म्याग्देको गाउँस्वाँरामा घुम्ति शिविर सम्पन्न
भञ्ज्याङ समाचारदाता/म्याग्दे

तनहुँको म्याग्दे गाउँपालिकाले गत असोज महिनादेखि एकीकृत घुम्ति शिविर सञ्चालन गरी सर्वसाधारणलाई सहज रुपमा घरदैलोमै सेवा प्रवाह गर्दै आएको छ । गाउँपालिकाले विहीबार वडा नं. ६ को गाउँस्वाँरा र अकलामा शिविर सम्पन्न गरेको छ ।
पालिकाको सबैभन्दा विकट क्षेत्रका रुपमा रहेको गाउँस्वाँरामा सेवा दिन पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष लगायत कर्मचारीहरु आवश्यक सामाग्री बोकेर पुगेका थिए । गाउँपालिकाले उक्त गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
मोटरमार्गको पहुँच नभएको तर जानै पर्ने भएपछि स्वास्थ्य समाग्री बोकेर जनताको सेवाका लागि गाउँस्वारामा पुगिएको पालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । ‘पालिकाको हरेक टोलमा मोटरमार्गको पहुँच नपुगेको गाउँस्वाँरा पनि हो’, अध्यक्ष श्रेष्ठले भने, ‘यसलाई कसरी सम्वोधन गर्ने भनेर पालिकाले सोचिरहेको छ । छिट्टै यहाँका बासिन्दालाई सहज रुपमा यातायातको सुविधा लिन पाउने गरी काम अगाडि बढाउँछौं ।’
गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य शिविरमा स्थानीयको उल्लेख्य सहभागिता रहेको थियो । शिविरमा विषेशगरि महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सरको परीक्षण, स्वास्थ्य सेवा लिनेको भीड लागेको थियो । पैदल हिडेर नै स्वास्थ्य समाग्री सहित पुगेको पालिका तथा स्वास्थ्यकर्मीको टोलीले घरआँगनमै आएर सहज रुपमा स्वास्थ्य उपचार सेवा दिंदा हामीलाई निकै खुसी लागेको स्थानीय अगुवा राममायले बताइन् ।
शिविरमा विरामीहरुको स्वास्थ्य परीक्षण, उपचार तथा औषधी वितरण गरिनुका साथै रगतमा ग्लुकोजको परीक्षण, खकार परीक्षणका लागि नमुना संकलन, औलोरोगको परीक्षण गरिएको थियो । यस्तै शिविरमा जन्म, मृत्यु, वसाइसराइ, एवं सम्वन्ध विच्छेदका दर्ताका सेवा पनि प्रवाह गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

शिविरमा महिलाहरुको पाठेघर परीक्षण र देखापरेका स्वास्थ्य समस्याको उपचार तथा व्यवस्थापन, परामर्श, परिवार नियोजन परामर्श सेवा, कोभिड-१९ विरुद्धको खोप, आयर्ुर्वेद सेवा, स्वास्थ्य विमा सेवा उपलब्ध गराइएको छ ।
व्यवसाय दर्ता, राजश्व संकलन, मालपोत तथा भुमिकर संकलन, ज्येष्ठ नागरिक एवं अपाङ्ग परिचयपत्र वितरणका साथै शिविरबाट विउविजन वितरण एवं कृषि अनुदान माग संकलन, पशु सेवा शाखा अन्तर्गत गोवर परीक्षण र नतिजाको आधारमा पशु पंक्षिलाई औषधी वितरण, बाख्रा, पाठा एवं वहर वन्ध्याकरण, विरामी पशुको उपचार व्यवस्थापन, उपभोक्तासँग योजना सम्झौता लगायतका सेवाहरु प्रदान गरिएको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।










