन्ताङको पञ्चकन्यामा सहिदहरुको सालिक राख्ने ठाउँको शिलन्यास गरेका थिए । त्यसको केही समयपछि मदन भण्डारीको पनि वि.सं २०५० जेठ ३ मा दासढुंगा ा दुर्घटना भयो । दासढुंगा घटना नेपाली राजनीतिमा ऐतिहासिक र अविस्मरणीय घटना हो । दासढुंगा दुर्घटनामी जनप्रिय नेता एमालेका तत्कालीन महासचिव कमरेड मदन भण्डारी र उनका निकट राजनीतिक सहयात्री जिवराज आश्रितको रहस्यमय ढंगले ज्यान गयो । छिन्ताङको पञ्चकन्यामा १६ सहिदहरुको सालिकसंगै मदन भण्डारीको सालिक पनि राखिएको छ । अहिले छिन्ताङ सहिदभूमि गाउँपालिका भएको छ । अको तर्फ राजनीतिक द्वन्द्व र अत्याचारीसँग जुधेको रगत आज पर्यटन, शान्ति र स्मृतिले भरिएको स्थल बनेको छ ।
पर्यटकहरु छिन्ताङ पुग्नासाथ सहिदहरुको सालिक राखिएको पार्कमा पुग्दछन । छिन्ताङ घटनालाई सस्मरण गर्दै सहिद प्रति सामुहिक श्रद्धाञ्जली अर्पण गर्दछन । छिन्ताङ हत्याकाण्डमा गोपालआनन्द राई, भैरवबहादुर खालिङ, बलबहादुर खत्री, चन्द्रबहादुर दमाई, गम्भीरमान दर्जी, गंगाबहादुर राई, टंकबहादुर विश्वकर्मा, धनवीर दमाई, लाखमान साधु राई, केशरमान राई, गणेशबहादुर विश्वकर्मा, पुत्रमान थुलङ, श्रीमाया राई अर्थात हांखिमा साइँली, झगेन्द्र राई, रामकुमारी र रणध्वज पुमा राई हत्या गरिएको थियो । पर्यटकहरु भावुक हुदै भन्दछन– छिन्ताङ गाउँको नाम मात्र होइन रहेछ छिन्ताङमा सहिदहरुको रगत मिसिएको माटो रहेछ। अहिले छिन्ताङ केवल गाउँ मात्र नभएर इतिहास र सांस्कृतिक प्रतिरोधको जिउँदो प्रतीक बनेको छ ।
किराँती राई समुदायको पुरानो बसोबास क्षेत्रका रुपमा रहेको छिन्ताङ गाउँ प्राकृतिक सौन्दर्य मात्र होइन, सांस्कृतिक धरोहर र ऐतिहासिक बलिदानको स्मृति पनि बोकेको छ । छिन्ताङ घटनाले गाउँलाई प्रतिरोध र बलिदानको प्रतीक बनायो । स्थानीय किराँती समुदायमा हत्याकाण्डले अन्याय र उत्पीडनको विरुद्ध जागरणको प्रेरणा बन्यो । घटना पछि छिन्ताङ नाम उच्चारण गर्दा नै संघर्ष, आँसु र पहिचानको स्मृतिसँगै आउँने भयो । अहिले किराँती इतिहास र नेपालका राजनीतिक संघर्षहरुको अध्याय बनेको छ ।
छिन्ताङ गाउँ पुगेपछि पर्यटकहरु पातलडाँडा पुग्दछन । पातलडाँडा पञ्चकन्यादेखि तीन किलोमिटर माथी डाँडामा पर्दछ । पातलडाँडाको जंगलमा अधिकांश मानिसहरुलाई लगेर मारिएको थियो । जहाँ अहिले सहिद स्मृति पार्क बनेको छ । पातलडाँडाको पार्कमा भ्यूटावर पनि निर्माण भएको छ । यहाँबाट पर्यटकहरुले उदयपुर, भोजपुर मात्र नभएर अधिकांश पूर्वी पहाडी जिल्लाको भूगोल अवलोकन गर्न सक्दछन । छिन्ताङ जाँदा पर्यटकहरुले जल्पादेवी मन्दिरमा पुग्नै पर्ने हुन्छ । जाल्पादेवीको