सम्पादकीय – तीज पर्व : मौलिकता जोगाउँ

नेपाली नारीहरूले आज हरितालिका तीज पर्व उल्लासका साथ मनाउँदैछन्। धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यो पर्व नेपाली महिलाको जीवनमा गहिरो रूपमा जोडिएको छ। तीज भन्नासाथ चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने, उपवास बस्ने, रातो–हरियो–पहेंलो पहिरनमा सजिने र नाचगान गर्ने अवसरको स्मरण हुन्छ । तर, पछिल्ला वर्षमा तीजको स्वरूपमा देखिएको भड्किलोपन र मौलिकताको क्षय गम्भीर चिन्ताको विषय बन्न थालेको छ। तीज मूलतः नारीहरूको आत्मीयता, आस्थापूर्ण उपासना र सामाजिक सद्भाव बढाउने पर्व हो। धार्मिक विश्वासअनुसार हिमालयपुत्री पार्वतीले महादेवलाई वर पाउन १०८औं जन्ममा मात्र तपस्या पूरा गरेकी थिइन्। यही प्रसङ्गलाई आधार मानी विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वरको कामना गर्दै व्रत बस्ने परम्परा रहिआएको छ। भाद्रशुक्ल तृतीयाका दिन पर्ने यो पर्वको नाम संस्कृत शब्द त्रीज बाट आएको मानिन्छ। यसैले तीजलाई धार्मिक इतिहाससँगै नारी आस्थाको गहिरो अभिव्यक्ति मान्न सकिन्छ ।

नेपाल कृषिप्रधान मुलुक भएकाले तीजको समय कृषिजन्य चक्रसँग पनि जोडिन्छ। धान रोपाइँ सकिएको, खेतबारी केही खाली भएको र परिवारजनसँग भेटघाट गर्ने सहज अवसर यही बेलामा पाइन्छ । विवाहपश्चात टाढा पुगेकी छोरी–चेलीलाई माइतीमा बोलाउने, भेटघाट गर्ने र भावनात्मक सम्बन्ध अझ प्रगाढ बनाउने परम्पराले यो पर्वलाई सामाजिक दृष्टिले पनि महत्वपूर्ण बनाएको छ । पीर–दुःख, सासू–बुहारीबीचको कचकच वा समाजमा विद्यमान विभेदजस्ता कुरा पोख्ने अवसर पनि तीजले दिन्थ्यो। तीजका मौलिक गीतहरूले नारीहरूको अन्तरमनका कथा बोलेका हुन्थे । तर अहिलेको तीज विगतको भन्दा भिन्न र भड्किलो हुँदै गएको तथ्य नकार्न सकिँदैन । पहिले दूधजन्य परिकार खाने, व्रत बस्ने, माइत जाने चलन नै प्रमुख रहन्थ्यो। आज भने पार्टी प्यालेसमा भोजभतेर, माछामासु र मदिराजन्य परिकार, गरगहना र पहिरनमा प्रतिस्पर्धा जस्ता प्रचलन बढिरहेका छन्। कतिपय ठाउँमा तीज अब धार्मिक पर्वभन्दा बढी मनोरञ्जनको मेलामा परिणत भएको छ। रेडियो–टेलिभिजन र सामाजिक सञ्जालमा बज्ने तीज गीतहरू पनि मौलिक भावभन्दा टाढा, पश्चिमेली शैलीतर्फ झुक्दै गएका छन्। पीडा पोख्ने, असमानताविरुद्ध आवाज उठाउने र समाजलाई सचेत पार्ने तीज गीतहरूको ठाउँ अहिले भड्किला शब्द र दृश्य–श्रव्य प्रस्तुतिले लिन थालेको छ ।

सांस्कृतिक विविधताले भरिएको नेपालमा तीज केवल हिन्दू महिलाले मात्र नभई अन्य समुदायले पनि रमाइलोका रूपमा मनाउन थालेका छन्। यो सकारात्मक पक्ष हो। तर, यसैलाई आधार बनाएर मौलिकता हराउने अवस्थासम्म पुगे भने त्यो चिन्ताजनक हुन्छ । संस्कार र संस्कृतिमा समयसँगै परिवर्तन आउनु स्वाभाविक हो, तर त्यसको नाममा मूल मर्म नै बिर्सनु भने संस्कृतिको अस्तित्वमै प्रहार गर्नु हो । आज तीज महिलाको सामाजिक हैसियत र आत्मसम्मानसँग गासिएको पर्व बनेको छ। यो पर्वले महिलाबीच आपसी प्रेम र विश्वास बढाउने मात्र होइन, परिवार र समाजलाई पनि सुदृढ पार्ने क्षमता राख्छ । तर, भड्किलोपन र विकृतिले यसको मौलिक सौन्दर्य ओझेलमा पार्दै लगेको छ। तीजका नाममा हुने अत्यधिक खर्च, प्रतिस्पर्धात्मक देखासिकी, तामझाम र मूल अर्थबाट विचलनले दीर्घकालमा यस पर्वलाई नै कमजोर बनाइदिने खतरा बढेको छ ।

यस्तो अवस्थामा समाजका सचेत वर्ग, महिला अधिकारकर्मी, धार्मिक अगुवा र सांस्कृतिक अभियन्ताले अग्रसर भएर मौलिक तीजलाई जगेर्ना गर्नुपर्छ । नाचगान र उत्सवलाई निषेध गर्ने कुरा होइन, तर त्यसमा मौलिकता, संस्कार र आस्थाको गहिरो आधार भुल्न नहुने हो । शिक्षण संस्थाहरू, स्थानीय तह र सञ्चारमाध्यमहरूले पनि मौलिक संस्कृतिलाई बलियो बनाउन प्रचार–प्रसारमा जोड दिनुपर्छ । गीत–संगीतमा पनि भड्किलोपन भन्दा मौलिक धुन र सन्देशमूलक सामग्रीलाई प्राथमिकता दिन सकियो भने तीजको वास्तविक आत्मा जोगाउन सकिन्छ । नेपाली महिलाको जीवनसँग सदियौँदेखि जोडिएको तीज केवल धार्मिक पर्व मात्र होइन, सामाजिक, सांस्कृतिक र ऐतिहासिक निरन्तरता बोकेको हाम्रो साझा सम्पदा हो। यस पर्वलाई रमाइलो र रंगीन बनाउन कुनै आपत्ति छैन, तर मौलिकता गुम्ने गरी पश्चिमेली शैलीको अन्धानुकरण गर्नु घातक हुनेछ ।

तीजलाई वास्तविक अर्थमा मनाउनुपर्छ– भक्तिभाव, आत्मीयता र सामाजिक एकताको भावनासहित । तीजले दिने मूल सन्देश भनेको आस्था, प्रेम र संस्कृतिको निरन्तरता हो । यही मर्मलाई आत्मसात् गर्दै हामी सबैले यस पर्वलाई मौलिक स्वरूपमै जोगाउने दायित्व लिनुपर्छ । नेपाली महिलाको गौरव, नेपाली समाजको मौलिक पहिचान र हाम्रो सांस्कृतिक सम्पदाको रक्षा गर्ने माध्यमका रूपमा तीजलाई सशक्त बनाऔं । तीज पर्वको अवसरमा सबैमा शुभकामना ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker