जडीबुटीलगायतबाट पौने छ करोड आम्दानी

गण्डकी : जडीबुटीलगायत स्थानीय स्रोत साधनको उपयोगबाट अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आवमा रु पाँच करोड ७७ लाख आम्दानी गरेको छ । ‘एक्याप’मा रहेका ५७ संरक्षण क्षेत्र व्यवस्थापन समितिमार्फत उक्त रकम सङ्कलन भएको हो । जडीबुटी, काठदाउरा आदिको सङ्कलन तथा उपयोगबाट हुने आम्दानी स्थानीयस्तरमै संरक्षण गतिविधि र विकास निर्माणका काममा खर्च हुने गरेको आयोजना प्रमुख डा रविन कडरियाले बताउनुभयो ।

उहाँका अनुसार प्राकृतिक स्रोतको स्थानीय उपयोगबाट आव २०८०/८१ मा रु तीन करोड ९० लाख सङ्कलन भएको थियो । सोको तुलनामा पछिल्लो वर्ष झण्डै रु दुई करोडले आम्दानी बढेको उहाँले बताउनुभयो । “जडीबुटी, काठदाउरा, ढुङ्गा गिट्टीलगायतको उपयोगबापत संरक्षण क्षेत्र व्यवस्थापन समितिले सो रकम उठाउने गर्छन्”, आयोजना प्रमुख डा कडरियाले भन्नुभयो, “सङ्कलित रकमलाई व्यवस्थापन समितिले वार्षिक कार्यक्रम र योजना बनाएर खर्च गर्छन् ।”

अन्नपूर्ण संरक्षण क्षेत्रमा बहुमूल्य यार्सागुम्बालगायत जडीबुटीको सङ्कलन तथा निकासी हुँदै आएको छ । जडीबुटीबाट स्थानीयको आयआर्जनमा महत्त्वपूर्ण टेवा पुगेको छ । ‘एक्याप’ले प्राकृतिक स्रोतसाधनको उपयोग र संरक्षणसम्बन्धी सचेतना अभियान सञ्चालन गर्दै आएको आयोजना प्रमुख डा कडरियाले बताउनुभयो । पर्यटक प्रवेश शुल्कलगायतबाट हुने आम्दानीलाई संरक्षण गतिविधि र पर्यटन प्रवर्द्धनका कार्यक्रममा खर्च गर्ने गरिएको उहाँको भनाइ छ ।

‘एक्याप’ले पदमार्ग, फोहर व्यवस्थापन, साना सिँचाइ, खानेपानी आयोजना निर्माण, आयआर्जन, संरक्षण शिक्षालगायतका गतिविधि सञ्चालन गर्दै आएको छ । यस क्षेत्रको भ्रमणमा आउने विदेशी पर्यटकको प्रवेश शुल्कबाट मात्र वार्षिक करोडौँ रुपैयाँ राजस्व सङ्कलन हुने गरेको छ । ‘एक्याप’भित्र पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गर्ने पर्यटकले तिर्ने शुल्कबाट पनि राज्यकोषमा योगदान पुग्दै आएको छ ।

विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा प्रवेश गरेका पर्यटबाट गत आवमा रु ३० करोड १७ लाख ५२ हजार प्रवेश शुल्क उठेको थियो । सरकारले तिब्बतसँग नाका जोडिएका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । ती क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकले अनुमति लिनुपर्ने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अधिकांश पर्यटक पदयात्राका लागि जाने गरेका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker