वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गरी लाखौं कमाउँदै तनहुँका राजु

दमौली : वैदेशिक रोजगारी छाडेर गाउँमै कागती खेती गर्दै आएका तनहुँका एक युवाले उल्लेखनीय सफलता हासिल गरेका छन् । व्यास नगरपालिका–१३ आशापानीका ३६ वर्षीय राजु रेग्मीले दक्षिण कोरियामा नौ वर्ष काम गरेपछि भिसा अवधि रहँदै त्यहाँको रोजगारी छोडेर स्वदेशमै कागती खेती सुरु गरेका हुन् ।
रेग्मीले गाउँमा बाँझो रहेको २६ रोपनी पाखो बारीमा ‘सुन कागती’ जातको ८ सय बिरुवा रोपेका छन् । तीमध्ये हाल ६ सय बिरुवाले उत्पादन दिन थालेका छन्। एक बोटबाट वार्षिक करिब ३ हजार ५ सय रुपियाँ बराबरको कागती उत्पादन हुने गरेको उनले बताए । गत वर्ष कागती बिक्रीबाट १५ लाख रुपियाँ आम्दानी गरेका रेग्मीले यस वर्ष २२ लाखसम्मको आम्दानी हुने अपेक्षा व्यक्त गरेका छन् ।
‘दुई वर्षमा सबै बिरुवा उत्पादनमा आएपछि मासिक तीन लाख रुपियाँसम्म कमाउने लक्ष्य छ’, रेग्मीले भने, ‘देशको अर्थतन्त्र सबल बनाउन स्वदेशमै उत्पादन र निर्यातमा जोड दिनुपर्छ ।’ पाँच वर्षअघि सुरु गरिएको पारिवारिक कागती खेतीमा उनकी जीवनसंगीनी सिर्जना रेग्मी पनि सक्रिय रूपमा संलग्न छिन् ।
कागती उत्पादन र प्रवद्र्धनमा कृषि ज्ञान केन्द्र तनहुँ र व्यास नगरपालिकाले प्राविधिक सहयोग पु¥याउँदै आएका छन् । रेग्मीका अनुसार दमौली र पोखरामा थोक मूल्य प्रतिकिलो एक सय रुपियाँमा बिक्री हुने कागतीको माग बजारमा पर्याप्त छ। अहिले नेपाली उत्पादनले २० प्रतिशत मात्र बजार ओगटेको र बाँकी ८० प्रतिशत भारतीय उत्पादनले भरिएको छ ।
‘भारतमा प्रविधिको प्रयोग र सहुलियतपूर्ण ऋणका कारण उत्पादन सस्तो पर्छ, जसले प्रतिस्पर्धा गर्न गाह्रो हुन्छ’, रेग्मीले भने, ‘स्वदेशी किसानलाई सहुलियत दिनु वा आयातित कागतीमा कर लगाउन आवश्यक छ ।’
व्यास नगरपालिका–१ चारकुनेका राजेन्द्र श्रेष्ठका अनुसार सुरुवाती दिनमा ‘कोरियाको जागिर छाडेर गल्ती भयो’ भन्नेहरू अहिले रेग्मीको सफलताबाट प्रभावित भएका छन् । रेग्मीले भने, ‘गाउँमै बसेर कोरियाको आम्दानी गर्न सकिन्छ भन्ने प्रमाण यही खेती हो ।’










