सम्पादकीय : कुलुङकोट – माटोले बोकेको इतिहास र सम्भावना

तनहुँको पहाडी भूभाग, इतिहासका अनेक तह र सभ्यताको छेउमा बसेको एउटा मौन साक्षी हो– कुलुङकोट। व्यास नगरपालिकाको वडा नं. १४ भित्र पर्ने यो क्षेत्र केवल एउटा भू–भाग होइन, यो हाम्रो इतिहास, संस्कृति र सभ्यताको दस्तावेज हो। दुर्भाग्यवश, यस्ता ऐतिहासिक स्थलहरू राज्यको नीति र स्थानीय प्राथमिकतामा ओझेल परिरहेका छन्। कुलुङकोट पनि त्यही नियतिको शिकार बनेको छ– जहाँ इतिहासको सुगन्ध त पाइन्छ, तर संरक्षणको सुगन्ध हराएको छ। कुलुङकोट तनहुँ जिल्लाको ती ठाउँहरूमध्ये एक हो जसले बाइसी–चौबिसी राज्यकालदेखि नै ऐतिहासिक अध्याय बोकेको मानिन्छ। यहाँ भेटिने पुराना संरचना, धार्मिक परम्परा र स्थानीय लोकसंस्कृतिले यसको प्राचीनता पुष्टि गर्छ। पुरातत्वविद्हरूका दृष्टिले हेर्दा, यो क्षेत्र केवल भौतिक अवशेषको भण्डार मात्र होइन, नेपालको राज्य निर्माण र सांस्कृतिक विकासको मौन गवाही पनि हो। कुलुङकोटको नामाकरण र यसको ऐतिहासिक पृष्ठभूमिलाई हेर्दा यो सम्भवतः थुमथुमे राज्यको एक प्रशासनिक केन्द्र वा सैनिक चौकीको रूपमा अस्तित्वमा आएको हुनसक्छ ।
यहाँका भित्ताहरू, ढुंगाका पर्खाल र मन्दिरका भग्नावशेषहरूले विगतका युद्ध, शासन र धार्मिक क्रियाकलापका कथा बोकेका छन् । कालिकाको पूजा र दशैंको फूलपाती शोभायात्रा यहाँको मौलिक धार्मिक परम्परा हुन्, जसले केवल धार्मिक आस्था मात्र होइन, स्थानीय एकताको प्रतीक पनि जनाउँछन् । भाला, खड्ग, खुकुरीजस्ता प्राचीन युद्ध सामग्रीहरूको संरक्षण अझै पनि स्थानीयको गर्व र इतिहासको प्रमाण बनेको छ। तर, राज्यको ध्यानको कमीले यी सबै परम्पराहरू असुरक्षित र विस्मृतिको जोखिममा छन् । आजको कुलुङकोट प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र ऐतिहासिक गहिराइको संगम हो । यहाँबाट देखिने हिमाली दृश्य, हरियाली, र ग्रामीण जीवनशैली पर्यटकका लागि लोभलाग्दो छन्। तर, पर्यटकीय सम्भावना यति उच्च हुँदाहुँदै पनि यसको प्रचारप्रसार, पहुँच र संरचना विकासमा उदासीनता देखिनु विडम्बनापूर्ण छ। स्थानीयहरूले आ–आफ्नो स्तरमा परम्परा जोगाउने प्रयास गरिरहेका छन्, तर त्यो व्यवस्थित र दीगो स्वरूपमा रूपान्तरण गर्न स्थानीय सरकारको ठोस पहल आवश्यक छ ।
कुलुङकोटलाई पर्यटनका नक्सामा स्थापित गर्न तीन पक्षीय प्रयास अनिवार्य देखिन्छ– स्थानीय समुदायको प्रतिबद्धता, सरकारी योजनाको प्राथमिकता र सरोकारवालाको सहकार्य। सडक, खानेपानी, सूचना केन्द्र, शौचालय, तथा होमस्टे जस्ता आधारभूत पूर्वाधार विकास बिना पर्यटक बसाइ लम्ब्याउन सक्दैनन्। स्थानीय संस्कृति, परम्परा र ऐतिहासिक कथा–कहानीसँग जोडिएका थीमेटिक ट्रेल, सांस्कृतिक महोत्सव र गाइड प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्न सके यो क्षेत्र पर्यटकीय दृष्टिले फस्टाउन सक्छ। तर, प्रश्न उठ्छ– के हामी केवल इतिहास पढ्नेमा सीमित हुने कि इतिहास जोगाउने र जीवित राख्ने जिम्मेवारी पनि लिने ?
