१५ बेडको आँबुखैरेनी अस्पताल सञ्चालनमा
भञ्ज्याङ समाचारदाता/आँवुखैरेनी

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी अस्पताल सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले १५ बेडको आँबुखैरेनी अस्पतालको सेवा विहीबारदेखि सञ्चालनमा ल्याएको हो ।
गाउँपालिकाको नवनिर्मित भवन अगाडी पहिले वडा २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गर्दै गाउँपालिकाले अस्पतालको सेवा सुरु गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी अस्पतालको सेवा सुरु गरेको छ ।
सेवा शुभारम्भको अवसरमा बोल्दै जनता माझ आफुले चुनावको बेला गरेको वाचा पूरा गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । उनले भने ‘सरकारी स्तरबाटै स्थानीय रुपमा अस्पताल सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिकले उपचारको लागि महंगा नीजि अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त हुनेछ ।’
उनले अब सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन वातावरण बनेको बताए । अस्पतालमा अहिले एक जना डाक्टर सहितको मेडिकल टिमले सेवा दिनेछ भने आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र डाक्टर व्यवस्था गरिने गाउँपालिकाले जनाएको छ । यस्तै गाउँपालिकाले डाक्टर सहितको मोबाइल टिम टोल टोलमा पुगि जनताको स्वास्थ परीक्षण गर्नका निम्ति समेत योजना बनाइएको अध्यक्ष चुमानले बताए ।