उत्पत्ति करिवन ७०० वर्ष पहिला भएको विश्वास गरिन्छ। जल्पादेवी मन्दिर दिन भरि बन्द हुन्छ र साँझ परेपछि पूजाका लागि खोलिन्छ । मन्दिर रहेको स्थानमा एक अनौठो प्रजातिको रुख छ । त्यही रुखको फेदमा मुख्य देवीको बसोबास रहेको विश्वास गरिन्छ। रुखको बीचमा एक कर्कलोको पात छ । त्यो पात नकहिले मर्छ न कहिले सुक्छ। मन्दिरमा वैशाख र भदौ पूर्णिमा मा विशेष पूजा तथा मेला–उत्सव आयोजना हुन्छ । मन्दिर शान्त, स्वच्छ, जंगलको वीच भागमा अवस्थित छ । मन्दिरमा हाल छानो नभएको ढुगांले वरिपरीबाट पर्खाल उठाईएको छ । जाल्पादेवी मन्दिर संगै बाँया पट्टी यस्तै छानो नभएको सानो कन्यादेवीको मन्दिर पनि रहेको छ । साँझ मात्र खुल्ने अनौठो पूजा विधि, निरन्तर जलिरहेको धुनीले पर्यटकहरु अनौठो मान्दछन ।
छिन्ताङ गाउँ किराँत समुदायको ऐतिहासिक बस्ती हो । छिन्ताङ क्षेत्रमा विशेषतः याक्खा समुदायको बाक्लो बसोवास रहेको छ । याक्खा छिन्ताङको मूल पहिचान र मौलिक भाषिक रीतिथितिहरु याक्खा समुदायबाट उत्पन्न भएको पाइन्छ । छिन्ताङमा राई र लिम्बु किराँत धार्मिक परम्परा, साकेला, चण्डी नाच, भेला, मुन्धुम परम्परामा आधारित जीवनशैली रहेको छ । यिनीहरुको भाषा, संस्कार, संस्कृति र विश्वास प्रणाली अझै पनि मौलिक छ । छिन्ताङ अझै पनि पारम्परिक किराँत धर्म, प्रकृति पूजा, कुलदेवता आराधना र मुन्धुम अर्थात मौखिक धर्मग्रन्थको आधारमा चल्ने गाउँ हो । छिन्ताङको नामको शाब्दिक अर्थ छिन्ताङ शब्दको उत्पत्ति र अर्थ किराँती भाषामा गहिरो अर्थ बोकेको छ । छिन किराँती भाषामा काटनु, छिन्नु, टुक्रिनु भन्ने अर्थ दिन्छ । ताङले ठाउँ, भू–भाग, मैदान वा थलो जनाउने शब्द हो । यसरी, छिन्ताङको शाब्दिक अर्थ छिनिएको भूभाग टुक्रिएको र भाँचिएको थलो वा काटिएको मैदान हो। भूगोलकै दृष्टिले हेर्दा, छिन्ताङ क्षेत्र पहाड र खोँचले घेरिएको छ र खोला–खोल्साले गाउँलाई विभिन्न खण्डमा टुक्राएको छ । किराँती परम्परामा स्थानको नाम प्रायः भूगोल र इतिहाससँग जोडिन्छ । छिन्ताङ पुरातात्विक अनुसन्धान, वा सांस्कृतिक अध्ययनमा रुचि राख्ने पर्यटकहरु पुग्नै पर्ने हुन्छ ।
खुवालुङ किरात सांस्कृतिक स्थल हो । मुर्तरुपमा खुवालुङ एउटा प्रतिक ढुङ्गा हो भने अमुर्त रुपमा सांस्कृतिक आस्थाको स्थल र बृहत क्षेत्र हो । खुवालुङलाई किराती नोछुङ अर्थात धामीहरुले सांस्कृतिक कार्यहरु गर्दा मौखिक परम्परामा मुन्दुमी रिसिया श्लोकहरुमा पटक पटक पुकार गर्दछन्– किरातहरुले मान्ने सांस्कृतिक स्थल खुवालुङ सहिदभुमि गाउँपालिका वडा नं ७ सुनकोशी, भोटेकोशी, लिखु, इन्द्रावती र दुधकोशी