राज्यले हरेक जिल्लामा “ऐतिहासिक सम्पदा पहिचान कार्यक्रम” सञ्चालन गरेको भए कुलुङकोटजस्ता स्थलहरू केवल स्मृतिको हिस्सा नभई आर्थिक र सांस्कृतिक पुनर्जागरणको केन्द्र बन्न सक्थे। पर्यटन मन्त्रालय, गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाले संरक्षण–प्रवर्द्धनका नीति तथा बजेटलाई प्राथमिकतामा राखे मात्र यो सम्भव छ । कुलुङकोटको मूल्य केवल विगतसँग सम्बन्धित छैन, यो भविष्यका लागि पनि अत्यन्त महत्त्वपूर्ण छ । यहाँको सांस्कृतिक अध्ययन, लोककथा, पुरातत्वीय अनुसन्धान र शिक्षण केन्द्रको स्थापना मार्फत नयाँ पुस्ताले आफ्नो पहिचान बुझ्ने अवसर पाउँछन् । यो ठाउँलाई ‘लिभिङ म्युजियम’ (जीवित संग्रहालय)का रूपमा विकास गर्न सकिन्छ, जहाँ इतिहास केवल हेर्ने होइन, बाँच्ने र महसुस गर्ने विषय बनोस् । संरक्षणका नाममा कागजमा सीमित योजनाहरू होइन, स्थानीय कार्ययोजना, सामुदायिक कोष र दीगो पर्यटन मोडल आवश्यक छन् । स्थानीय युवाहरूलाई पर्यटन–मार्गदर्शक, हस्तकला उद्यमी र संस्कृतिका प्रचारकको रूपमा प्रशिक्षित गर्न सके यसले रोजगारी र पहिचान दुवै सुनिश्चित गर्न सक्छ ।
नेपालमा अहिले इतिहास र संस्कृति बिस्तारै व्यावसायिक पर्यटनसँग जोडिँदै गएको छ । लुम्बिनी, गोरखा दरबार र पाल्पाको तानसेन जस्तै तनहुँको कुलुङकोट पनि त्यस श्रेणीमा पर्न सक्ने क्षमता बोकेको छ। तर, यो सम्भावना कार्यान्वयनमा ल्याउन नीति र व्यवहारबीचको खाडल हटाउन आवश्यक छ । हामीले बिर्सिनु हुँदैन– इतिहास केवल पुस्तकमै सीमित हुँदा हराउँछ, तर माटोमा बाँचेका स्थलहरूले पुस्तालाई चिनाउँछन्। कुलुङकोट त्यही चिनारीको स्रोत हो। त्यसैले यसलाई जोगाउने जिम्मा केवल नगरपालिकाको होइन, सम्पूर्ण समाजको हो । हामी सबैले बुझ्नुपर्छ– कुलुङकोट केवल ढुंगामाटोको थुप्रो होइन, यो हाम्रो सांस्कृतिक आत्मा र ऐतिहासिक स्मृतिको प्रतीक हो । त्यसैले अब समय आएको छ– कुलुङकोटको पहिचान पुनर्जीवित गर्ने, यसको इतिहासलाई पुस्तक र पत्रिकामात्र होइन, व्यवहार र जीवनमा उतार्ने । कुलुङकोटको संरक्षण र प्रवर्द्धनमा हामी सबैको हात मिल्यो भने, यो केवल तनहुँकै होइन, सम्पूर्ण नेपालकै गौरव बन्न सक्छ ।










