विविध कार्यक्रम गरी तनहुँमा ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

तनहुँ : तनहुँका दशवटै पालिकामा विविध कार्यक्रम गरी ११५औं अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ तनहुँमा दिवस मनाइएको हो । सरकार र सरोकारवाला निकाय तथा विभिन्न महिला संगठनले यस दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाएका छन् ।
विश्वभरी विभिन्न क्षेत्रमा कार्यरत महिलाको आर्थिक, राजनीतिक र सामाजिक उपलब्धि स्मरण गर्दै महिलाको प्रविधिमा पहुँचको विस्तार गर्ने, महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ । यस्तै महिलालाई शिक्षित र आत्मनिर्भर बनाउने एवं उचित सम्मान गर्नेलगायतका उद्देश्य पनि यस दिवसको रहेको छ ।
नेपालको संविधानले कुनैपनि धर्म, संस्कृति, संस्कार, प्रथा, परम्परा, प्रचलन वा अन्य कुनै पनि आधारमा हुने सबै प्रकारका विभेद, शोषण र अन्यायको अन्त्य गरी सभ्य र समतामूलक समाजको निर्माण गर्ने नीति लिएको छ ।

यस्तै, महिलाको हक मौलिक हकको रूपमा स्थापित गरेको छ । समानुपातिक समाबेशी सिद्धान्तका आधारमा राज्यको राजनीतिक तथा प्रशासनिक जीवनमा अर्थपूर्ण रुपमा महिलाको सहभागिता बढदै गएको छ । हाल संघीय संसद्मा ३४ प्रतिशत, प्रदेशसभामा ३६ दशमलव पाँच र स्थानीय तहमा ४१ दशमलव एक प्रतिशत महिला जनप्रतिनिधि छन् । यसैगरी निजामती सेवामा अहिले करिव २८ प्रतिशत महिला कर्मचारीको उपस्थिती छ ।
समाजमा रहेका खराब अभ्यास एवं प्रथाको कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढ्ने यस्ता प्रथालाई अन्त्य गर्न सबैको सार्थक पहल जरुरी रहन्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, नीति निर्माण एवं निर्णय प्रक्रिया, राजनीतिजस्ता राज्यका हरेक क्षेत्रमा महिलाको पहुँच समानरूपमा सुनिश्चित गर्नका लागि अझै मेहनत आवश्यक छ ।
सन् १९७५ देखि संयुक्त राष्ट्र संघले नारी दिवस मनाउन थालेको हो । पहिलो नारी दिवसको नारा ‘विगतलाई उत्सवको रूपमा मनाउने र भविष्यको योजना बनाउने’ तय गरिएको थियो । सन् १९०८ को मार्च ८ मा अमेरिकामा १५ हजार बढी महिलालले दैनिक काम गर्ने समय घटाउनुपर्ने, राम्रो तलब पाउनुपर्ने र मतदानको अधिकार दिनुपर्ने माग राख्दै प्रदर्शन गरका थिए । सोही प्रदर्शनपछि संसारभर नै महिला अधिकारको बारेमा चर्चा हुने थालेको बताइन्छ । महिला हक र अधिकारको माग सारेर महिलालले नै संघर्ष शुरु गरेको दिनको स्मरणमा यो दिवस मनाइन्छ ।

यस्तै, यस दिवसका अवसरमा दमौलीमा आयोजित खुल्ला कविता प्रतियोगितामा ममता बिक प्रथम भएकी छन् । व्यास नगरपालिका, सामाजिक बिकास कार्यालय र महिला सशक्तिकरण सञ्चार समाज तनहुँको आयोजनामा भएको खुल्ला कविता प्रतियोगितामा सत्यवति माध्यमिक विद्यालयकी छात्रा विश्वकर्मा प्रथम भएकी हुन् ।
‘महिला र श्रम’ विषयमा आयोजित कविता प्रतियोगितामा व्यास–१० निवासी लक्ष्मी तिमल्सिना पौडेल द्वितीय र शुक्लागण्डकी–३ निवासी आशा पौडेल तृतीय भएका छन् । साथै प्रतियोगितामा व्यास–२ की राममाया श्रेष्ठ र शुक्लागण्डकी–५ खैरेनीटारकी लक्ष्मी भण्डारी कार्कीले सान्त्वना हुन सफल भएका छन् ।
प्रतियोगिताका विजेताहरुलाई क्रमशः १० हजार, ७ हजार, ५ हजार र २÷२ हजार रुपैयाँ नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुनेलाई व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपाने, सामाजिक बिकास कार्यालय प्रमुख बिदुरहरि आचार्य तथा उपप्रमुख इन्दिरा दरै लगायतले पुरस्कार वितरण गरेका थिए ।