मिसिएपछि बनेको पंचकोशी र सोमा अरुण र तमोर मिसिएपछि बनेको सप्तकोशी नदीको त्रिबेणी बीचमा प्रतीक ढुंङगाको रुपमा रहेको छ। हिउदमा पानीको बहाब कम हुने भएकोले यसको स्वरुप देखिन्छ भने बर्षातमा पानीको वहाव बढने हुनाले पुरा भाग पानीले ढाक्छ र देखिदैन । खुवालुङ क्षेत्रमा किरातहरु लामो समय बसोबास गरी मानब सभ्यताको बिकास भएको मानिन्छ । पछिल्लो पुस्ताहरुले यसलाई सांस्कृतिक हिसाबले पुजा गर्दै आएका छन् ।
पर्यटनका लागि धनकुटा प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्व र धार्मिक तथा सांस्कृतिक सम्पदाले श्रृंगारिएको जिल्ला हो । धनकुटाको यात्राले पर्यटकहरुलाई हरियाली डाँडाकाँडा, हिमाली दृश्यावलोकन, धार्मिक तीर्थस्थल, र ऐतिहासिक स्थलहरुले आकर्षित गर्दछ। कोशी राजमार्गको भेडेटार, मूलघाट, धनकुटा बजार, हिले, जोरपाटी, सिंधुवा र चित्रे लगायतका ठाउहरुमा धेरै पुग्नु पनि भएको होला ? पर्यटनका लागि यी सबै प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक क्षेत्रहरु हुन। तर इतिहासमा रुचि भएका पर्यटकहरु छिन्ताङ पुग्नु भएन भने धनकुटाको यात्रा अधुरो हुन्छ । छिन्ताङ धनकुटाबाट करिब २४ किमि पश्चिम–दक्षिणमा पर्दछ। पर्यटकहरु केवल प्राकृतिक सौन्दर्य वा धार्मिक स्थल मात्र हेर्न होइन, इतिहास र त्यहाँ भएका महत्वपूर्ण द्वन्द्व र हत्याकाण्डको खोजी र अध्ययन गर्न पनि इच्छुक हुन्छन । धेरै पर्यटकहरुमा इतिहास बुझने जिज्ञासा हुन्छ ।
पर्यटकहरु आजभोली नरसंहार, विद्रोह, वा अन्य दुःखद् इतिहासका स्थलहरुमा पुग्न खोज्दछन । यस प्रकारको पर्यटनले पर्यटकलाई केवल दृश्य अवलोकन मात्र होइन, इतिहास, पीडा र शिक्षा पनि दिन्छ । अर्को तर्फ इतिहास भैसकेका घटनालाई नजिकबाट अनुभूति गर्न खोज्दछन। पत्रकार, इतिहासकार, र समाजशास्त्रीका लागि यस्तो स्थल अध्ययन र अनुसन्धानको स्रोत हुन्छ । नेपालमा द्वन्द्व र संघर्षका धेरै ऐतिहासिक छापहरु छन । यसको खोज अनुसन्धान गर्न सके पर्यटकलाई मात्र नभएर इतिहासको सम्मान, शान्ति र मेलमिलापको सन्देश पनि दिन सक्छ ।
छिन्ताङ कसरी पुग्ने ?
छिन्ताङ गाउँ पुग्ने बाटोहरु धेरै छन । सुनसरीको चतराबाट मोटरबोटको यात्रामा सिम्ले हुँदै पनि छिन्ताङ पुग्न सकिन्छ । अर्को तर्फ चतरा देखि तमोर करिडोर हुदै मुलघाट भएर पनि छिन्ताङ पुग्न सकिन्छ । धनकुटाको हिले उत्तरपानी, थलथले हुँदै पिप्ले भएर पनि सहिद पार्क अर्थात छिन्ताङ पुगिन्छ । धरान धनकुटा, हिले, आँखीसल्ला हुदै पनि छिन्ताङ पुगिन्छ । अहिले धरानबाट धनकुटा बजार नपुग्दै अर्थात गुठीटारबाट पनि छिन्ताङ पुग्न सकिन्छ ।










